हाम्राे पुरानै अडान यथावत छ : नेता नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी एकताका लागि आफुहरु पुरानै अडानमा यथावत रहेको बताएका छन् ।

पछिल्लो समय पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग सघन छलफलमा रहेका नेता नेपालले आफ्ना अडानमा ओली सहमत भएपनि पार्टीको मोडालिटीबारे भने टुंगो लागिनसकेको बताएका हुन् ।

उनले २०७५ जेठ २ गतेकै अवस्थामा पार्टीलाई पुराउने र गत फागुन २८ को निर्णय फिर्ता गर्नुपर्ने आफुहरुको मागमा अध्यक्ष ओली सहमत भएको पनि जानकारी दिए ।

उनले भने “ फागुन २८ गतेको निर्णय फिर्ता लिने र जेठ २ गतेको अवस्था पुराउने हाम्रो बटम लाईन थियो । त्यसमा हाम्रो पार्टी अध्यक्ष एवं केपी शर्मा ओली सहमत हुनुभएको छ । पार्टी मोडालिटीको बारेमा छलफल गर्ने भन्नुभएको छ । त्यसमा पनि केही स्पष्टताहरुको आवश्यकता पर्ला । छलफल गरेर टुंग्याउने छौ ।”

अध्यक्ष ओलीले मनोमानी ढंगले पार्टी चलाएको, संविधान विपरित प्रतिनिधिसभा विघटन गरेर प्रतिगामी कदम चालेको भन्दै खरो विरोधमा उत्रिएका नेता नेपाल समुहले ओली सरकारको विरुद्ध बन्न लागेको संयुक्त सरकार गठन प्रक्रियालाई सघाइरहेको थियो ।

नेता नेपाल खनाल समुहका सांसदहरु प्रधानमन्त्रीले विश्वासको मत लिने बैशाख २७ गतेको दिन प्रतिनिधिसभाको बैठकमा पनि अनुपस्थित भएको थियो ।

यस्तै नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी ओलीसँग आफूहरूको अडान यथावत् रहेको बताएका छन् ।शुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरमा कोभिड– १९ विरुद्धको खोप लगाएर बाहिरिँदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले बिहीबार अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग भएको वार्तामा केही सकारात्मक कुरा भए पनि त्यसले आकार नलिइसकेको प्रतिक्रिया दिए ।

उनले भने, ‘हाम्रो देशको राजनीतिको जुन अवस्था छ, राजनीतिले दिशा परिर्वतन गरिसकेको अवस्था छैन । यद्यपि त्यसलाई राजनीतिक दलहरूको दृष्टिकोणबाट, आफ्ना आन्तरिक व्यवस्थापनको दृष्टिकोणबाट अलिकति स्थितिमा फेरबदल भएको मान्छेलाई लाग्न सक्छ, तर त्यसमा मूलभूत फेरबदल भएर साँच्चिकै कोरोनाको महामारी छ, अरू जनताका समस्याहरू छन्, राजनीति त्यतातिर केन्द्रित भएर नेपालको संविधानले परिकल्पना गरेकोसरह, हामी जनताले परिकल्पना गरेको कुरा, त्यतातर्फ कसरी जाने भन्नेमा अझै मिहिनेत गर्नुपर्ने देखिन्छ ।’

BK
http://kantipath.com

यो छुट्टाउनु भो कि..