बागमती प्रदेश ट्राफिक प्रहरीले गर्‍यो घुस खुवाउन खोज्ने १७ सय बढी चालकलाई कारबाही

Bagmati State Traffic Police

बागमती प्रदेश ट्राफिक प्रहरीले घुस खुवाउन खोज्ने १७ सय ९१ जना सवारी चालकलाई कारबाही गरेको जनाएको छ। ट्राफिक नियमको उल्लंघन गरी सवारी साधन चलाउने ती चालकले कारबाहीबाट बच्न ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए।

Bagmati State Traffic Policeबागमती प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले उनीहरूले दिन खोजेको रकम अस्वीकार गरी थप जरिवाना तिराइएको बताए। नियम उल्लंघन गर्ने १७ सय ९१ जना चालकहरुले ट्राफिक प्रहरीलाई ३ लाख १० हजार ४२५ रुपैयाँ घुस दिन खोजेका थिए।

‘तर हामीले उनीहरुको घुस अस्वीकार गरी थप जरिवाना तिराएर कारबाही गरेका छौं,’ कोइरालाले भने।

ती चालकहरूबाट १८ लाख ८१ हजार रुपैयाँ राजश्व संकलन भएको उनले बताए। उनीहरूमध्ये पनि पटक–पटक घुस खुवाउन खोज्ने ८ जना सवारी चालकलाई मुद्दा चलाइएको कोइरालाले बताए।

‘नियम उल्लंघन गर्नेलाई रकम असुलेर छाड्ने गरिएको गुनासो धेरै आएपछि हामीले निगरानी बढायौं,’ उनले भने, ‘फरक-फरक शैली अपनाएर घुस लिने गरिएको पनि भेटियो। नियम उल्लंघन गर्ने चालकलाई मात्रै होइन घुस लिने प्रहरीलाई पनि कारबाही गरिएको छ।’

उनले सर्वसाधारणबाट पैसा असुल्नेभन्दा पनि उनीहरूको प्रवृत्तिमा सुधार ल्याउने प्रयत्न गरिरहेको बताए।

सवारी चालकहरूले नियम उल्लंघन गरी १०० देखि २०० रुपैयाँसम्म घुस दिएर उम्कने प्रयत्न गर्ने गरेको भेटिएको कोइरालाले बताए। प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्नेमा मालवाहक ट्रक, ट्रिपर, कुखुरा बोक्ने, तरकारी बोक्ने गाडी बढी छन्।

शैली परिवर्तन गरेर रकम असुली

ट्राफिक प्रहरीले सवारी चालकसँग घुस माग्नु नौलौ कुरा होइन। तर पछिल्ला दिनमा उनीहरूले घुस माग्ने शैलीमा भने परिवर्तन आउन थालेको देखिन्छ। एसपी कोइरालाकाअनुसार नारायणगढमा सवारी चालकसँग घुस लिन प्रहरीले स्थानीय यातायात व्यवसायीदेखि पुस्तक पसलेसम्मलाई प्रयोग गरेका थिए।

पार्किङ निषेध गरिएको स्थानमा सवारी साधन पार्किङ गर्न दिएर चालकबाट घुस लिने गरेको भेटिएको उनले बताए।

‘तर चालकसँग प्रहरीले सोझै पैसा लिएनन्, उनीहरूले स्थानीय व्यवसायीलाई पैसा असुल्न लगाएर उनीहरूबाट पछि रकम लिने गरेको भेटियो,’ उनले भने, ‘त्यसरी रकम असुल्ने दुई जना ट्राफिक प्रहरी, एक जना जनपथ प्रहरी र केही व्यवसायीलाई कारबाही गरिएको छ।’

प्रहरीले सवारी चालकबाट रिचार्ज कार्ड लिनेदेखि अनलाइनबाट पैसा दिने पनि गर्न थालेको जानकारी पाएको कोइरालाले बताए।

‘हामी यस्ता विकृतिहरूलाई हटाउनु पर्छ भनेर लागेका छौं। चालक र प्रहरी दुबैले यस्ता काम बन्द गर्नुपर्छ,’ उनी भन्छन्, ‘ट्राफिक नियमको पालना भएमात्र सडक सुरक्षित हुन्छ भन्ने कुरा सबैले बुझ्नुपर्छ।’

