नागरिकता लिने बढे

Citizenship

चितवनमा गत आर्थिक वर्षमा नयाँ नागरिकता लिनेको सङ्ख्या बढेको छ । आव २०७७/०७८ मा १३ हजार १८ ले नयाँ नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार अघिल्लो आव २०७६/०७७ मा आठ हजार २७० ले नयाँ नागरिकता लिएका थिए ।

कार्यालयका सूचना अधिकारी खेमराज पौडेलका अनुसार कोरोना भाइरस सङ्क्रमणका कारण गरिएको बन्दाबन्दीको अवधि गत वर्षको तुलनामा यस वर्ष कम भएको हुँदा नागरिकता लिने व्यक्तिको सङ्ख्या बढेको हो । राष्ट्रिय परिचयपत्र बनाउनका लागि पनि नागरिकता अनिवार्य भएका कारण नागरिकता बनाउनेको सङ्ख्या बढेको उनले बताए।

गत वर्ष २० जनाले वैवाहिक अङ्गीकृत नागरिकता, तीन जनाले अङ्गीकृत नागरिकता, ४६३ ले नाबालक परिचयपत्रको आधारमा र १३ हजार ३०७ ले प्रतिलिपि नागरिकता लिएका छन् । अघिल्लो आवमा भने ३१ ले वैवाहिक अङ्गीकृत, दुई जनाले अङ्गीकृत, ७६७ नाबालक परिचयपत्रको आधारमा तथा छ हजार ६४५ ले प्रतिलिपि नागरिकता लिएको उहाँले जानकारी दिए ।

सोही अवधिमा जिल्लामा राष्ट्रिय परिचयपत्र वितरणका लागि नौ हजार १९४ को फारम दर्ता गरिएको छ । अघिल्लो आवमा १६ हजार ५१५ जनाले राष्ट्रिय परिचयपत्रका लागि फाराम भरेका थिए । अहिले राष्ट्रिय परिचयपत्र चार हजार जनाको बनेर आएको र २०० ले मात्रै लगेको पौडेलले जानकारी दिए ।

कार्यालयमा गत आव २०७७/०७८ मा नौ हजार ४९४ ले राहदानीका लागि सिफारिस लिएका छन् । वैदेशिक रोजगारी र अन्य प्रयोजनका लागि उनीहरुले राहदानीको सिफारिस लिएका हुन् । उनीहरुमध्ये आठ हजार ४७५ ले साधारण सिफारिस र एक हजार १९ जनाले द्रुत सेवाका लागि सिफारिस लिएका हुन ।

कार्यालयमा अघिल्लो आवमा राहदानीका लागि १२ हजार ४१९ ले सिफारिस लिएका थिए । तीमध्ये १० हजार ३६५ ले साधारण र दुई हजार ५४ जनाले दु्रत सेवा लिएको उनले बताए।

गोङ्गबुबाट पेस्तोलसहित तीन पक्राउ
नेपाल प्रहरीले काठमाडौँको गोङ्गबुबाट पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित वीरेन्द्र ऐश्वर्य मार्गको आरके रेष्टुराँबाट पेस्तोलसहित धादिङका २४ वर्षीय विकेश मगर भन्ने विपिन मगर, २५ वर्षीय मन्दिप थापा र १९ वर्षीय सुजन मगरलाई बुधबार साँझ पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले गोङ्गबु विजी मलअगाडि सडकमा जाँचका क्रममा स्कुटर छाडेर भागेपछि शाङ्का लागी पिछा गर्दा आरके रेष्टुराँमा लुकेर बसेका उनीहरूलाई पेस्तोलसहित पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ परेकासँग प्रहरीले एक थान पेस्तोल, एक थान म्यागजिन, पाँच राउण्ड गोली, दुई थान खुकुरी र गाँजा बरामद गरेको छ ।

पक्राउ परेकालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गरिरहेको प्रवक्ता बस्नेतले बताउनुभयो ।

हस्तान्तरण अन्योलले प्रदेशकै ठूलो आयुर्वेद चिकित्सालय सञ्चालनमा विलम्ब
कमल गाउँपालिका–७ मा प्रदेशकै ठूलो पूर्वाधारयुक्त पूर्वाञ्चल आयुर्वेदिक चिकित्सालयको भवन बने पनि हस्तान्तरणको अन्योलले सञ्चालनमा विलम्ब भएको छ । दुई बिघा एक धुर क्षेत्रफलमा फैलिएको चिकित्सालयको ५० शय्याको अस्पताल भवन सङ्घीय सरकारको सहयोगमा रु २० करोड ५१ लाखको लागतमा हालै सम्पन्न भएको छ । यसलाई आयुर्वेद शिक्षामा आधारित प्रदेशकै एकमात्र मेडिकल कलेजका रूपमा विकास गर्ने सङ्घीय सरकारको योजना छ ।

