ओली दाहाल बैठक सकियो, भोलि सहमति गर्ने निष्कर्ष

124269694nekapa baithak

फुटको संघारमा पुगेको सत्तासिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षको निर्णायक भनिएको वार्ता सकिएको छ। बालुवाटारमा प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आ–आफ्नो पक्षका साक्षी नेतासहित छलफल गरेका हुन्। शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्केपछि प्रचण्ड सोझै बालुवाटार हानिएका थिए।

बालुवाटार छलफलमा ओलीको तर्फबाट नेताहरु विष्णु पौडेल र शंकर पोखरेल तथा प्रचण्डको तर्फबाट वर्षमान पुन र जनार्दन शर्मा पनि सहभागी थिए। ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने दाहालको माग छ । तर दुवै पदबाट राजीनामा नदिने बरु छुट्टै पार्टी घोषणा गर्ने चेतावनी ओलीले दिएका छन् ।

दुवै अध्यक्ष आ–आफ्नो अडानमा टसमस नभएपछि पार्टी फुट्न सक्ने सम्भावना प्रबल बन्दै गएको छ। शनिबार साँझ मन्त्रीहरुलाई बालुवाटार बोलाएर ओलीले पार्टी फुट्न सक्ने आशय व्यक्त गर्दै आ-आफ्नो कित्ता क्लियर गर्न निर्देशन दिएका थिए। बैठकपछि स्थायी समिति सदस्य जनार्दन शर्माले सबै कोणबाट छलफल भएको तर टुंगोमा पुग्न नसकिएको जानकारी दिए । उनका अनुसार नेताहरुबीच सहमतिका लागि अझै बाँकी उपायहरु अपनाउने र भोलिको वार्ताले यसको छिनोफानो हुनेछ ।

‘छलफल भयो। विगतमा भएका समझदारीका आधारमा सहमति खोज्ने र भोलिको स्थायी कमिटी बैठकअघि दुई अध्यक्षबीच छलफल हुनेछ,’ बैठकमा सहभागी नेता वर्षमान पुनले नेपालखबरसँग भने, ‘असमझदारी बढाउने गतिबिधि नगर्ने सहमति भएको छ।’

Kantipath Media

यो छुट्टाउनु भो कि..