कोरोना रोकथाम तथा न्यूनीकरणका लागि क्रान्तिकारीको १३ बुंदे ध्यानाकर्षण

नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) ले कोरोना संक्रमित विरामीहरु अस्पतालमा वेड नपाएर उपचारबाट वञ्चित भएका र अक्सिजनको अभावका कारण वेड पाएर पनि उपचार गर्न नसकिने अवस्था सृजना भएको हुँदा जनताको जिवन रक्षा गर्नका निम्ति सरकारको ध्यानाकर्षण गराएको छ । क्रान्तिकारीका केन्द्रिय सचिव तथा प्रदेश नं १ का संयोजक मदन भट्टराईले आज एक बिज्ञप्ति जारि गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

प्रदेश समितिले कोरोना भाइरसको दोस्रो लहरको महामारीले सिंगो देशको अवस्था अक्रान्त र भयावह भएको भन्दै भाइरसका कारण निधन भएका व्यक्तिहरु प्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेको छ । साथै संक्रमितहरुको स्वास्थ्य लाभको कामना गर्दै सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गरिएको छ ।

संगठनले जनताको जीवन रक्षालाई वेवास्ता गरेर सत्ताको स्वार्थमा केन्द्रित हुने सरकारको रबैयाप्रति खेद प्रकट गर्दै संगठनले माहामारीका बिरुद्ध लड्नको लागि सरोकारवालाहरुलाई बुंदागत ध्यानाकर्षण गराएको छ ।

संगठनका ध्यानाकर्षणका विषयहरु :
१. सरकारी र नीजि अस्पतालसँग भएको उपचार क्षमताको आँकलन गरी ८०% कोभिड उपचारको निम्ति छुट्याउने ।
२. अक्सिजन वितरण र खपतमा एकरुपता कायम गरी आवश्यकताका आधारमा १४ जिल्लामै वितरण गर्ने व्यवस्था मिलाउने ।
३. चिकित्सक तथा स्वास्थ्यकर्मीको अवस्था आङकलन गरी आवश्यकता अनुसार तत्काल जनशक्ति थप गर्ने ।
४. सामुदायिक भवन, पार्टी कार्यालयहरु, शैक्षिक संस्था र संघ संस्थाका भवनहरुलाई कोभिड अस्थायी अस्पताल बनाउने ।
५. निषेधाज्ञाका कारण रोजी रोटी गुमाउन पुगेका विपन्न÷मजदुरहरुलाई विशेष राहतको व्यवस्था मिलाउने ।
६. घर बाहिर रहेका मजदुर तथा विद्यार्थीहरुलाई उचित राहतको व्यवस्था गर्ने र घर जान चाहेमा स्वास्थ्य परिक्षण गराई सुरक्षित रुपमा घर जाने ब्यबस्था मिलाउने ।
७. सरकारी कोभिड अस्पतालहरुलाई तत्काल स्तर उन्नति गरी थप वेड, आइ.सि.यू र भेन्टिलेटरको व्यवस्था गर्ने र प्रदेशभित्रका ठुला मेडिकल कलेजहरु वि.पि कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरान, वि एण्ड सी टिचिङ्ग हस्पिटल बिर्तामोड, विराट मेडिकल कलेज बिराटनगर तथा नोवेल मेडिकल कलेज बिराटनगर जस्ता ठूला अस्पतालहरुलाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने ।
८. प्रसुती लगायत अन्य किसिमका विरामीहरुलाई अन्य अस्पतालहरुमा सहज रुपमा उपचारको व्यवस्था मिलाउने ।
९. निजि एम्वुलेन्सहरुको नियमन र निगरानी गरी ५०% सरकारी गाडीहरुलाई कोरोना एम्बुलन्सको रुपमा प्रयोग गर्ने व्यवस्था मिलाउने ।
१०. होम आइसुलेसनमा रहेका संक्रमितहरुको स्थानीय सरकारबाट दैनिक स्वास्थ्य परिक्षण गर्ने व्यवस्था मिलाउने ।
११. कृतिम अभाव सृजना गर्ने र चर्को शुल्क असुल्नेलाई तत्काल कार्वाही गर्ने ।
१२. कोभिड विरामीको उपचार शुल्कमा एकरुपता कायम गर्ने ।
१३ महामारीमा जोखिम मोली काम गर्ने स्वास्थ्यकर्मीहरुलाई १००% जोखिम भत्ता उपलब्ध गराउने ।

भट्टराईले उच्च मनोवलसहित अग्रमोर्चामा खटिनु हुने चिकित्सक, स्वास्थ्यकर्मीहरुको प्रशंसा समेत गरेका छन् । जनताको जिवन रक्षाको लागि आफु, परिवार र समाजलाई बचाउदै स्वयम्सेवक रुपमा सुरक्षाका मापदण्ड अपनाएर उच्च मनोवल, इच्छा शक्ति र तयारीका साथ आफ्नो तर्फबाट योगदान पुर्याउन सम्पुर्ण नेता, कार्यकर्ता र आम जनसमुदायमा संगठनको तर्फबाट अपिल गरिएको छ ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..