ओलीको प्रतिगामी कदमको सडकबाटै प्रतिवाद हुन्छ : अनिल शर्मा

anil sharma news

anil sharma news

प्रतिनिधिसभा विघटनको असंबैधानिक कदमका विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले चरणवद्ध आन्दोलन गरिरहेको छ । चौथो चरणको आन्दोलन स्वरुप काठमाडौँ क्षेत्र नं १ ले वडा स्तरिय विरोध सभा सम्पन्न गरेको छ । नेकपाको केन्द्रिय सर्कुलर बमोजिम विरोध सभा गरिएको हो । विरोधसभामा काठमाडौँ क्षेत्र नं १ का इन्चार्ज समेत रहेका नेकपाका नेता अनिल शर्मा लगायतले सम्बोधन गरेका थिए ।

सभालाई सम्बोधन गर्दै शर्माले प्रधानमन्त्री ओलीद्वारा चालिएको प्रतिगामी कदमको डटेर सामना गर्नु बाहेक कुनै विकल्प नरहेको बताएका थिए । शर्माले कांग्रेस बत्ति बालेर खोज्नुपर्ने अवस्थामा पुगेको बताए । एउटा नियुक्तिका लागि शेरबहादुर देउवाले ओलीले चालेको यति ठुलो असंवैधानिक कदमको विरोध गर्न नसकेको समेत बताए । देउबाको सिफारिसमा जयबहादुर चन्द अख्तियारको आयुक्तमा नियुक्त भएका छन् । केहि दिन पहिले देउबाले आन्दोलन गर्न कांग्रेससँग पैसा नभएको बताएका थिए भने देउवा निर्वाचनको पक्षमा आफ्नो मत दिंदै आएका छन् ।

ओलीले एकपछि अर्को काण्ड गर्दै जनताका मौलिक अधिकार कुण्ठित गर्दै लागेको बताएका छन् । उनले यति, ओम्नी काण्ड र ७० करोड जस्ता काण्ड बचाउनकै लागि ओलीले अनेक तिकडम गरेको आरोप समेत लगाएका छन् ।शर्माले एमसीसी र यति काण्डमा पनि ओली जोडिएको भन्दै यसको हिसाव किताव खोजिने बताए । उनले कालापानी समेटेर छापिएको नक्सा पनि शामन्त गोयलको निर्देशनमा ओलीले कितावमा छाप्न नदिएको बताए । ओलीले गुठी प्रकरण ल्याएर काठमाडौंका जनतालाई दु:ख दिन खोजेको समेत शर्माले आरोप लगाए ।

जनताको बलिदानीबाट प्राप्त उपलब्धिमाथि प्रधानमन्त्री ओलीले धावा बोलेकाले विरोधमा उत्रनुपरेको बताए । ओलीले झापाको एउटा क्षेत्रबाट चुनाव जितेर सांसद बनेको र पार्टीले उनलाई प्रधानमन्त्रीमा जिताएको बताउँदै शर्माले ओलीलाई जनताको हक अधिकार र व्यवस्थामाथि आक्रमण गर्ने छुट नभएको बताए ।

उनले पार्टीको नीति र अनुशासनभन्दा बाहिर गएर ओलीले गरेका कुकर्महरूलाई जनताले निस्तेज गर्ने समेत बताए । जहानियाँ शासन फालेका जनताले ओली जस्ता तानाशाहलाई टिक्न नदिने समेत उनले बताए । व्यवस्थामै धावा बोलेर तानाशाह बन्ने दिवास्वप्न नदेख्न पनि शर्माले सुझाए । हजारौ जनताको बलिदानीबाट आएको उपलब्धिलाई कुल्चन खोजे ओलीको हिसाबकिताब सडकबाट हुने उनले बताए ।

उनले ओलीको मनमा दुरासय भएको भन्दै गलत नियतले संसद विघटन गरेको बताए । शर्माले आफ्ना मान्छे पोस्नकै लागि ओलीले पशुपतिमा अरबौँको सुनको जलप लगाउने कार्य सुरू गरेको बताए । उनले ‘बा’ भन्दै गुणगान गाउने छोराहरूलाई पोस्नकै लागि यसरी राज्यकोष दोहन गरेको आरोप लगाए ।

संसद विघटन विरुद्ध यस्ता छन् चौथो चरणका संघर्षका कार्यक्रमहरुः
(१) २०७७ फागुन ५ गते देखि १२ गते सम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लाहरूमा जिल्ला स्तरीय विरोध प्रदर्शन, सभा लगायतको विरोध कार्यक्रम।
(२) २०७७ फागुन ६ गते प्रतिगमन, महँगी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लो विरोध कार्यक्रम । समय अपरान्ह ४ देखि ५ बजेसम्म ।
(३) २०७७ फागुन ७ गते देशव्यापी रुपमा सबै पालिकाका वडाहरूमा वडा स्तरीय विरोध कार्यक्रम।
(४) २०७७ फागुन ७ गतेदेखि १५ गतेसम्म प्रतिगमनविरुद्ध संविधान र लोकतन्त्रको पक्षमा सार्वजनिक स्थलमा हस्ताक्षर संकलन कार्यक्रम।
(५) २०७७ फागुन ८ गते काठमाडौंमा प्रतिगमन विरुद्ध वृहत् अन्तरक्रिया कार्यक्रम ।
(६) २०७७ फागुन ९ गते प्रतिगमन र महिला हिंसा, हत्या एवम् बलात्कारका विरुद्ध देशव्यापी महिलाहरूको विरोध कार्यक्रम।
(७) २०७७ फागुन १० गते काठमाडौं उपत्यका र जिल्लाहरूमा दलित मोर्चाको तर्फबाट विरोध कार्यक्रम।
(८) २०७७ फागुन ११ गते मधेशी, आदिबासी जनजाति, महिला, मुस्लिम, थारु, पिछडिएको क्षेत्र लगायतका उत्पीडित समुदायको साँस्कृतिक पहिचानसहितको संयुक्त विरोध कार्यक्रम ।
(९) २०७७ फागुन १२ गते चितवन, फागुन २१ गते दाङ र जनकपुर, नेपालगञ्ज, लगायतका शहरहरूमा विरोध प्रदर्शन र सभा।
(१०) संघीय राजधानी र प्रदेशका राजधानीहरूमा सम्बन्धित पार्टी कमिटी र जनवर्गीय एवम् मोर्चा संगठनको तर्फबाट संघर्षका सिर्जनात्मक कार्यक्रमहरूको निरन्तरता।
(११) २०७७ फागुन १४ गते काठमाडौंमा युवा ¥याली।
(१२) २०७७ फागुन १५ गते किसान र सुकुम्बासी मोर्चाको काठमाडौंमा विरोध कार्यक्रम।

Kantipath Media

यो छुट्टाउनु भो कि..