होटलमा लुकाएको २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा, कार्वाही गर्न माओवादी केन्द्रको माग

विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

विर्तामोडको टाइमलेस होटलबाट खड्कालाई अपरान्ह ४ बजेतिर खोपसहित नियन्त्रणमा लिइएको थियो । स्थानीयबासीले खोप नियोजितरुपमा होटलमा लुकाउन खोजिएको आरोप लगाएका छन् ।

इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले होटलबाट खोपसहित स्वास्थ्य शाखाका फोकल पर्सन खड्कालाई नियन्त्रणमा लिएर केहीबेर इप्रकामा राखिएको र कानून बमोजिम थप कार्वाहीका लागि स्वास्थ्य कार्यालयमा पठाइएको बताए ।

विर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले उक्त खोप विर्तामोड नगरपालिकाको आग्रह बमोजिम स्वास्थ्य कार्यालय झापाले पठाएको जिकीर गर्दै होटलमा लुकाइएको आरोप अस्वीकार गरे ।

हाल प्रहरी नियन्त्रणमा रहेका स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन खड्काले आफु आइसोलेसनका लागि टाइमलेस होटलमा रहेको बेला जिल्लाबाट पठाइएको खोप होटलमै बुझेको दावी गरेका छन् ।

तर, स्वास्थ्य कार्यालय झापाले पठाएको खोप नगरपालिका कार्यालय, स्वास्थ्य शाखा, प्रहरी कार्यालयलगायतका निकायमा राखिनुको साटो होटलमा राखिनु गलत भएको विर्तामोड नगरपालिकाले स्वीकार गरेको छ ।

होटलमा खोपसहित नगरका स्वास्थ्य शाखाका फोकल पर्सन भेटिएको घटनापछि झापाको विर्तामोड नगरपालिकामा खोप तस्करी गर्ने माथि कडा कार्वाही गर्न नेकपा (माओवादी केन्द्र) नगर समितिले माग गरेको छ।

नेकपा (माओवादी केन्द्र ) का विर्तामोड नगर इन्चार्ज युवराज दाहाल र सचिव नविन सुब्बाद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ -‘ घटनाको निष्पक्ष छानबिन गरि दोषि उपर कडा कारबाही गर्न र पर्याप्त मात्रामा खोपको व्यवस्था गर्न विर्तामोड नगरपालिका समक्ष जोडदार माग गर्दछौँ ।’

मिति २०७८-०४-१५ गते बिर्तामोड स्थित एक होटलमा बिर्तामोड नगरपालिकाका कोभिड -१९ फोकल पर्सन खोप सहित संदिग्ध रुपमा पक्राउ पर्नुले नगरपालिका नागरिकको स्वास्थ्यको मामिलामा अत्यन्तै गैरजिम्मेवार रहेको पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ।

माओवादी केन्द्रले यसअघि अस्पतालको ठेक्का प्रक्रियामा समेत अनियमिततामा संलग्न भनिएको व्यक्ति पुन : यस खालको गतिबिधिमा संलग्न देखिएकोमा कडा आपत्ति जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ -‘ कतै सिङ्गो स्थानीय सरकार नै संगठित रुपमा यस्ता अनियमितता र कुकर्मको संरक्षणमा त छैन ? भन्ने गम्भीर प्रश्न खडा भएको छ।’

विज्ञप्तिमा घटनालाई ढाकछोप गर्ने, उन्मुक्ति दिने र बिभिन्न बहानाबाजीमा आसेपासेको संरक्षण गर्ने प्रबृत्तिको विरुद्धमा जनदबाब सृजना गर्न, खबरदारी गर्न र जागै बस्न सम्पुर्ण नगरबासीलाई अपिल गरिएको छ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जिल्लाबाट विर्तामोडमा खोप गएको हो वा होइन भन्ने बारेमा आफु अनभिज्ञ भएको बताए ।

उनले घटना बारे सोधखोज भइरहेको जानकारी दिए ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..