म्याग्दीमा दुई हजार एक सय घरमा खानेपानी

म्याग्दीमा पछिल्लो एक वर्षको अवधिमा दुई हजार १०० घरमा खानेपानी र १०७ हेक्टर जमिनमा सिँचाइ सुविधा बिस्तार भएको छ ।

खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७७÷७८ मा निर्माण गरेका आयोजनामार्फत खानेपानी र सिँचाइ सुविधा बिस्तार भएको हो । सिँचाइतर्फ १४ वटा प्रादेशिक र छ वटा सःसर्त अनुदानका, खानेपानीतर्फ २६ वटा प्रादेशिक र १५ वटा सःसर्त अनुदानका, चार वटा नदी नियन्त्रण तथा आपत्कालीन बाढीपहिरो पुनःस्थापना कार्यक्रम सञ्चालन गरेको थियो ।

कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनीयर कुमारबहादुर खड्काले निर्माण भएका १९ वटा खानेपानी आयोजनाबाट दुई हजार १०० घरमा निजी धारा जडान गरी खानेपानी वितरण गरिएको जानकारी दिनुभयो । छ वटा सिँचाइ आयोजनाबाट १०७ हेक्टरमा सिँचाइ सुविधा बिस्तार भएको उहाँले बताउनुभयो ।

मङ्गलाको कुहुँ खानेपानी आयोजनाबाट ११६ घरधुरी, पैँयुपाटामा ११८ घरधुरी, हिदी खानेपानी आयोजनाबाट ३५ घरधुरी, अन्नपूर्णको दोवा खानेपानी आयोजनाबाट २८० घरधुरी, रघुगङ्गाको बेगखोला खानेपानी आयोजनाबाट ४०० घरधुरी, बृहत् चिमखोला भगवती पिप्लेअन्तर्गत पिप्लेमा ६५ घरमा, महतारे कलेजावाङ खानेपानी आयोजनाबाट ५६ घरधुरी, मालिकाको देविस्थान खानेपानी आयोजनाबाट २२१ घरधुरी, मालिकाको सेतखोला बेलीबाट ८८ घरधुरी, बेनीको सिङ्गा खानेपानी आयोजनाबाट १८८, ज्यामरुककोट–अर्जम–रत्नेचौर खानेपानी आयोजनाबाट १३० घरधुरी र निलदह खानेपानी आयोजनाबाट ३१० घरधुरीलाई खानेपानी सुविधा पुगेको छ ।

यसैगरी बेनी नगरपालिका–४ मा निर्माण सम्पन्न भएको बालमखोला सिँचाइ आयोजनाबाट ३० हेक्टर र अन्नपूर्ण गाउँपालिकाको भुरुङ–तातोपानीमा निर्माण भएको जारखोला सिँचाइ आयोजनाबाट १० हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । ३० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने रघुगङ्गाको रुइसे सिँचाइ आयोजनाको ४७० मिटर नहर, ४०० मिटर पाइप जडान, सात वटा कलेक्सन च्याम्बर र एक वटा विपिटी निर्माण गरेर पानी चलाइएको छ । रघुगङ्गाको राखु–पिप्ले सिँचाइ आयोजनाबाट ३० हेक्टरमा, बेनी–५ को मूल गोठेला डिही चालिसे सिँचाइ आयोजनाबाट १८ हेक्टरमा, मङ्गलाको शेराफाँट सिँचाइ आयोजनाबाट ३८ हेक्टरमा सिँचाइ सुविधा पुगेको छ । गत वर्ष ठेक्का सम्झौता भएको अन्नपूर्ण गाउँपालिका–७ को औँला र रघुगङ्गाको दरमिजा सिँचाइ आयोजनाको मुहान, नहर र पाइपलाइनलगायत संरचना निर्माण भएको छ ।