विगतमा चितवनमा काम गर्न हानथाप हुने गरेकोमा पछिल्ला दिनमा कडाइ हुन थालेसँगै यहाँ बस्न नचाहने ट्राफिक प्रहरीको संख्या बढ्न थालेको उनले बताए।

सडकमा घुस लेनदेनको क्रम बढ्न थालेपछि बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयले बैंकिङ प्रणालीमार्फत राजश्व संकलन गर्ने कार्य पनि थालेको छ। केही दिनदेखि जिल्ला ट्राफिक प्रहरी कार्यालयले ग्लोबल आइएमई बैंकसँग सहकार्य गरी जरिवाना तोकिएको रकम बैंकमार्फत् भुक्तानी गर्नुपर्ने कार्यको थालनी गरेको थियो। यसलाई अन्य ठाउँमा पनि लागू गर्ने तयारी प्रदेश कार्यालयले गरेको छ।

७ महिनामा १ लाख ४३ हजार बढी सवारी चालक परे कारबाहीमा

बागमती प्रदेश ट्राफिक प्रहरीले मातहतका १० वटा जिल्लामा यस आर्थिक वर्षको माघ मसान्तसम्ममा १ लाख ४३ हजार ५४४ जना सवारी चालकलाई कारबाही गरेको जनाएको छ। उनीहरूबाट १३ करोड १५ लाख ७८ हजार रुपैयाँ राजश्व असुल गरिएको कार्यालयले जनायो।

उक्त कार्यालयले गत वर्ष १० करोड ९८ लाख ६ हजार ५०० रुपैयाँ राजश्व संकलन गरेको थियो।

‘ट्राफिक प्रहरीमा जनशक्ति कम हुँदा हुँदै पनि हामी भएका स्रोत र साधनको भरपुर उपयोग गर्दै सडकमा खटेका छौं,’ एसपी कोइरालाले भने, ‘कामअनुसारको प्रगति पनि देखिँदै छ। गत सालभरिमा संकलन भएभन्दा २ करोड रुपैयाँ बढी राजश्व हामीले ७ महिनाको अवधिमै उठाएका छौं।’

यस कार्यालयले तोकिएको भन्दा बढी तौलको सामान बोक्ने सवारी साधनका चालकलाई पनि कारबाही गर्दै आएको छ।

चितवनको रामनगरमा यातायात व्यवस्था विभागले निर्माण गरेको डिजिटल तौल पुलमा जोख्ने क्रममा १५ दिनको अवधिमा तोकिएको भन्दा बढी सामान बोक्ने १ हजार १५० वटा सवारी साधनका धनी कारबाहीमा परेका छन्। उनीहरूलाई सचेत गराउँदै १२ लाख ३४ हजार ५०० रुपैयाँ जरिवाना लिइएको उक्त कार्यालयले जानकारी दियो।

साथै लामो दूरीका सवारी साधनमा दुई जना चालक राख्नै पर्ने नियमलाई कडाई गर्दै नराख्नेलाई जरिवानासहित कारबाही गर्ने गरिएको छ।

निमय उल्लंघन गर्नेका लागि कक्षा सञ्चालनको तयारी

एसपी कोइरालाले ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाउनेलाई अनिवार्य कक्षा लिनुपर्ने व्यवस्था गर्न लागेको बताए। यसका लागि प्रदेश कार्यालय रहेको चितवनको रामनगरमा भवन निर्माणको तयारी भइरहेको उनले बताए।

‘तत्कालका लागि हामी चितवनमा ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउनेका लागि नियम सिकाउने कक्षा सञ्चालनको तयारी गर्दैछौं, अहिले त्यसका लागि भवन निर्माणको तयारी भइरहेको छ,’ उनले भने, ‘यसको प्रभावकारिता हेरेर आवश्यकताअनुसार अन्य क्षेत्रमा पनि सुरू गर्न सकिन्छ।’

रामनगरमा उद्योग वाणिज्य संघ चितवन, चितवन उद्योग संघ, लायन्स क्लबलगायतका संस्थाहरूको सहयोगमा भवन निर्माणको काम अघि बढ्न लागेको उनले बताए। ५० जनालाई तालिम दिन मिल्ने भवन निर्माण गरेर आगामि चैतदेखि नियमित कक्षा चलाउने उनले बताए।

