मेलम्चीको भौगर्भिक अध्ययनका लागि टोली खटाइयो

मेलम्ची क्षेत्रको भौगर्भिक अध्ययनका लागि सरकारले टोली खटाउने भएको छ । पछिल्लो समय मुलुकभर परेको अविरल वर्षासँगै मेलम्ची क्षेत्रमा सुख्खा पहिरो जाने, लेदो बग्ने खतरा बढेपछि सरकारले उक्त क्षेत्रको भौगर्भिक अध्ययनका लागि टोली खटाएको हो ।

पहिलो चरणको प्रारम्भिक अध्ययन गरेर फर्केको उक्त टोली विस्तृत अध्ययनका लागि भोलि मेलम्ची जाने कार्यक्रम रहेको छ । खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेलले मेलम्ची क्षेत्रको भौगर्भिक अध्ययनका लागि सरकारले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट तीनजना तथा खानी तथा भूगर्भ विभागबाट दुईजनाको भूगर्भविद्को टोली खटाइएको जानकारी दिनुभयो ।

खानी तथा भूगर्भ विभागले सिनियर डिभिजनल जियोलोजिस्टको नेतृत्वमा टोली खटाएको महानिर्देशक घिमिरेले बताउनुभयो । उक्त टोलीले मेलम्ची क्षेत्रको भौगर्भिक अवस्थाको बारेमा विस्तृत अध्ययन तथा अनुसन्धान गर्नेछ ।असार १ गते परेको अविरल वर्षाका कारण मेलम्ची नदीमा आएको पानीले मेलम्ची बजारमा ठूलो जनधनको क्षति पुगेको थियो । साउन दोस्रो हप्तामासमेत मेलम्चीमा ठूलो बाढी आएको थियो ।

नमूना परीक्षण गराउने कम हुँदा सङ्क्रमण पनि घट्यो
सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको नमूना परीक्षण गराउनेक्रम घट्दै जाँदा यो रोगको सङ्क्रमण हुने दरसमेत कम देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक डा गुणराज अवस्थीले नमूना परीक्षण गराउने घट्दै जाँदा सङ्क्रमण हुने दर पनि घटेको देखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘प्रदेशमा हाल कोरोना सङ्क्रमणको अवस्था बढेको पनि छैन, घटेको पनि छैन । सङ्क्रमण थप फैलिने जोखिम यथावत् छ ।’’ प्रदेशमा पछिल्लो पन्ध्र दिनमा लक्षण देखिएका शङ्कास्पद नौ हजार ३४९जनाले मात्र नमूना परीक्षण गराएका छन् । यीमध्ये ६१७ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ ।

सो अवधिमा ४७६ सङ्क्रमित उपचार व्यवस्थापनपछि घर फर्किनुभएको छ । दुई जनाको मृत्यू भएको छ । सक्रिय सङ्क्रमित बिरामी घटेका छन् । पन्ध्र दिनअघि ५३६ सक्रिय सङ्क्रमित रहेकोमा आज ४३८ जना पुगेका छन् । गएको जेठ महीनासम्म उच्च रहेको कोरोना भाइरसको सङ्क्रमण र मृत्यु दर असार महीना शुरु भएसँगै घटेको देखिएको छ ।

कोरोना भाइरस फैलिएयता प्रदेशमा आजसम्म नमूना परीक्षण गरिएका जम्मा दुई लाख ८८ हजार ३३३ जनामध्ये ४५ हजार १३३ मा सङ्क्रमण देखिएको छ । नमूना परीक्षण गरिएको सङ्ख्या प्रदेशको कूल जनसङ्ख्याको झण्डै ११प्रतिशत हो । पिसिआर पद्धतिबाट गरिएको नमूना परीक्षणमा सङ्क्रमित हुनेमध्ये ३५ हजार ७८४जना उपचारपछि घर फर्किनुभएको छ । निको हुने यो दर झण्डै ७९ प्रतिशत हो । एन्टिजेन पद्धतिबाट सङ्क्रमण पत्ता लागेर उपचार व्यवस्थापनपछि घर फर्किएकाको विवरण भने निर्देशनालयसँग छैन ।

नमूना परीक्षण गराउने बढ्दा सङ्क्रमण पनि बढ्नसक्ने स्वास्थ्यकर्मीको भनाइ छ । ‘‘तेस्रो लहरको कारोना आएमा त्यसले बालबालिकालाई बढी असर पु¥याउने भन्ने छ’’, डा अवस्थीले भन्नुभयो,‘‘यसको पूर्व तयारीस्वरुप उपचार व्यवस्थापनका लागि चाहिने सबै सामग्री स्वास्थ्य संस्थामा जुटाउने काम भइरहेको छ ।’’