मङ्गलाको भाइवाङ, भरजुला, झ्याप्रेखोला तल्लो भैटिनी, रणवाङ, घतानको ढाडी खेत थाकन मूलाबारी सिँचाइ आयोजनामा थप नहर र पाइपलाइन जडान गरेर पानी चलाइएको छ । मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ कार्यक्रम लागू भएको भगवतीको एक्लेखोरीया र नागनागेमा ९०÷९० हजार लिटर क्षमताको दुई वटा सिँचाइ पोखरी निर्माण भएको छ । ३० हजार ८५६ हेक्टर खेतीयोग्य जमिन भएको म्याग्दीमा खेतीका लागि प्रयोग भएको १९ हजार ४९८ हेक्टर क्षेत्रफल जमिनमध्ये पाँच हजार ९९८ हेक्टरमा सिँचाइ सुविधा छ । २७ हजार ७६२ कूल घरधुरी सङ्ख्यामध्ये ९० प्रतिशतभन्दा बढी घरमा आधारभूतस्तरको खानेपानीको सुविधा पुगेको छ । विद्युत सुविधा नपुगेका ठाउँमा विद्युतीकरणका लागि धौलागिरि गाउँपालिकालाई १२० वटा सौर्य ऊर्जा सेट उपलब्ध गराएको कार्यालयले काठेपोल विस्थापित गर्न २८३ थान फलामका पोल खरिद गरेर मालिका गाउँपालिकालाई १९३ र धौलागिरिलाई ९० थान उपलब्ध गराएको छ ।

म्याग्दी नदीको कटान नियन्त्रणका लागि मालिका र मङ्गला गाउँपालिकाको हाँडेभिर, बेनी नगरपालिकाको नयाँपुल र बगरफाँटलगायत तटीय क्षेत्रमा ग्यावीयन पर्खाल निर्माण भएको छ । प्राकृतिक चिकित्सालयका रुपमा रहेको बेनी नगरपालिका–४ सिङ्गा तातोपानी कुण्ड संरक्षणका लागि निर्माण भएको कम्पोजिट प्रविधिको पर्खाल प्रभावकारी बनेको तातोपानी कुण्ड व्यवस्थापन समितिका सहसचिव कुमार केसीले बताउनुभयो ।

भूकम्प प्रतिरोधात्मक भवन हस्तान्तरण
हेटाैँडाको औद्योगिक क्षेत्रमा भूकम्प प्रतिरोधात्मक भवन निर्माण गरिएको छ । रु १३ करोड २६ लाख ६० हजारको लागतमा उक्त भवन निर्माण गरिएको हो ।

पाँच तले भवन आज एक समारोहबीच खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडालाई हस्तान्तरण गरिएको छ । विसं २०७२ वैशाखमा गएको भूकम्पका कारण जीर्ण भएपनि नयाँ भवन निर्माण गरिएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको मकवानपुर जिल्ला आयोजना कार्यान्वयन इकाइले सो भवन निर्माण गरी आज हस्तान्तरण गरेको कार्यालयका प्रमुख इन्जिनियर तुलसीराम खर्वुजाले जानकारी दिनुभयो । भवन खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख सोमकान्त रिजाललाई हस्तान्तरण गरिएको हो ।

निमार्णको जिम्मा पाएको हनुमान कन्स्ट्रक्सन कम्पनीले तोकिएको समयभन्दा अगावै सो भवन निर्माण गरेको खर्वुजाले बताउनुभयो । सो भवनमा ५२ कोठा रहेका छन् ।

लमजुङमा ४९ घरेलु उद्योग खारेज
घरेलु तथा साना उद्योग कार्यालय लमजुङले विगत तीन आर्थिक वर्षमा ६७ वटा घरेलु उद्योग खारेज गरेको छ ।

दर्ता गरेर उद्योग सञ्चालन नगर्ने र लामो समयसम्म नवीकरण नगर्नेलगायतका घरेलु उद्योग खारेज गरेको कार्यालय प्रमुख तोपलाल भुसालले बताउनुभयो ।

उहाँका अनुसार सो अवधिमा वाणिज्यतर्फ १०९ वटा उद्योगको दर्ता खारेज भएको छ । खारेज भएकामध्ये घरेलु उद्योगतर्फ आव २०७७÷२०७८ मा ३२, आव २०७६÷२०७७ मा ११ र आव २०७५÷२०७६ मा छ वटा रहेको घरेलु तथा साना उद्योग कार्यालय लमजुङले जनाएको छ ।

त्यस्तै वाणिज्यतर्फ आव २०७७÷२०७८ मा ६१, आव २०७६÷२०७७ मा २५ र आव २०७५÷२०७६ मा २३ उद्योगको दर्ता खारेज भएको कार्यालय प्रमुख भुसालले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले पटकपटक दर्ता गर्न व्यवसायीलाई आग्रह गर्ने गर्छांै तर अटेर गरेर दर्ता नै नगरेका, कतिपयले अनुदानका लागि मात्र दर्ता गरेकाले व्यवसाय नै छोडेकाको दर्ता खारेज गरेका हौँ ।”

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..