महाकालीमा बेपत्ता जयसिंह धामीको खोजी जारी छ : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलाको महाकाली नदीमा बेपत्ता भएका ३३ वर्षीय जयसिंह धामीको खोजी जारी रहेको जानकारी दिनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको विषयमा जानकारी दिँदै गृहमन्त्री खाँणले उक्त घटनाको अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय, दार्चुला मातहतका प्रहरीचौकी लालीदेखि दुम्लिङसम्म नौ वटा प्रहरी इकाइ तथा सशस्त्र प्रहरी बल, सीमा सुरक्षाका पाँच वटा बेसबाट खोजी भइरहेको बताउनुभयो ।

सो क्रममा सीमावर्ती जिल्ला बैतडी र कञ्चनपुर जिल्लासँग पनि स्थानीय तहबाट समन्वय गरिएको उहाँले बताउनुभयो । दार्चुलाको व्यास गाउँपालिका–२ खाङदाङ माल बस्ने धामी सोही गाउँपालिकाको वडा नं २ मूलघाटबाट भारतको गस्तु पुग्न महाकाली नदीको तुइन तर्ने क्रममा यही साउन १५ गते नदीमा खसरेर बेपत्ता हुनुभएको थियो ।

धामी बेपत्ता भएपछि नरेन्द्रसिंह धामीसमेत तीन जनाले जिल्ला प्रशासन कार्यालय दार्चुलामा निवेदन दिएका थिए । सोही दिन गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट उक्त घटनाको सम्बन्धमा वास्तविक छानबिन गर्न सशस्त्र प्रहरी बल नेपाल गण नं ४४ बाट सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्रबहादुर चन्द र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका विक्रम सिंह ढाटसहित तीन जनाको टोली स्थलगत छानबिनको लागि घटनास्थल खटिएको थियो ।

गृहमन्त्री खाँणले जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढस्थित जिल्लाधिकारीलाई उक्त घटनाबारे ध्यानाकर्षण गराउँदै पत्राचार गरेको जानकारी गराउनुभयो । उहाँले बेपत्ता जयसिंह धामीभन्दा अगाडि उक्त स्थानको तुइनबाट भारतर्फ पुगेका बहादुरसिंह धामी, अमरसिंह धामी, गौरसिंह धामी र मणिरामसिंह धामीसँग सोधपुछ भइरहेको बताउनुभयो ।

नदी तर्न बाँकी अनिता धामी, विक्रम रङकोली र कल्याण धामीसँग यसबारे जानकारी लिन जिल्ला सदरमुकाममा बोलाइएको, जिल्ला प्रशासन कार्यालय दार्चुलामा सर्वदलीय बैठक भएको, तथा भारततर्फका नेसनल डिजास्टर रेस्पोन्स फोर्स र एसएसबीबाट पनि खोजी भइरहेको गृहमन्त्री खाँणले बताउनुभयो ।

उक्त घटनाको छानबिन गरी सत्यतथ्य पत्ता लगाउने सम्बन्धमा साउन १७ गते गृहमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित छानबिन समिति घटनास्थल गइसकेको सदनलाई जानकारी दिनुभयो ।

समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, सशस्त्र प्रहरी बल नेपालका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा र जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट (जोशी) गरी पाँच जना रहनुभएको छ ।

नेपालबाट भारतीय सीमा प्रवेश गर्न अहिले पनि तुइनको प्रयोग भइरहेको तथा महाकाली नदीमा चार वटा झोलुङ्गे पुल निर्माणाधीन रहेका मन्त्री खाँणले जानकारी दिनुभयो ।

गृहमन्त्रीको वक्तव्यप्रति सांसदहरु खगराज अधिकारी, योगेश भट्टराई, गगनकुमार थापा, शेरबहादुर तामाङ, शान्ता चौधरी, विमला विक, गणेशसिंह ठगुन्ना, महेश बस्नेत, देवेन्द्रराज कँडेल, दीलेन्द्रप्रसाद बडू, पुष्पा भुषाल गौतम, डिला सङ्ग्रौला पन्त, पदम गिरी, राजेन्द्रकुमार केसी, यशोदा सुवेदी गुरुङ, प्रेम सुवाल र विशाल भट्टराईले प्रतिप्रश्न गर्नुभएको थियो ।

२८ वर्षदेखिको बक्यौता असुल गर्दै कामपा
काठमाडौँ महानगरपालिकाले २८ वर्षदेखि घरजगगा र सम्पत्ति कर नतिर्ने ठूला करदाताको नाम सार्वजनिक गरेसँगै सम्पर्कमा आउने क्रम बढेको छ ।

गत असार १६ गते कामपाले विगत २८ वर्षदेखि कर तिर्नका लागि आनाकानी गरेका २० ठूला करदाताको नाम सार्वजनिक गरेको थियो । अहिले सम्पर्कमा आउनेमध्ये केहीले पहिलो किस्तास्वरुप केही रकम बुझाएका छन्, केहीले विवरण पेश मात्र गरेका छन् । केहीले विवरण पेश गर्ने समय माग गरेका छन् । कतिपयलाई समय तोकी बोलाइएको छ भने कतिपयले अझै सम्पर्क गरेका छैनन् ।

सम्पर्कमा आएकामध्ये चारवटा व्यापारिक प्रतिष्ठानले पहिलो चरणमा आजसम्ममा रु एक करोड ५३ लाख राजश्व बुझाएका छन् । यसरी कर बुझाउनेमध्ये सबैभन्दा धेरै युनाइटेड विल्डर्स एण्ड इञ्जीनियरिङ (वल्र्ड टे«ड सेन्टर)ले रु एक करोड बुझाएको छ । यससँगै बिल्डर्सका प्रबन्ध निर्देशक सन्दीप हिराचनले आउँदो १९ दिनभित्र सम्पत्तिको मूल्याङ्कन गरेर तिर्नुपर्ने कर दाखिला गर्ने गरी राजश्व विभागमा निवेदन दिनुभएको छ ।