गत असार २५ गते निर्माण कम्पनीले चिकित्सालयको भवन सघन शहरी विकास तथा भवन निर्माण कार्यालय झापालाई जिम्मा लगाइसकेको छ तर सङ्घीय कि प्रदेश सरकारलाई भवन हस्तान्तरण गर्ने भनेर उपल्लो सरकारी तहबाट कुनै निधो नआउँदा सञ्चालनमा ढिलाइ भएको हो ।

विसं २०७५ भदौ ७ गते निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सालयको शिलान्यास गर्नुभएको थियो । भवन तीन तलाको बनेको छ ।

हालसम्म सङ्घीय सरकारले प्रदेशलाई भवन हस्तान्तरण गरिनसकेको हुँदा उद्घाटनमा विलम्ब भएको हो ।

“चिकित्सालयको भवन निर्माण भइसक्यो”, सघन शहरी विकास तथा भवन निर्माण कार्यालय झापाका इञ्जिनीयर भूपेन्द्रकुमार यादवले भन्नुभयो, “अस्पताल सङ्घीय सरकार वा प्रदेश सरकार कसलाई बुझाउने भन्नेबारे अन्योल छ । माथिल्लो तहमा कुरा भइरहेको छ, सायद छिट्टै समाधान होला ।”

प्रदेश नं १ को सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी सदानन्द भट्टराईले सो अस्पताल सङ्घीय सरकारबाट प्रदेश सरकारको मातहतमा ल्याउने तयारी भइरहेको बताउनुभयो । उहाँले प्रदेश मातहतमा अस्पताल आइसकेपछि सञ्चालनका लागि भनेर सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०७८÷०७९ मा रु एक करोड बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

“अस्पताल प्रदेशको मातहत नआइसकेकाले थोरै बजेट छुट्याइएको छ । प्रदेशलाई जिम्मेवारी आएसँगै जनशक्ति र पूर्वाधार थपेर चिकित्सालय सञ्चालन गरिनेछ”, उहाँले भन्नुभयो, “अर्को आवबाट कार्यालयले पर्याप्त बजेट छुट्याएर विशेष किसिमको सेवा शुरु गर्नेछ ।” कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले चिकित्सालयलाई प्रदेशस्तरीय आयूर्वेदिक अस्पतालका रूपमा सञ्चालनमा ल्याइने र आयुर्वेद चिकित्साशास्त्रको पढाइ हुने मेडिकल कलेज नै बनाउने योजना रहेको बताउनुभयो । आयुर्वेद मेडिकल कलेज बनाउने भनेरै अहिले भौतिक संरचना तयार पारिएको उहाँको भनाइ छ ।

“आम मानिसको आयुर्वेदिक उपचार पद्धतिप्रति विश्वास बढेको छ”, उहाँले भन्नुभयो, “तर जिल्लामा प्रायः कवि र वैद्यहरुबाट मात्र उपचार भइरहेको हुँदा विशेषज्ञ चिकित्सक उत्पादनका लागि मेडिकल कलेज आजको आवश्यकता हो ।” चिकित्सालयमा इमर्जेन्सी, ओपिडी, प्रसूति सेवा र आइसियु कक्षका लागि छुट्टाछुट्टै ब्लक बनाइएको छ भने योगाका लागि छुट्टै हलको व्यवस्था गरिएको छ । उहाँले आगामी भदौको पहिलो हप्ताबाट अस्पताल सञ्चालनमा ल्याउने तयारी भइरहेको उहाँले बताउनुभयो ।

सो भवनको निर्माणका लागि रविना खनाल जेभीले २०७५ साल असार ३१ गते ठेक्का पाएको थियो । दुई वर्षको अवधिमा निर्माण सक्ने सम्झौतामा उल्लेख भए पनि कोभिड–१९ को महामारीका कारण काम प्रभावित भएको भन्दै कम्पनीले थप नौ महिनामा भवनको निर्माण सम्पन्न गरेको थियो । -रासस/File photo

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..