‘सवारी साधन चलाउँदा लेन अनुशासन उल्लंघन गर्ने, तीव्र गतिमा सवारी हाँक्ने, बिना लाइसेन्स सवारी चलाउने, मादकपदार्थ सेवन गरेर सवारी साधन चलाउने क्रम बढ्दो छ,’ उनले भने, ‘नियम उल्लंघन गर्नेको कागजात लिएर कक्षा लिइसकेपछि मात्रै फिर्ता गर्छौं।’

८४१ वटा सवारी दुर्घटनामा १८२ जनाको मृत्यु

चितवनमा यस वर्षको माघ मसान्तसम्ममा ३८ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। ८२ जना घाइते भएका छन्।

बागमती प्रदेशभरमा ८४१ वटा सवारी दुर्घटना भएका छन्। यी दुर्घटनामा १८२ जनाको मृत्यु भएको छ भने १ हजार ५९० जना घाइते भएका छन्।

चितवनमा गत वर्ष २४ जनाको सवारी दुर्घटनामा मृत्यु भएको थियो। त्यसअघिको सालमा २८ जनाको मृत्यु भएको थियो।

नारायणगढ–मुग्लिन सडक राम्रो बनेसँगै सवारी दुर्घटना घटेको छ। जिल्लामा भएका दुर्घटनामध्ये ४० प्रतिशत बढी पूर्वी चितवनका सडकमा भएका छन्। ‘विगतमा धेरै दुर्घटना नारायणगढ–मुग्लिन सडकमा हुने गरेकोमा यता घटेर अब पूर्वी चितवन तिर बढ्न थालेको छ,’ कोइरालाले भने, ‘सडक जति व्यवस्थित र वैज्ञानिक बन्न सक्यो दुर्घटनामा त्यति नै कमी आउँछ।’

कम भयो ट्राफिक जनशक्ति

बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयको कार्य क्षेत्र काठमाडौं उपत्यकाबाहेक बागमती प्रदेशका १० वटा जिल्ला हुन्। १० जिल्लाको ट्राफिक व्यवस्थापन गर्ने जनशक्तिको संख्या भने २४७ जना मात्रै छन्।

२१४ जनाको दरबन्दी रहेकोमा २४७ जनाले काम गरिरहेको प्रमुख कोइरालाले बताए। उनीहरु मध्ये चितवनमा रहेको मूख्य कार्यालयमा ३७ जनाको दरबन्दी छ। यसमध्ये अहिले ३० जना कार्यरत छन्।

यहाँ कार्यरत जनशक्ति देशका अन्य प्रदेश कार्यालय मातहत कार्यरत जनशक्तिभन्दा कम हो। काठमाडौं उपत्यकामा मात्रै करिब १ हजार ५०० जना ट्रफिक प्रहरी कार्यरत छन्।

सवारी साधनको चाप बढ्दै गएको, राजमार्ग र अन्य सडक धेरै भएको, राजधानी छिर्ने मूख्य नाकासमेत कार्य क्षेत्र रहेको यस कार्यालयको मातहतमा जनशक्ति असाध्यै कम भएको कोइराला बताउँछन्। कम जनशक्ति हुँदा हुँदै पनि व्यवस्थापन गरेर काम चलाइरहेको उनले बताए।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा हाल ४६ जना ट्राफिक प्रहरीको दरबन्दी छ। ‘यो संख्या पनि असाध्यै कम भयो,’ उनले भने, ‘चितवन जस्तो बढ्दो सहरीकरण भएको ठाउँमा यो संख्याले व्यवस्थापन गर्न गाह्रो छ। आवश्यक साधनको कमीले गर्दा भएका जनशक्तिले पनि धेरै काम गर्न सकेका छैनन्।’

कोइरालाले कार्यालयले संकलन गरेको राजश्वको केही प्रतिशत रकम छुट्टाएर ट्राफिक प्रहरीलाई आवश्यक साधनहरुको व्यवस्था गर्न सके ट्राफिक व्यवस्थापनमा थप सुधार ल्याउन सकिने बताए। ‘हाम्रो आफ्नै भवन छैन, सवारी साधनको गति जाँच गर्ने, मादक पदार्थ सेवन गरेको जाँच गर्नेलगायतका साधनहरु पनि चाहिने मात्रा छैनन्,’ उनी भन्छन्, ‘यस्ता कुरामा ध्यान गयो भने परिणाममा पनि सुधार हुँदै जान्छ।’ सेताेपाटीबाट

Kantipath Media

यो छुट्टाउनु भो कि..