३३ किलो सुन तस्करी : ५६ जनाले पाए सफाइ

३३ किलो सुन तस्करी प्रकरणमा ५६ जनाले सफाइ पाएका छन्। मोरङ जिल्ला अदालतका न्यायाधीश भरत लम्सालको इजसलासले प्रमाणको अभावमा भन्दै उनीहरुलाई सफाइ दिएको हो ।

सुन तस्कारी प्रकरणमा ७७ जनालाई प्रतिवादी बनाइएको थियो । जसमध्ये २१ जना भने फरार छन्। उनीहरुको मुद्दालाई भने मुलतवीमा राखिएको छ।

त्यस्तै ३३ किलो सुन प्रकरणमा भरिया रहेका सनम शाक्यको हत्यामा ८ जनालाई दोषी ठहर गर्दै अदालतले ६ जनालाई जन्म कैदको सजाय सुनाएको छ ।

तस्करी गरिएको भनिएको परिणामअनुसारको सुन फेला नपरेको साथै मागदावी नपुगेको भन्दै सुन प्रकरणमा भने सफाइ दिइएको हो ।

जन्म कैद सजाय पाउनेहरुमा गोरे भनिने चुडामणि उप्रेती, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारी छन् । त्यस्तै राजन कुमारलाई ३ वर्ष र मदन घिमिरेलाई ६ महिना कैदको सजाय तोकिएको छ।

२०७४ साल माघमा दुबईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल भित्रिएको साढे ३३ किलो तस्करीको सुन हराएको थियो ।

घटनाको अनुसन्धान गर्न गृहमन्त्रालयले सहसचिव इश्वर पौडेलको नेतृत्वको छानबिन समिति बनाएर यसको अध्ययन गरेको थियो । जसका आधारमा सुन तस्करीको अभियोगमा ७७ जना बिरुद्ध मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।

मुद्दामा नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालीन प्रमुख एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेलमाथि पनि अभियोग लगाइएको थियो ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..