SP र CDO खल्तीका मान्छे भन्दै निषेधाज्ञा तोड्ने कांग्रेस नेताको उल्टै प्रहरी विरुद्ध वक्तब्य

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको दोस्रो लहर दिन प्रतिदिन बढी रहेको छ । कोरोनाका बिरामी बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय, सर्लाहीले जिल्लाभरि निषेधाज्ञा लगाएको छ । सरकारले निषेधाज्ञा उल्लंघन गर्नेलाई कडा कानूनी कार्बाही समेत गर्ने चेतावनी दिएको छ । निषेधाज्ञा पालना गराउन सरकारले सुरक्षाकर्मीलाई अख्तियारी दिएको छ ।

संकटका समयमा दिनरात, भोक, तिर्खा नभनि र नियमअनुसार पाउने विदासमेत नबसी सुरक्षाकर्मीहरु फ्रन्टलाईनमा खटिएका छन् । सरकारले दिने भनेको प्रोत्साहन भत्ता समेत नपाएका प्रहरी विरुद्ध दबाब र बक्तब्यबाजी भने सुरु भएको छ ।

नेपाली कांग्रेस सर्लाहीका क्षेत्र नम्बर ३ का क्षेत्रीय प्रतिनिधि सुरेन्द्र दासलाई निषेधाज्ञा उल्लंघन नगर्नका लागि सम्झाउने प्रहरीविरुद्ध विज्ञप्ति निकालेर विरोध गर्ने र ड्युटीमा खटिने सुरक्षाकर्मी विरुद्ध दुरुत्साहन गर्ने काम सुरु भएको छ । कांग्रेसको उक्त हर्कतले संकटमा अग्रपंतिमा खटिने प्रहरी तथा सुरक्षाकर्मीहरुको मनोवल घटेको छ । नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको खिल्ली उडाँउदै बजार, चोक चौतारामा हुलहुज्जत गर्ने र फिल्डमा डिउटीमा खटिएका प्रहरी तथा सुरक्षाकर्मीहरुलाई धम्क्याउने गरेको भन्दै प्रहरीले गुनासो गरेको छ ।

ठुलो हुलहुज्जत लिएर बरथवा बीच बजारमा गफ गरिरहेका दासलाई प्रहरीले सम्झाउन खोज्दा उल्टै प्रहरीलाई उनले प्रमुख जिल्ला अधिकारीको र प्रहरी उपरिक्षकको नाम लिँदै धम्क्याएको एक प्रहरी अधिकारीले बताए । एकजनाको कमिकमजोरीले धेरैलाई संक्रमण हुनसक्ने भन्दै दासलाई प्रहरीले निषेधाज्ञा पालना गर्न आग्रह गर्दा त्यसको विरोधमा नेपाली कांग्रेस बरथवाले विज्ञप्ति समेत जारी गरेको छ । कांग्रेस बरहथवा नगर समिति सभापति उपेन्द्र कुशवाहले प्रहरीको विरोधमा विज्ञप्ति नै निकालेर आफ्नो कारणले बरहथवा नगरपालिकामा संक्रमत बढ्दै गएको स्वीकार समेत गरेका छन् ।

तरकारी, फलफुल, खाद्यान्न पसल खुल्ने समय विहान ७-१० बजे सम्म तोकिएको छ । साझ ६ बजे तरकारी को बहानामा बजारमा हुल बनाएर हिड्नु र घर जानुस भनेर सम्झाउदा हुलमा भएका ७/८ जना मध्ये १ जना करोडपति व्यापारी प्रहरीसंगै मुखमुखै लागेर एसपी, सिडीओ लगायत माथिका सबै हाम्रो खल्तीमा छन भन्दै प्रहरीलाई दुरुत्साहन गरेका थिए । ड्युटीमा रहेका प्रहरीलाई दुर्व्यवहार गरेपछि उनलाई पक्राउ गरिएको थियो ।

बढी जनसंख्या भएको र भिडभाड बढी हुने बरहथवामा प्रहरीको सक्रियताकै कारण निषेधाज्ञा पूर्ण पालना भइरहेको छ । सुरक्षाकर्मीले कडाइ नगरेर भिडभाड बढेर संक्रमण फैलने डर स्थानीयलाई छ । निषेधाज्ञा उल्लङ्घन गर्नेलाई संक्रामक रोग नियन्त्रण ऐन अनुसार कारबाहीको प्रक्रिया अघि बढ्ने इलाका प्रहरी कार्यालय बरथवाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले बताए ।

नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गराउन र स्थानिय प्रशासनले जारी गरेको निषेधाज्ञाको कार्यान्वयन गराउने काममा प्रहरी सधैँ कटिबद्ध रहेको प्रहरी नायव उपरिक्षक भाटले बताए । कोरोनाले धनि-गरिब, ठुलो सानो कसैलाई नचिन्ने हुँदा सबैलाई नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सिसिएमसी तथा जिल्ला प्रशासन कार्यालय, सर्लाहीले जारि गरेको स्वास्थ्य प्रोटोकल र मापदण्ड पालना गर्न डिएसपी भाटले आग्रह गरेका छन् ।

‘कोरोना नियन्त्रणमा खटिने सुरक्षाकर्मीमा संक्रमण बढ्दो छ। जनताकै लागि अहोरात्र खटिनुपर्ने हुँदा अहिले त्यसकै परिणाम भोग्दै छौँ,’ प्रहरीका एक अधिकारीले भने, ‘तर संकटको घडीमा मुलुक र जनताको सेवामा समर्पित हुन पाउँदा जोखिमको पर्वाह छैन। सुरक्षाकर्मी भएर संकटमा साथ दिइरहन सक्दा गर्व लाग्छ।’

जनतालाई महामारीबाट जोगाउनका लागि सकेजति सबै उपाय अवलम्बन गरिएको बताउँदै डिएसपी भाटले ‘सर्वसाधारण जनता बच्दा सबै बच्छौँ’ भन्ने मूल मन्त्रलाई आत्मासात गर्दै आफू जोखिममा परे पनि सुरक्षाकर्मी जनसेवामा दत्तचित्त भएर लागेको उल्लेख गरे।’ नियमित काममा निरन्तर लाग्दै कोरोनाको जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राखिएको उनले बताए।

आफू जोखिम मोलेरै महामारीको रूपमा फैलिएको कोरोनाबाट जनतालाई जोगाउने महत्वपूर्ण अभियानमा केन्द्रित हुँदा सुरक्षाकर्मीको प्रशंसा भइरहेको बरहथवाका एक नागरिक अगुवाले बताए। ‘शान्ति सुरक्षाको नियमित कामबाहेक महामारीका बेला जनता जोगाउन सुरक्षाकर्मीको योगदान ठूलो छ,’ उनी भन्छन्, ‘संक्रमणको जोखिमका समयमा झन सुरक्षा सतर्कता बढाउनुपर्ने जिम्मेवारीको उच्च मूल्यांकन हुन जरुरी छ।’ तर केहि राजनीतिक दलले धर्म बिर्सेर प्रहरी माथि नै जाईलागेछन ।

स्थानीय एक ब्यापारी सुरक्षाकर्मीले मिहिनेत नगरेको भए कोरोनाले अवस्था थप भयावह बनाउने बताउँछन्। ‘कोरोना नियन्त्रणका लागि सुरक्षाकर्मीको भूमिका निक्कै तारिफयोग्य छ,’ उनले भने, ‘महामारीबाट जोगिन र बच्न सबैले सुरक्षाकर्मीलाई साथ दिनुपर्ने अवस्था छ।’

यस्तो छ कांग्रेसको बिज्ञप्ति :

 

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..