कक्षा ११ को पाठ्यक्रम अदालती निर्णयको प्रतीक्षामा

चालू शैक्षिक सत्रदेखि सुरु भएको कक्षा ११ मा नयाँ पाठ्यक्रम पढाउने वा पुरानो भन्नेमा अन्योल देखिएको छ ।

सरकारले चालू शैक्षिक सत्रदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरी त्यसको ‘सर्कुलर’ गरेको भए पनि अदालतमा यो विषय विचाराधीन छ ।

सर्वोच्च अदालतले कात्तिक १९ गते नयाँ पाठ्यक्रम लागू नगर्न अन्तरकालीन आदेश गरेको छ, पूर्ण फैसला आएको छैन ।

यो अवस्थामा नयाँ पढाउने वा पुरानो भन्नेमा अन्योल देखिएको हो । यो अन्योलको अवस्थामा विद्यालयले आफूखुसी नयाँ वा पुरानो पाठ्यक्रम पढाउने गरेको पाइएको छ ।

यस पटकदेखि कक्षा ११ मा सामाजिक तथा जीवनोपयोगी शिक्षालाई अनिवार्य विषयमा थप गरिएको छ ।

योसँगै कक्षा ११ मा तीनवटा विषय अनिवार्य गरिएको छ । पुरानो पाठ्यक्रममा भने अङ्ग्रेजी र नेपाली गरी दुई विषय मात्रै अनिवार्य विषयमा राखिएको थियो ।

नयाँ पाठ्यक्रम अनुसार पठनपाठन गर्ने सरकारी तयारीसँगै जनक शिक्षा सामग्री केन्द्रले यस पटक कक्षा ११ का तीनवटै अनिवार्य विषयको पुस्तकसमेत प्रकाशित गरिसकेको छ ।

विगतमा साउनदेखि सुरु हुने कक्षा ११ को पठनपाठन यस वर्ष कोरोना महामारीका कारण केही ढिला गरी सुरु भएको छ तर यस पटक शैक्षिक सत्रको गणना कहिलेदेखि गर्ने भन्नेमै स्पष्ट हुन बाँकी छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..