ओली र विद्याको अनुचित साँठगांठको तानाशाही बुटले संबिधान धुजाधुजा : नेपाल पक्ष

एमाले नेता माधव कुमार नेपालले ठूलो मूल्य चुकाएर जारी भएको संविधानमाथि प्रधानमन्त्री केपी ओलीले तानाशाही बुट बजार्दै त्यसलाई धुजाधुजा पारेको आरोप लगाएका छन् । नेपालले शनिबार एक विज्ञप्ति जारी गर्दै ओलीको प्रतिनिधिसभा भंग गर्ने कदमले लोकतन्त्र, राष्ट्रियता र जनजीविकाका लागि विगतमा जनताले बगाएको रगत र पसिना तथा सहिदहरुको त्यागको अपमान भएको समेत बताएका छन् ।

नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले अनुचित साँठगाँठ गरेर प्रतिनिधि सभा भंग गरेको पनि बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले नयाँ सरकार निर्माणका लागि काँग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा प्रतिनिधि सभाका १४९ सदस्यहरु स्पष्ट बहुमत रहेको यथार्थलाई वेवास्ता गर्दै प्रधानमन्त्री नियुक्त गर्नुको साटो संवैधानिक प्रावधान कुल्चेर प्रतिनिधि सभा भंग गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘यो प्रधानमन्त्री केपी शर्मा ओलीको नेपाली जनताले आफ्नो बारेमा आफै निर्णय गर्न पाउने तथा राष्ट्रिय स्वतन्त्रता, स्वाधिनता, राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वाभिमानलाई सर्वोपरी राख्दै राज्य सञ्चालन गर्नुपर्ने संवैधानिक र पदीय मर्यादा विपरित क्रियाकलापकै निरन्तरता हो, नेता नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नेपालले जनता, देश र लोकतन्त्र नै खतरामा परिरहेको परिस्थितिमा एमालेको आफ्नो समूहका नेता कार्यकर्तालाई दृढतासाथ उभिन आह्वान गरेका छन् ।

नेपालले कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा प्रतिनिधिसभाको १ सय ४९ सांसदको हस्ताक्षर रहेको र देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने बाध्यात्मक व्यवस्था रहेको दाबी गरेका छन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..