वडा १४ को नेशनल हस्पिटलले रु २४ लाख, वडा १४ कै शहीद मेमोरियल हस्पिटलले रु १९ लाख २० हजार दाखिला गरेका छन् । नाम सार्वजनिक भएपछि वडा ११ को एनआरटी क्लबले रु १० लाख दाखिला गरेर बाँकी रकम तिर्ने प्रतिबद्धता जनाएको छ ।

वडा नं ३० को स्टार मलले सम्पत्तिको विवरण पेश गरेको छ भने वडा नं १३ को काठमाडौँ इञ्जीनियरिङ कलेजले १० दिनभित्र विवरण पेश गर्ने समय माग गरेको छ । कामपाले पहिलो चरणमा गएको असार १६ गते सम्पत्ति कर नबुझाउने ठूला करदाताको नाम सार्वजनिक गरेको थियो । ३० दिनभित्र सम्पर्क गर्न आउन आग्रह गर्दै सूचना सार्वजनिक भएको अन्तिम सातासम्म पनि करदाताहरुले सम्पर्क नगरेपछि अन्तिममा करदाताको कार्यस्थलमा गएर ‘सम्पर्कमा नआए शिलबन्दी गर्ने’ सूचनासहित महानगरले माइकिङ गरेको थियो ।

कामपाको सक्रियतापछि लामो समयदेखि असुल हुन नसकेको रकम उठ्न थालेको छ भने केहीले विवरण बुझाएर रकम असुल गर्ने मिति तय गरेका कामपा राजश्व विभाग प्रमुख डा शिवराज अघिकारीले राससलाई जानकारी दिनुभयो ।

४० ठूला करदाताको नाम सार्वजनिक गरिँदै

कामपाले अबको दुई दिनभित्र लामो समयदेखि कर तिर्न बाँकी रहेका र सम्पर्कमा नआएका ४० ठूला करदाताको नाम सर्वजनिक गर्ने तयारी गरेको छ । “अझै पनि धेरै करदाताले आफ्नो विवरणसमेत दिन मानेका छैनन् । विवरण दिएपछि कानूनीरूपमा करको दायरामा आउन पर्छ भन्ने डरले ठूला करदाता सम्पर्कमा नै आउन मान्दैनन्”, प्रमुख डा अघिकारीले भन्नुभयो ।

समयमा नै कर तिरेन भने प्रत्येक वर्ष दश प्रतिशतका दरले जरिवानास्वरुप रकम वृद्धि हुँदै जान्छ तर कामपाले विगतको दुई वर्षमा भने कारोनाका कारण करदातामा समस्या परेको भन्दै जरिवाना करमा छुट दिएको छ । यसो हुँदा पनि करदाता सम्पर्कमा नआएपछि कामपाले ताकेता गर्न थालेको हो ।

धेरैले आफ्नो घरजग्गा र सम्पत्तिका बारेमा विवरणसमेत बुझाएका छैनन्, तर लामो समयदेखि कर तिर्न आलटाल गरिरहेका करदाताबाट विभागले रु ७० करोड असुल गर्ने तयारीस्वरुप अहिले अभियानको रुपमा नै कर सङ्कलन गरिरहेको छ ।

सम्पर्कमा आउनेहरुले विभागमा कर बुझाउन सही छाप गरेपछि मागअनुसार केही समय थपिदिएको छ । नआउनेहरुलाई विभागले कडाइका साथ कानूनी कारवाही अगाडि बढाउने तयारी गरेको छ । डा अधिकारी भन्नुहुन्छ, “सम्पर्क नगर्नेको घर, पसल र व्यवसायमा शिलबन्दी गर्ने तथा सरकारी बाँकी सरह राजश्व असुली गर्ने प्रक्रिया अगाडि बढाउँछौँ ।”

सम्पर्कमा आएकाबाहेक वडा १२ का बागमती च्याम्बर र बुद्धबारी कम्प्लेक्स, वडा नं १३ को नेपाल रेडक्रस सोसाइटीले अहिलेसम्म कहिल्यै सम्पत्ति तथा घरजग्गासम्बन्धी विवरण नै बुझाएका छैनन् । घरजग्गासम्बन्धी विवरण नबुझाउने अन्य ठूला करदातामा वडा नं १४ का आदर कम्प्लेक्स, कृषि सामग्री संस्थान र एलआरआइ स्कूल, वडा नं १५ को मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, वडा नं ३ का कान्तिपुर डेन्टल अस्पताल र चिरायु अस्पताल र वडा नं ४ का देवेन्द्र श्रेष्ठ छन् ।

यसैगरी वडा नं २२ को आरबी कम्प्लेक्स, वडा नं २४ को सुरज आर्केट, वडा नं २९ को शुभश्री कोअपरेटिभ लिमिटेड, वडा नं २८ को काठमाडौँ प्लाजा, नेपाल शेयर मार्केट र वडा नं ३० को गोपालजी प्रपर्टिज प्रालि छन् । कामपाले यस वर्ष रु १० अर्ब २३ करोड असुल गर्ने लक्ष्य लिएको छ । गत असोज १ गतेदेखि कामपाले अनलाइन प्राणलीमार्फत राजश्व सङ्कलन गरिरहेको छ । हाल कामपामा अनलाइन मा १६० करदाता जोडिएका कामपाले जानकारी दिएको छ ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..