प्रतिस्थापन विधेयक खारेज गर्न गुरुङको माग

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद परशुराम मेघी गुरुङले बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा कालो धनलाई सेतो बनाउने प्रावधान राखिएको दावी गर्दै तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन् ।

सोमबार राष्ट्रियसभाको बैठक अवरोध गर्नुअघि आफ्नो दलको तर्फबाट धारणा राख्नेक्रममा एमाले सांसद गुरुङले सो प्रतिस्थापन विधेयकको धारा ५९ मा चिकित्सक, कलाकार, पत्रकार, खेलाडी, इन्जिनियर, कानुन व्यवसायी लगायतले पछिल्लो ३ वर्षको आयकर आगामी फागुन मसान्तभित्र बुझाएमा सोभन्दा अगाडिको आयमा लाग्ने आयकर तथा मूल्य अभिवृद्धि कर मिनाहा हुने व्यवस्था गरिएको भन्दै आपत्ति जनाए ।

उनले प्रतिस्थापन विधेयकमा उल्लेखित सो प्रावधान संविधानको मर्म र भावना विपरित रहेको, संविधानले भूत प्रभावी कानुन बनाउन नपाउने व्यवस्था पनि गरेकाले मान्य नहुने चेतावनी दिए ।

सांसद गुरुङले अर्थमन्त्री जनार्दन शर्मालाई क्रान्तिकारी नेताको संज्ञा दिँदै त्यो कालो धनलाई सेतो धन पार्ने कुरा दिनदहाडै किन सो प्रतिस्थापन विधेयकमा राख्ने प्रयास गरेको भन्दै प्रश्न समेत गरे । उनले सो प्रावधान संविधान र प्रचलित कानुनअनुसार पनि बदरभागी हुने भएकाले तत्काल खारेज गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..