भक्तपुरको बिस्का जात्रा आजबाट शुरु

सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्का (बिस्केट) जात्रा आजबाट शुरु हुँदैछ ।

यो जात्रासँगै भक्तपुर नौ दिन आठ रात जात्राको रौनकमा झुम्ने छ । जात्रा आज साँझ टौमढीस्थित ङातापोल (पाँचतल्ले मन्दिर) अगाडिबाट भैल खः (भैरवनाथको रथ) तानातान गर्दै शुरुआत गरिन्छ । काठैकाठले प्यागोडाशैलीमा निर्माण गरिएको तीन तल्ले रथमा रथभित्र भैरवनाथको मूल देवता र अगाडि बेताल देवतालाई विराजमान गराई पाँचतल्ले मन्दिर प्राङ्गणबाट थने(माथिल्लो) र क्वने(तल्लो) टोलतर्फ तानातान गर्न थालेपछि यो वर्षको जात्रा शुरु हुन्छ । यसवर्ष दिउँसो २ बजे भैल खः तान्ने कार्यक्रम छ । भक्तपुर नगरपालिकाले सरोकारवालाहरुसँग छलफल गरेर सो कार्ययोजना तय गरेको हो । तालिकाअनुसार आज बिहान ५ बजे नै भैरवनाथको महास्नान पूजा र ५ः३० बजे बालकृष्ण कर्माचार्यबाट नित्य पूजा सम्पन्न गरिएको छ । बिहान ६ बजेदेखि ८ बजेसम्ममा स्थानीय टोलवासीले पूजा सम्पन्न गर्ने, बिहान ८ देखि ९ बजेसम्ममा नौ बाजा भजनका गुठीयार ज्ञानेन्द्रनाथ कायष्थ समेतको टोलीबाट पूजा सम्पन्न गर्ने, बिहान ९ बजेदेखि ९ः३० बजेसम्ममा भैरवनाथ र बेताल देवतामा जगतबहादुर मानन्धरको टोलीबाट पूजा सम्पन्न गर्ने, बिहान ९ः३० बजेदेखि १० बजेसम्ममा गुठी संस्थान कार्यालय र सिकर्मी नाइके भएर पूजा सम्पन्न गर्ने बैठकपछि जारी जात्रासम्बन्धी कार्यतालिकामा उल्लेख गरिएको छ ।

त्यस्तै बिहान १० बजे बेताल झिक्ने, जगतबहादुर मानन्धर र गङ्गालाल कुस्मा समेतबाट पूजा सम्पन्न गर्ने, १० बजेदेखि ११ बजेसम्म बेताल सफा गर्ने र रथमा राखी सिंगार्ने, ११ बजेदेखि १२ बजेसम्म भैरवनाथको मूल नाइके लक्ष्मीभक्त घैमसूले श्रीको पूजा शुरु गर्ने कार्यक्रम छ । त्यस्तै १२ बजे गुठी संस्थान भक्तपुरका कार्यालय प्रमुखले तलेजु पूजारी प्रगेश राजोपाध्यायलाई खड्ग बुझाउने, १ बजेसम्ममा पूजारी प्रगेश राजोपाध्याय दुई जना र हपः दिने चौगुठीहरू दुई जना तलेजुमा उपस्थित हुने, तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशी र गुठी कार्यालयले बाजा बन्दोबस्त गरी टौमढीमा आउने र १२ देखि १ बजे भैरव नाइके लक्ष्मीभक्त घेमोसु गुठीयारले गुहृय पूजा सिध्याई देवता रथमा राख्ने तयारी गरिएको छ ।

भैल खः तान्न १ देखि १ः३० बजे भद्रकालीको रथलाई घट्खामा पठाई भद्रकालीलाई रथमा बिराजमान गर्ने गरी भद्रकालीको रथमा पूजा सम्पन्न गर्ने, १ः३० बजेदेखि २ बजेसम्म भद्रकालीको रथलाई टौमढीको पुबहालको अगाडि ल्याई २ः०० बजेदेखि भैरवनाथको रथ तान्न शुरु गर्ने गरी ५ः३० बजेसम्म भैरवनाथको रथ गःहिटीमा पु¥याई जात्रा सम्पन्न गर्ने तयारी गरिएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो ।

जात्राको मुख्य आकर्षण नै रथ तानातान गर्नु हो । यसरी तानातान गर्ने क्रममा थनेतर्फ पहिला तानेर लानसके दत्तात्रयसम्म लैजाने र त्यहाँबाट तानेर पुनः टौमढीहुँदै क्वनेतर्फको टेखापुखुसम्म ल्याएर त्यहाँबाट पनि फर्काएर गःहिटीमा रथ पु¥याएपछि पहिलो दिनको जात्रा सम्पन्न हुने गर्दछ । यसवर्ष भैल खः टौमढीबाट पूर्वमा बढीमा बुलुबुलु हिटी (सुकुलढोका) र पश्चिममा बढीमा नासमनासम्म मात्र लान अनुरोध गरिएको छ ।

