भारतीय कारभित्र मृत भेटिएका तीनै जना दलित बालकको पहिचान खुल्यो

दाङको तुलसीपुरमा एक भारतीय कारमा शनिबार मृत फेला परेका तीन बालकको पहिचान खुलेको छ । तुलसीपुर उपमहानगरपालिका ६ स्याउली बजारमा रोकिराखेको भारतीय आरजे ०१ सीसी ०८८५ नम्बरको गाडीमा कुहिएको अवस्थामा तीन बच्चाको शव भेटिएको थियो ।

मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका ६ बस्ने भीमबहादुर परियारका ९ वर्षीय छोरा सन्दीप परियार, सोही ठाउँका सन्तोष परीयारका ७ वर्षीय छोरा सुवर्ण परियार र सोही ठाउँका किरण परियारका ६ वर्षीय छोरा करण परियार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले बताए ।

शव पहिचान हुन नसकेपछि प्रहरीले स्थानीयलाई खबर गरेको थियो । मृतक बालकका परिवारले लगाएको कपडाका आधारमा बालकको सनाखत भएको हो । अभिभावकहरूले १६ गते बच्चा हराएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

गाडी केही दिनअघि नै त्यहाँ रहेको स्थानीयले बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । माघदेखि पार्किङ गरी राखेको गाडीभित्र तीन वटा शव फेला परेको छ,’ सिंहले भने, ‘घटना गम्भीर छ, हामी सूक्ष्म अध्ययन गरिरहेका छौं ।’

यसरी भेटियो कारभित्र शव
बा ३ ख ३४३८ नम्बरको बसका चालक तथा गाडी धनी अरुण बुढा मगरले शनिबार बेलुका साढे ५ बजेतिर पानी लिएर आएको ट्रयाक्टरलाई साईड दिन पार्किङ गरि राखेको आफ्नो बस ब्याक गर्न आए । घटनास्थलको दश मिटर जति टाढा सडकको नाला निर्माण भइरहेको छ । त्यहीँ सडकमा उनको गाडी लकडाउनका कारण पार्किङमा राखिएको छ ।

बुढामगर घटनास्थल नजिकै बस्छन् । उनले पानी बोकेर आएको ट्रयाक्टरलाई साईड दिएपछि फेरि त्यही ठाउँमा गाडी रोकेर राखे । ठिक त्यही बेलामा उनकै घरमा बस्ने एक जना फुच्चे केटाले ‘दाइ यो कारको त लाईट बलेको छ नि, भनेर देखाइदिए ।’

अघिपछि बत्ति नबल्ने कारका सबै बत्ति कसरी बले भनेर हेर्न उनी कार नजिक पुगे । त्यसको वरिपरी अन्य घर पनि छन् । तर, जब उनी कार नजिक पुगे कारको बुनोटभरि झिँगा भन्केको देखे । यसो नियालेर हेर्दा मानिस भित्र नाङ्गै सुतेझैं देखे ।

त्यो देखेर उनी चिच्याउँदै भागे । आसपासका मानिसलाई यो गाडी भित्र केही छ भनेर बोलाए । नजिकै घर घएका दुई(चार जना मानिसहरु जम्मा भए । त्यसपछि फेरि उनीहरू सँगै गएर हेर्दा गाडी भित्र तीन वटा बच्चाका शब देखे ।

त्यसपछि घटनाबारे प्रहरीलाई खबर भयो । प्रहरी पुगेर वरिपरी घेरा हालेर राख्यो । केही बेरमा त्यो कुरा जताततै फैलियो । मानिसहरु जम्मा भए ।

केही आफन्तहरु आफ्ना बालबालिका रहेको भन्दै रातिमा घटनास्थलमा बिलौना गरिरहेका देखिन्थे ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..