‘अनि बादलको पछि लाग्नेले चिसै पानीले नुहाए’

Ram BhADUR Thapa Badal Mantri

Ram BhADUR Thapa Badal Mantri

गृहमन्त्री रामबहादुर थापा पार्टीभित्र शक्तिहीन बन्दै गएका छन्। युवाहरुको समूह छिन्नभिन्न भएसँगै थापा झन् कमजोर बनेका हुन्। आफ्नो शक्ति बढाउन पूर्वजनमुक्ति सेनामा रहेका युवाहरुलाई लिएर थापाले पुस ९ मा वाईसीएल ब्युँताएका थिए। संयोजक आफ्नै सचिवालयमा रहेका वीरु तामाङलाई बनाएका थिए।

युवाहरु एक्लाएक्लै ओली समूहले एकलौटी पुनर्गठन गरेको युवा संघमा प्रवेश गरेका छन्। बाँकी रहेका केही युवा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल नेतृत्वको नेकपामा प्रवेशको तयारीमा छन्। थापालाई साथ दिँदै आएको युवाहरुको टोली तितरबितर भएको छ।

वाईसीएल ब्युँताएर ओली पक्षसँग वार्ता गरी युवा संघसँग एकता गर्ने प्रयास थापाले गराएका थिए। तर, ओली पक्षले एकतर्फी रुपमा माघ २५ र २६ गते युवा संघको भेला गरेपछि थापा पक्षका युवाले बैठक नै बहिष्कार गरेका थिए।

थापा पक्षको बहिस्कारबीच ओलीनिकट वचनबहादुर सिंहको नेतृत्वमा युवा संघ पुनर्गठन गरियो। त्यसलाई सच्याउन थापा पक्षका युवाहरुले लेखराज भट्ट, टोपबहादुर रायमाझी लगायतलाई भेटेर दबाब दिएका थिए। तर, त्यसको कुनै नतिजा निस्केन। रायमाझी ओली पक्षको जनवर्गीय मोर्चाको प्रमुख हुन्।

थापाले संरक्षण नगरेको भन्दै युवाहरुले थापाको साथ छाडेका हुन्। शनिबार कुमार हुमागाईं, पुष्पराज श्रेष्ठ, योगेश साउद, योगेन्द्र लामा र उज्ज्वल घिमिरे ओली पक्षमा प्रवेश गरे। थापा पक्षबाट प्रवेश गर्नेहरुलाई वचन सिंहले उपाध्यक्ष, सचिव र सचिवालयमा लैजाने बताएका छन्।

अहिले ओली समूहमा प्रवेश गर्नेहरुले पनि आफूलाई गृहमन्त्री थापा समूहको भनेका छैनन्। बरु, मणि थापा, लेखराज भट्ट, प्रभु साह र टोपबहादुर रायमाझीनिकट हौँ भन्दै प्रवेश गरिरहेका छन्। यता दीपशिखा निकट युवा संघका एक केन्द्रिय सदस्यले भने, ‘ओलीले पेलेपछि साथीहरु क्रान्तिकारी बनेका थिए, फेरी चिसै पानीले नुहाएछन्’ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..