रथमा जुुसी बजु, कर्माचार्य, तलेजुको मूल पुजारी, गुठी नाइके, भैरव नाइके, कर्मी नाइके, चौगुठीलगायत तोकिएका आवश्यक व्यक्तिहरू बाहेक अन्य व्यक्तिहरू अनधिकृत रुपमा नचढ्न समेत अनुरोध गरिएको छ ।

बिस्का जात्राका ऐतिहासिक पक्षका सम्बन्धमा थिमीमा प्राप्त नेपाल संम्बत् ५०० को तमसुक पत्रमा विश्व केतुलाई सम्झाउने पर्यायको रुपमा बिसिक शब्द उल्लेख भएको पाइएको संस्कृतिविद् एवं इतिहासविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठ बताउँनुहुन्छ । “भक्तपुर टौमढीस्थित यक्ष मल्लको पालाको शिलालेखमा पहिलो पल्ट जात्रालाई सम्बोधन गर्दा विश्व जात्रा भनी उल्लेख गरिएको छ । त्यसैगरी भक्तपुरको राजदरबारमा नेपालसम्वत् ८०८ र ८१८ को राजा जीतामित्र र भूपतिन्द्र मल्लको पालामा लेखिएको अभिलेखमा विस्क्यात शब्द उल्लेख छ । तलेजुमा अहिलेसम्म चल्ने बिस्का जात्राको संकल्प पूजामा विश्वजात्रा महापर्व भनेर सम्बोधन गरिन्छ”, उहाँ भन्नुहुन्छ, “यी प्रमाणका आधारमा विश्व केतु भनेको संस्कृत शब्द हो । पछिल्लो कालखण्डमा नेवारी नामाकरणअनुसार विसिक, बिस्क हुँदै बिस्का हुन पुगेको हो । त्यसैको अपभ्रंस भएर बिस्केट हुन पुगेको हो । नेवारीमा अहिले पनि बिस्का जात्रा भन्ने गरिन्छ ।”

प्रा डा श्रेष्ठले बिस्का जात्राको प्रचलित किंवदन्ती गलत भएको दाबी गर्नुभएको छ । उहाँले बिस्का जात्रा नितान्त भैरवनाथ र भद्रकालीसँग मात्र सम्बन्धित रहेको र यसको प्रचलित सर्प मारेको र नागनागिनीसँग जोडिएको किंदन्ती भ्रम मात्र रहेको बताउनुभयो । “यो जात्रा विश्वनाथ भैरवको मात्र नभई उनकै शक्ति भद्रकालीको पनि हो । विश्व भैरवनाथको प्रतिक लिंगोमा फहराइने एकजोडी हलिपत(ध्वजा) साक्षात भैरव र भद्रकालीको हो । यसलाई जबरजस्ती वि को अर्थ सर्प र स्यातको अर्थ मारियो भन्ने अर्थमा बिस्क, बिस्का, बिस्केत चल्दै आएको भम्र मानसिकता व्याप्त रहेको छ ।”

‘वर्षौदेखिको पक्की पुलको चाहना बल्ल पूरा हुन लाग्यो’

तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटार र व्यास नगरपालिका–३ देउरालीनगर जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल चलाउँदा दुर्घटनाको जोखिम बढेपछि चार वर्ष अगाडि जिल्ला अदालतले पुलमा मोटरसाइकल चलाउन नपाउने आदेश जारी ग¥यो । अदालतको आदेशपछि सवारी साधन भएका स्थानीयवासी व्यास नगरपालिका–५ पाटनको बाटो हुँदै दमौली आउन थाले ।

अदालतको आदेशसँगै पैदलयात्रीलाई त झोलुङ्गे पुलबाट आवतजावत गर्न सहज भयो, तर सवारी साधन भएकालाई वारी आउन केही समय बढी लाग्ने अवस्था आयो । केही समय लगत्तै पुनः झोलुङ्गे पुलबाट मोटरसाइकल वारपार गर्न थालियो । अदालतको निर्णय अव्यवहारिक भएको भन्दै स्थानीयवासीबाट उक्त आदेश उल्लङ्घन भयो ।

