बैठक चल्दाचल्दै माधबलाई फोनमा आखिर के भने बामदेवले ?

bamdev

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद समाधानका लागि नेताहरुले सक्रियता बढाए पनि सहमतिको उपाय निस्कन सकेको छैन। पार्टी अध्यक्ष केपी ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, नेता झलनाथ खनाल र माधवकुमार नेपालले भेटघाट तीव्र बनाएका छन्। आफू नेतृत्वको सरकार अप्ठ्यारोमा परेपछि प्रधानमन्त्री ओलीले नेपाल समूहलाई आफ्नो पक्षमा पार्न निकटकालाई सक्रिय बनाए पनि यो प्रयासले सोमबार मूर्तरुप लिन सकेन। पार्टीभित्र पेलाइमा परेको नेपाल समूहले सहमतिका लागि ओली पक्षसँग ठोस प्रस्ताव लिएर आउन आग्रह गरेको छ।

ओली पक्षले मन्त्रिपरिषद् पुनर्गठन गर्ने र त्यसमा केही नेतालाई व्यवस्थापन गर्ने प्रस्ताव अघि बढाएको छ। नेपाल समूहका नेताहरु भने एक व्यक्ति एक जिम्मेवारीको विषय कार्यान्वयन गर्ने र सरकार सञ्चालन पूर्णतः पार्टी नियन्त्रण हुनुपर्ने पक्षमा देखिएका छन्। ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नुपर्ने अडान उनीहरुको छ। यसमा ओली पक्ष सहमत नहुँदा सोमबार भएको दुईपक्षीय बैठक सहमतिमा पुग्न सकेन। उनीहरुबीच सचिवालय बैठक र स्थायी समिति बैठकबाट सहमति खोज्ने समझदारी भने बनेको छ।

आफू नेतृत्वको सरकार अप्ठ्यारोमा परेपछि प्रधानमन्त्री ओलीले नेपाल समूहलाई आफ्नो पक्षमा पार्न निकटकालाई सक्रिय बनाए पनि यो प्रयासले मूर्तरुप लिन सकेको छैन। बैठकमा सहभागी स्थायी समिति सदस्य भीम रावलका अनुसार पार्टीभित्र उत्पन्न पछिल्लो अवस्था र विधि मिचेर गरिएका निर्णयबारे छलफल भएको थियो। ‘पछिल्लो समय सरकारले गरेका निर्णयका कारण पार्टीको छवि धमिलिँदै गएको र गर्न नहुने कार्यलाई सरकारले प्राथमिकतामा राखेर पार्टी एकता कमजोर बनाउने काम भएको कुरा उठ्यो’, उनले भने। उनका अनुसार ओली समूहका नेताहरुले गल्ती कमजोरी खोज्न र मिल्न प्रस्ताव राखेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेश प्रकरणपछि आफूविरुद्ध एकै ठाउँमा जम्मा भएका नेकपाका असन्तुष्ट नेताहरुलाई ‘साम, दाम, दण्ड भेद’ को नीतिबाट केही हदसम्म फुटाउने प्रयासमा जुटेका छन्। त्यही क्रममा सोमबार बिहान बालुवाटारमा आफूसँग असन्तुष्ट नेता माधवकुमार नेपालसँग एक्लै भेटेका ओलीले दिउँसो प्रचण्ड समर्थकलाई अलग्याएर नेपाल समूहसँग मात्रै वार्ता गर्न आफ्नो समूहलाई कोटेश्वर पठाए।

ओली र नेपाल समूहबीचको अनौपचारिक बैठकमा ओली समूहले पार्टीभित्र छलफल गर्नु र मिलेर अघि बढ्नुको विकल्प नभएको सुनाए पनि मिल्नका लागि कुनै ठोस प्रस्ताव पेश गर्न सकेन। नेपाल समूहको मागअनुसार भोलि (मंगलबार) नै केन्द्रीय सचिवालय बैठक डाक्ने र त्यसले स्थायी कमिटी बैठकको मिति तय गर्ने अनौपचारिक सहमति भने बैठकमा भएको छ।