खोपको व्यवस्थापन

हाल कोरोना भाइरस विरुद्धको खोप दिने कार्य भइरहेको छ । तराईका खोप केन्द्रमा खोप लगाउन आउनेको थामि नसक्नु भीड देखिँदा स्वास्थ्यकर्मीलाई खोप लगाउन सकस भइरहेको छ । निर्देशनालयका अनुसार सुदूरपश्चिम प्रदेशमा साउन १८गते सम्म ‘कोभिसिल्ड’ खोप दुई लाख ४९ हजार मात्रा प्राप्त भएकोमा ३७ हजार ९०० जनाले दुवै मात्रा र एक लाख ६७ हजार २०० जनाले एक मात्रा खोप पाएका छन् ।

भेरोसिल खोप दुई लाख ८७ हजार २०० मात्रा प्राप्त भएकोमा ४० हजारले दुवै मात्रा र एक लाख ७२ हजार २०० जनाले एक मात्रा पाएका छन् । यो खोपको मौज्दात रहेकोले पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा लगाउने तयारी भइरहेको छ । कोभिसिल्ड र भेरोसिल खोप दुई मात्रा लगाउनुपर्छ । एक मात्रा लगाए पुग्ने जेन्सन खोप प्रदेशमा एक लाख ३६ हजार ८०० मात्रा आइपुगेको छ । कैलाली र कञ्चनपुर जिल्लामा जेन्सन खोप साउन १७ बाट शुरु भइसकेको छ ।

कोभिसिल्डको एक मात्रा लगाएका धेरै व्यक्तिले खोपको अभावका कारण दोस्रो मात्रा लगाउन पाएका छैनन् । पछिल्लो हप्तामा तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्डपालनामा सर्वसाधारणबाट भइरहेको लापरवाहीले कोरोना भाइरस सङ्क्रमण थप बढ्नसक्ने जोखिम देखिएको छ ।

कोरोना भाइरस रोकथामका लागि जारी गरिएको निषेधाज्ञा खुकुलो पारिएसँगै तोकिएको स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नहुँदा सङ्क्रमण बढ्ने जोखिम बढेको हो ।
खास गरी शहरी क्षेत्रमा बढ्ने गरेको मानिसको भीडभाडमा आपसमा भौतिक दूरी कायम नगर्ने र मास्क पनि प्रयोग नगर्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ ।

‘‘मालपोत र यातायात व्यवस्था कार्यालयमा दैनिक सेवाग्राहीको थामि नसक्नु भीड देखिन्छ’’, धनगढीका यज्ञराज भट्टले भन्नुभयो,‘‘जताततै बढेको भीडभाड र मास्क प्रयोग नगर्ने बानीले थप जोखिम निम्तिने खतरा छ ।’’ धेरै व्यक्तिले पछिल्ला दिनमा साबुन पानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने बानीसमेत छाड्न लागेको देखिएको उहाँले बताउनुभयो ।

जनस्वास्थ्यका मापदण्ड पालना गर्न, भीडभाड नगर्न र आपसमा सामाजिक दूरी कायम गर्न जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचनामार्फत् आग्रह गरिरहेको छ ।

म्याद सकिएका बस्तुमा नयाँ लेवल राखी बेच्ने प्रक्राउ
म्याद सकिएका कस्मेटिक तथा सवारीसाधन सफा गर्ने वस्तुमा नयाँ मिति राखेर बजारमा बिक्री गर्ने दुई जनालाई प्रक्राउ गरिएको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल प्रहरीको सहयोगमा अविनाश अग्रवाल र महावीर गुजार (भारतीय नागरिक) लाई प्रक्राउ गरेको हो । दुई जनाले म्याद सकिएका वस्तुमा नयाँ मिति राखेर बिक्री गर्दै आएको गुनासोका आधारमा विभागले प्रहरीको समन्वयमा आइतबार काठमाडौँ जिल्ला नागार्जुन नगरपालिका–१५ सानो भ¥याङस्थित रहेको समीट कमर्सियल प्रालिमा छापा मारेको थियो ।

कम्पनीले उत्पादन गर्ने म्याद समाप्त भएका कस्मेटिक तथा सवारी साधन सफा गर्न प्रयोग हुने वस्तुहरूमा नयाँ लेबल लगाई विक्री वितरण गरेको भेटिएपछि गोदाममा शिलबन्दी गरिएको विभागका प्रवक्ता शिवराज सेढाइँले जानकारी दिनुभयो । गोदाममा छापा मारेर सञ्चालकलाई नियन्त्रणमा लिएपछि थप अनुसन्धानको काम शुरु भएको छ । “हामीले थाहा पाएसम्म भारतलगायतका देशबाट उक्त वस्तुको आयात गरी खुद्रा तथा होलसेललाई बिक्री गर्ने गरेका रहेछन् । उनीहरुले कस्मेटिकका मात्र सयौँ प्रकार रहेको भनेका छन् । थप वस्तु तथा तीनका प्रकारको विषयमा अनुसन्धान शुरु भइसकेको छ”, उहाँले भन्नुभयो ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..