झोलुङ्गे पुलबाट मोटरसाइकल वारपार गर्दा दुर्घटनाको जोखिम उत्तिकै छ । साँघुरो पुल त्यसमाथि मोटरसाइकल गुडाइदिँदा वारपार गर्ने सर्वसाधारणलाई समस्या हुँदै आएको छ । झापुटारका स्थानीयवासीको मुख्य बजार दमौली हो । झोलुङ्गे पुल तरेर पाँच मिनेटमै दमौली बजार आइपुग्छ । त्यसको विकल्पमा पाटनबाट दमौली आउन २० मिनेट भन्दा बढी लाग्छ ।

झापुटारबाट देउरालीनगर जोड्ने पक्की पुल नहुँदा यहाँका स्थानीयवासीलाई समस्या हुँदै आएको छ । स्थानीयवासीले वर्षौदेखि सेतीनदीमाथि पक्की पुलको माग गर्दै आए । विगतमा धेरै सरकार बनेपनि स्थानीयवासीको माग पूरा हुन सकेन ।

सङ्घीयता आएपछि गठन भएको गण्डकी प्रदेश सरकारले स्थानीयवासीको माग सम्बोधन गरेको छ । स्थानीय विजयलक्ष्मी थापाले हाम्रो माग सुनेर पक्की पुल निर्माण थालेकामा प्रदेश सरकारलाई धन्यवाद दिनुभयो । प्रदेश सरकारको रु ३२ करोड ४० लाख २७ हजार ३९४ को लागतमा पुल निर्माण शुरु भएको छ । पुल निर्माणका लागि विसं २०७७ मङ्सिर १९ गते रसुवा इलाइट जेभी काठमाडौसँग सम्झौता भएको थियो । विसं २०८० जेठ ९ गतेसम्म पुल निर्माण सम्पन्न गर्नुपर्ने म्याद रहेको कार्यालय प्रमुख ओमराज ढुङ्गानाले जानकारी दिनुभयो ।

एक सय ५४ मिटर लामो रहने पुलको चौडाइ ९.५० मिटर रहनेछ । पाइल फाउण्डेशनमा निर्माण हुने पुल स्टिल ट्रसको हुनेछ । पुल निर्माणका लागि चालू आर्थिक वर्षमा रु चार करोड ५० लाख विनियोजन भएकामा निर्माण कम्पनीलाई रु दुई करोड ८६ लाख भुक्तानी दिइएको छ ।

काभ्रेमा लालपूर्जा वितरण अन्योल
एक वर्षअघि भुम्लु गाउँपालिकास्थित फिल्डमा खटेको नापी कार्यालयको टोली फर्किएपछि ४५ वर्षदेखि लालपूर्जाको पर्खाइमा बसेका करिब एक हजार २०० परिवारमा पुनःनिरासा छाएको छ ।

एक वर्षअघि उक्त गाउँपालिकाको सात र आठ नम्बर वडामा जिल्ला नापी कार्यालयका दुई टोली स्थानीयको जग्गाधनी र जग्गाको छानविन गरी लालपूर्जा दिन जिल्लास्थित कार्यालयमा सिफारिस गर्न राखिएको थियो । तर ती टोली मालपोत कार्यालयको असहयोग तथा अन्य विविध कारण देखाउँदै हालै जिल्ला फर्किएपछि लालपूर्जा वितरणमा अन्योलता छाएको हो । ४५ वर्षदेखि लालपूर्जाविहीन काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित दुई वडाका एक हजार दुई सयभन्दा बढी स्थानीयमा जग्गाको समस्या भएपछि तत्कालीन मन्त्री गोकुलप्रसाद बाँस्कोटाले दुई वडामा दुई टोली खटाउन नापी कार्यालय र मालपोतलाई निर्देशन दिनुभएको थियो ।

गाउँपालिकाका सीमा विवादका कारण आफ्नै जमीन आफ्नो नाममा नभएपछि करिब एक हजार २०० लालपूर्जा विहीनले फिल्डका नापी र मालपोतको दुवै कार्यालयमा गत माघ महिनासम्म लालपूर्जा प्राप्तिका लागि निवेदन दर्ता गरेका थए । भुम्लु गाउँपालिकाले भने केही दिनअघि मात्रै तत्काल काम पुनःसचालन गराउन जिल्लास्थित नापी र मालपोत कार्यालयलाई छुट्टाछुट्टै पत्राचार गरेको छ । “निवेदनउपर छानविन गरी जग्गदाताले आवश्यक प्रमाण जुटाउने प्रक्रिया अघि बढिसकेको अवस्थामा कर्मचारीले फिल्ड छाडेर हिडेपछि हिड्नुको कारणसहित दुवै कार्यालायलाई पत्राचार गरेको हो”, गाउँपालिका अध्यक्ष गुमानध्वन कुँवरले भन्नुभयो ।