बैठकमा सहभागी नेपाल पक्षका नेता भीम रावलले प्रधानमन्त्रीका तर्फबाट आएकाहरुले पार्टीभित्र उत्पन्न गम्भीर समस्या समाधानका लागि कुनै ठोस प्रस्ताव नल्याएको तर छलफल नै विवाद समाधानको विकल्प भएको भन्दै प्रस्तुत भएको बताए। आफूहरुको तर्फबाट भने पार्टीभित्र उत्पन्न संकट निवारणका लागि पहिले केन्द्रीय सचिवालयदेखि स्थायी कमिटी बैठक डाक्नुपर्ने र उक्त बैठकमै आफूहरुका माग स्पष्टरुपमा राख्ने अडान दोहोर्‍याएको नेता रावलले जानकारी दिए । यता ओली र नेपाल समूहबीचको यो बैठकलाई पूर्ववर्ती माओवादीलाई किनारा लगाउने र पूर्वएमालेबीच कलह गराउने ओली सूत्रका रुपमा हेरिएको छ। ‘बैठकमा हामी सहभागी नभए पनि कोटेश्वरमा के के भयो हामीले सुक्ष्मरुपमा विश्लेषण गरेका छौँ। निष्कर्ष निकाल्न बाँकी छ,’ पूर्वमाओवादी पृष्ठभूमिका स्थायी कमिटीका एक सदस्य भन्छन्।

पार्टी र आन्दोलनको नेतृत्व गरेर यहाँसम्म आएको हुनाले माधव नेपालले संयमित भएर समझदारी निर्माणको अगुवाइ गर्न ओली समूहका नेताहरूले आग्रह गरेका थिए । मुख्यमन्त्री पोखरेलले पार्टी एकता बचाएर लैजान पनि अहिलेको अवस्थामा कम्तीमा पनि पूर्वएमाले समूह एकैठाउँ उभिनुपर्ने भन्दै त्यसका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका थिए । तर, माओवादीसँग एकीकरण हुनुअघिदेखि नै गुटका आधारमा पार्टी नेताहरूलाई हेप्ने र पाखा लगाउने काम हुँदै आएकाले अहिलेको अवस्था सिर्जना भएको नेपालको भनाइ थियो ।

‘यो समस्याको लामो पृष्ठभूमि छ । त्यसैले पार्टी पद्धतिबाटै निकास निकाल्नुपर्छ, त्यसैले सचिवालय र स्थायी समितिको बैठक बोलाउनुपर्छ, पार्टीभित्र विवाद चर्किनुको सबै जिम्मेवारी लिँदै प्रधानमन्त्री र अध्यक्षको हैसियतबाट उहाँले निकास दिनुपर्छ, छोड्नुपर्छ भनेर माधव कमरेडले स्पष्ट भनाइ राख्नुभयो,’ छलफलमा सहभागी नेता सुरेन्द्र पाण्डेले भने ।

पार्टीभित्र उत्पन्न संकटको समाधान प्रधानमन्त्रीको राजीनामा नै हो भन्नेमा आफू एक्लो नभएको नेपालको भनाइ थियो । पाण्डेका अनुसार नेपालले भनेका थिए, ‘भर्खरै पनि वामदेव कमरेडले फोन गरेर शनिबारको भेटमा प्रधानमन्त्रीलाई दुवै पदबाट राजीनामा दिनुस् भनेका कुरामा म अडिग छु, त्यसबाट म दायाँ–बायाँ हुन्न र भएको छैन भनिरहनुभएको छ, संकट समाधानको उपाय त्यही हो, अरू उपाय केही छ भने पनि बैठकमा छलफल गरेर अघि बढौँ ।’ उपप्रधानमन्त्री पोखरेलले अध्यक्ष र प्रधानमन्त्रीलाई दुवै पदबाट मुक्त गराएर अवमूल्यन गर्न खोजिएको टिप्पणी गरेका थिए । ‘प्रधानमन्त्रीलाई यतिसम्म ह्युमिलेट त गर्नुभएन नि,’ पोखरेलको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने ।

ओली समूहका नेताहरूले पार्टीभित्र आफूहरूलाई नेपालको नेतृत्व स्वीकार्य हुने र त्यसका लागि एकता महाधिवेशनसम्म धैर्य गर्न सुझाएका थिए । बरु, अहिले नै समझदारी विकास गरेर जान सकिने उनीहरूको भनाइ थियो । बैठकमा सहभागी एक नेताका अनुसार उनीहरूको भनाइ थियो, ‘यो पार्टी निर्माणमा, अहिलेसम्म यो अवस्थामा ल्याइपुर्‍याउन तपाईंको निर्णायक योगदान छ, राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा पनि सन्तुलित र समन्वयकारी नेताका रूपमा तपाईंको पहिचान बनेको छ,’ शंकर पोखरेलको भनाइ थियो, ‘त्यसैले अहिले सरकारलाई सफल बनाउने काममा तपाईंले भूमिका खेल्नुपर्छ, महाधिवेशनबाट तपाईंले पार्टीको नेतृत्व गर्ने गरी अहिल्यै समझदारी बनाएर अघि जान सकिन्छ ।’

Kantipath Media

यो छुट्टाउनु भो कि..