लक्ष्मी भाटलाई जिउँदै जलाउन खोज्ने श्रीमान् पक्राउ

डोटीको आदर्श गाउँपालिका–४ रोडिङ्गे गाउँकी २८ वर्षीया लक्ष्मी भाटलाई जलाएर जिउँदै मार्न खोज्ने श्रीमान् सन्तोष भाटलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार श्रीमतीलाई प्रज्वलनशील पदार्थ छर्केर जिउँदै जलाएर मार्न खोज्ने श्रीमान भाटलाई कञ्चनपुुरको त्रिनगर भन्सार नाकाबाट सोमबार राति पक्राउ गरिएको हो ।

पक्राउ परेका भाटलाई आज जिल्ला अदालत डोटीबाट छ दिनको हिरासतमा राख्ने अनुमति लिई थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

लक्ष्मीका श्रीमान भाटले गत जेठ १२ गते आफ्नै घरमा सुतिरहेको बेला प्रज्वलनशील पदार्थ छर्केर आगो लगाउँदा उनीसहित नावालक छोरी जलेर गम्भीर घाइते भएकी थिइन् ।

छोरी र श्रीमती घाइते भएलगत्तै फरार भएका भाटलाई कैलाली र जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताउनुभयो ।

फरार रहेका भाटले प्रयोग गर्ने टेलिफोनको कल डिटेलका आधार र मोबाइल ट्रयाकिङ्बाट उनलाई पक्राउ गर्न सहज भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक योगेन्द्र थापाले बताउनुभयो ।

घाइते लक्ष्मीलाई तत्कालीन वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेको पहलमा गएको गत जेठ १७ गते हेलिकप्टरबाट काठमाडौ ल्याइ कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।

अहिले लक्ष्मीको स्वास्थ्य अवस्थामा निकै सुधार आएको उपचारमा सम्लग्न अस्पतालका चिकित्सकद्धय डा सुरेन्द्र बस्नेत र डा प्रकृति ज्ञवालीले जानकारी दिनुभयो ।

कसरी भयो घटना

लक्ष्मी गाउँ नजिकै सानो चिया तथा खुद्रा पसल सञ्चालन गर्दै आएकी थिइन्। तीन छोरीकी आमा उनी श्रीमानले अर्को बिहे गरेपछि त्यहीँ पसलबाट गुजारा चलाउँदै आएकी थिइन्। फागुन यता श्रीमानसँग बोलचाल समेत बन्द भएको र श्रीमान कान्छी श्रीमतीसँग बस्दै आएको लक्ष्मीले बताइन्।

लक्ष्मी गत बुधबार पसल बन्द गरेर तीन वर्षीय छोरीसँगै पसलमै सुतेकी थिइन्। दुई छोरी घरमा बाजे बजैसँग थिइन्। ‘मध्यराती १२ः३० बजेको समयमा सुतिरहेकै अवस्थामा पसलको सानो झ्यालबाट कसैले प्रज्वलनशील पदार्थ भित्र फ्याक्यो। प्रज्वलनशील पदार्थ भित्र फ्याकिसकेपछि कोठामा गन्ध आयो’ लक्ष्मीले भनिन्, ‘एकछिन् यता उता हेरेँ केही देखिएन फेरि सुतेँ। एकछिन पछि पसलको झ्याल जस्तै सानो प्वालबाट जर्किन सहित कोही प्रज्वलनशील पदार्थ फ्याकी रहेको चाल पाएँ।’

पसलको सानो प्वालबाट ती व्यक्तिले कोठा भित्र जर्किनसहित प्रज्वलनशील पदार्थ भित्र फ्याकीरहे लक्ष्मीले सोही प्वालबाट जर्किन बाहिर धकेल्ने कोसिस गरिरहिन्। एक छिन् पछि सलाइको काँटी जस्तै आगो वेडको छेउम झर्छ, उनले त्यसलाई निभाइन् र छोरी समातेर बाहीर भाग्ने कोशिस गरिन्। तर ढोका बाहिरबाट लगाइएको थियो। उनी कराउन थालिन् त्यही बेला पुनः सोही प्वालबाट आगो आयो एक्कासी उनको शरीरमा र कोठाभरी लाग्यो।

आगो लागेपछि जोर–जोरले गुहार मागेपछि गाउँलेहरु आएपछि उनी बाहिर निस्किन सफल भइन्। उनकी तीन वर्षीया छोरीको ढाडमा आगोले पोल्यो लक्ष्मीको पुरै शरीर क्षत विक्षत भएको छ। बिहिबार दिउँसो मात्रै उनलाई अस्पताल ल्याइएको थियो।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..