कुँवरसहितको पीडित टोलीले काम सुचारु गर्न आग्रहसहित दुवै कार्यालयलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । नापी कार्यालय प्रमुख कृष्णप्रसाद न्यौपानले कर्मचारी फर्काउने प्रक्रिया भइरहेको बताउनुभयो । उहाँका अनुसार करिब ३०० को लालपूर्जा तयार भैसकेको छ । साविकको भुम्लुटार र फलाँटे गाउँ विकास समितिबीचको सिमाना विवादका कारण ४५ वर्षदेखि यी दुई तत्कालीन गाविसका सर्वसाधारणले हालसम्म पनि आफुले प्रयोग गर्दै आएको जग्गाको जग्गाधनी प्रमाणपत्र(लालपुर्जा) प्राप्त गर्न सकेका छैनन् ।

नापी र मालपोत कार्यालयका कर्मचारीले दुई वडाको सिमाङ्कनको काम सुचारु नगर्दा अन्यौलता छाएपछि निवेदन दर्ता गर्न बाध्य भएको वडा नम्बर ७ का स्थानीय रमेश खरेलले बताउनुभयो । “कार्यालयमा कर्मचारी पनि नियमित उपस्थित नहुने र विभिन्न बहाना देखाएर प्रक्रिया बीचमै छाडेर हिड्ने भएपछि अन्योलता छाउँदै आएको हो”, उहाँले भन्नुभयो । उहाँका अनुसार दुवै कार्यालयका कर्मचारीले स्थानीयको निवेदन बुझेर हिडेका हुन् ।

नापी कार्यालयका अनुसार हालसम्म ७ नम्वर वडास्थित कार्यालयमा ९३२ र ८ नम्वरमा ३१७ निवेदन दर्ता भएको छ । नापी कार्यालयद्वारा निवेदन बुझ्ने काम भएको तर थप प्रक्रिया अघि नबढेको उहाँले बताउनुभयो । “मालपोत कार्यालयबाट जमीनको शुरुदेखि अन्तिम जग्गाधनी को हुन् भन्नेमा स्रेस्ता आएपछि मात्रै निवेदन दिएका व्यक्तिको जग्गा दर्तागरी लालपूर्जा दिन सकिन्छ”, कार्यालयका सूचना अधिकारी नापी अधिकृत सुरेश मानन्धरले भन्नुभयो । उहाँका अनुसार हाल दुवै वडामा तेस्रोपक्ष व्यक्तिमा किनबेच नभएको जग्गा दर्ता गर्न सकिनेछ ।

नापी कार्यालयले मालपोत कार्यालयको असहयोगका कारण थप प्रक्रिया अघि बढाउन नसकिएको आरोप लगाएको छ । न्यौपानेले भन्नुभयो, “मालपोतले जग्गाधनीको मोठ भिडाउन सहयोग गरेन, उसले जग्गाको धनीसमेत पहिचान गरिदिनुपर्ने हुन्छ ।” उहाँका अनुसार थप प्रक्रिया नहुने भएपछि फिल्डमा खटाइएका कर्मचारीलाई जिल्ला कार्यालय फर्काइएको हो । साविकको पिपलटार गाविस फुट्दा भुम्लुटार र फलाँटे गाविस दुवैमा खेतीयोग्य जमीन परेपछि त्यो जमीन कुन गाविसले लिने भन्ने विषयमा विवाद हुँदा विसं २०३२ मा नापी गर्न गएको टोली र दुई गाविसका नेतृत्वको विवादका कारण तत्कालीन नापी टोली फर्किएको थियो ।

मालपोत कार्यालयप्रमुख लोकबहादुर भण्डारीले भुम्लुमा लालपूर्जासम्बन्धी केन्द्रीय कार्यालयबाट कर्मचारी खटाउन कुनै आधिकारिकता नआएको बताउनुभयो । उहाँले उच्चस्तरीय विशेष आयोगविना भुम्लुको समस्या समाधान गर्न नसकिने पाइएको बताउनुभयो ।

उहाँले जिल्लास्थित नापी र मालपोत कार्यालयबाट मात्रै सम्भव नदेखिएकाले सम्बन्धित मन्त्रालय, तहगत सांसद तथा स्थानीय जनप्रतिनिधिको समन्यवमा समस्या समाधान गर्न आफू प्रक्रियामा जाने बताउनुभयो । विभाग र मन्त्रालयको स्पष्ट नीति र निर्देशन नभएका कारण विवादित जग्गाको नापजाँच तथा पूर्जा बनाउन समस्या परेको जनाइएको छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..