एमिकस क्युरी कार्कीको निष्कर्ष : संसद विघटनमा ओलीको दुषित मनसाय

badri bahadur karki kWJvrB6fuE

badri bahadur karki kWJvrB6fuE

वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटन गलत रहेको बताएका छन्। उनले प्रधानमन्त्री ओलीले जुन नियत र जुन तरिकाले प्रतिनिधि सभा विघटन गरे त्यो गलत रहेको बताएका छन्। प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमाथि जारी सुनुवाइमा एमीकस क्युरीको रुपमा सर्वोच्च अदालतमा आफ्ना राय दिने क्रममा कार्कीले सो भनाइ राखेका हुन्।

सो मुद्दामाथि जारी सुनुवाइमा पक्ष र विपक्षका तर्फबाट बहस सकिएपछि आज मंगलबारदेखि एमिकस क्युरीका तर्फबाट राय लिन सुरु गरिएको हो। अब एमिकसका अन्य चारजनाले आफ्नो राय दिने छन्। ‘संसदीय व्यवस्थामा विघटनको अधिकार हुन्छ, तर प्रधानमन्त्री ओलीले जुन नियत र तरिकाले विघटन गर्नुभयो त्यो गलत छ,’ कार्कीले भने, ‘ओलीले बदनियतपूर्ण ढंगले विघटन गरेको हुँदा यो गलत छ।’

ओलीले पार्टीको आन्तरिक विवादलाई कारण देखाएर विघटन गरेको तर संसदप्रति उत्तरदायी हुने प्रधानमन्त्रीले विघटन गर्नुअघि संसदमा सो विषय फेस नगरेको बताए। ‘प्रधानमन्त्री मुख्यतः संसदप्रति उत्तरदायी हुन्छ, तर उहाँले संसदलाई फेस नगरी विघटन नै गरिदिनुभयो,’ कार्कीले भने, ‘विघटन गर्नुअघि अर्को सरकार बनाउने कसरत पनि गरिएन।’

उनले प्रधानमन्त्रीले आफूलाई आफ्नै पार्टीबाट असहयोग भएका कारण संसद विघटन गर्नु परेको तर्क गरेपनि त्यस्तो असहयोग गरेको ठोस आधार नदेखिएको बताए। कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्न नसक्ने रायसहितको निष्कर्ष सुनाएका छन् । उनले संसद र सरकार असफल भएको अवस्थामा मात्रै विघटन गर्न सकिने भन्दै प्रधानमन्त्री ओलीले गरेको विघटन मालाफाइड इन्टेन्सन (दुषित मनसाय) का साथ गरिएको बताए ।

उनले निर्वाचनमार्फत जनताबाट चुनिएका प्रतिनिधिबाट संसद बनेको र त्यही संसदले प्रधानमन्त्री बनाएको भन्दै प्रधानमन्त्री संसदप्रति जबाफदेही बन्नुपर्ने बताए । ‘अदालतले चिन्ने भनेको उहाँ संसदप्रति जवाफदेही हुनुपर्छ भन्ने हो’, उनको भनाइ छ । तर, प्रधानमन्त्रीले पार्टीको झगडा ल्याएर संसद विघटन गरेको देखिने उनले जिकिर गरे । उनले पार्टीको विवादका कारण संसद विघटन गरिएको र यसैकारण प्रधानमन्त्रीले गैरसंवैधानिक कार्य गरेको देखिएको पनि बताए ।

Kantipath Media

यो छुट्टाउनु भो कि..