कार्यदलको छलफल अगाडी भिम रावलले किन भेटे राष्ट्रपति ?

नेकपा एमालेले आज आइतबारका लागि बोलाएको केन्द्रीय समिति बैठक एक दिन पर सारेको छ । आवश्यक तयारी पुरा नभएकाले एक दिन पर सोमबारसम्मलाई बैठक सारेको एमाले नेताहरुले बताएका छन् । तर, कस्तो तयारी भन्नेबारे उनीहरुले केही खुलाएका छैनन् ।

यसैबीच आइतबार बिहानैबाट विघटित कार्यदलका नेताहरुबीच पार्टी एकताबारे छलफल भइरहेको छ । गोप्य रुपमा भएको छलफलमा पार्टी एकताको विन्दु पहिल्याउने प्रयास भइरहेको बुझिएको छ ।

गत शुक्रबार सम्पन्न माधव नेपाल पक्षको केन्द्रीय समिति बैठकले १० बुँदे सहमति एकताको आधार मान्न सकिने भएपनि त्यो नै पर्याप्त नभएको निश्कर्ष निकालेको थियो । साथै एकता प्रक्रिया चलिरहेका बेला अध्यक्ष ओली पक्षले अघि सारेका सांगठनिक गतिविधिले एकताको वातावरण बिथोलिने भन्दै त्यस्ता गतिविधि रोक्न ध्यानाकर्षण गराएको थियो । तर सोही दिन एमाले प्रवक्ता तथा ओली पक्षीय नेता प्रदीप ज्ञवालीले एकताका नाममा अनन्तकालसम्म पर्खन नसकिने जवाफ दिएका थिए ।

यता माधव नेपाल पक्षका कार्यदल संयोजक समेत रहेका नेता भीम रावलले शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । नेता रावल र राष्ट्रपतिकबीचको भेटवार्तामा समेत एमाले संकटबारे छलफल भएको बुझिएको छ ।

शीतल निवास (राष्ट्रपतिको कार्यालय) स्रोतका अनुसार नेता रावलले शनिबार अपराह्न शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग झन्डै ३ घण्टा छलफल गरेका हुन्। उनीहरूबीच शनिबार अपराह्न ५ बजेर १० मिनेटदेखि साँझ ७ बजेर ४० मिनेटसम्म भेटवार्ता भएको हो।

एमालेका ओली र नेपाल पक्षबीच एकता वा ‘सम्बन्ध विच्छेद’को चर्काे बहस भइरहेका बेला भएको यो भेटवार्तालाई महत्त्वपूर्ण रूपमा लिइएको छ। तर नेता रावल र राष्ट्रपतिबीच के छलफल भयो भन्ने विषयमा स्रोतले खुलाएन। माधव नेपाल पक्षका मानिएका नेता रावल शेरबहादुर देउवा प्रधानमन्त्री बनेयता ओलीतर्फ नजिकिँदै गएका छन्।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..