प्रहरीको कुटाइबाट बालकको मृत्यु भएको स्थानीयको आरोप, दर्जन बढी घाइते

प्रहरीको कुटाइबाट बालकको मृत्यु भएको भन्दै स्थानीयले जिल्ला प्रहरी कार्यालय जुम्ला घेराउ गरेका छन् । मृतकका आफन्तले चर्को आन्दोलनसहित जिल्ला प्रहरी कार्यालय घेराउ गर्दा खलंगा बजार तनावग्रस्त बनेको छ ।

जिल्लाको गुठीचौर गाउँपालिका –३ का १४ वर्षिय पदम बुढाको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । मृतक बुढा सहित उनका सात जना साथीहरु माघ १८ गते जिल्ला प्रहरी कार्यालयमा पुगेका थिए ।

मृतकलाई मोबाइल चोरीको आरोपमा प्रहरीले सामान्य सोधपुछ गरेको डिएसपी प्रहरी माधव काफ्लेले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयमा ल्याएर छलफल र सोधपुछ पछि उनलाई छोडिएको प्रहरीले बतायो । यद्यपी मृतकका आफन्तले भने प्रहरीका कुटाइबाट मृत्यु भएको दावी गर्दै प्रहरी कार्यालय घेराउ गरेका छन् । अहिले स्थीति तनावग्रस्त बनेको छ । भिडलाई नियन्त्रण गर्न प्रहरीले लाठीचार्ज र अस्यू्र ग्यास प्रहार गरेको छ ।

१४ वर्षीय पदम बुढा उपचारको लागि माघ ३० गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल पुगेका थिए । उनको खुटामा चोट लागेर सुनिएको अवस्थामा उनी उपचारका लागि अभिभावकसँग अस्पताल पुगेका थिए । अस्पतालका निर्देशक अनुप मंगल समालका अनुसार ओपिडिमा उपचार गराउन आएका बुढाको अवस्था नाजुक भएपछि फागुन ४ गते आइसियुमा राखेर उपचार थालिएको थियो ।

अस्पतालमा हाडजोर्नी, सर्जरी लगायतका धेरै विभाग र विशेषज्ञ चिकित्सकहरुले उपचार गरेका थिए । उनको स्वास प्रश्वासमा समेत समस्या देखिएपछि आइसियुमा राखेर उपचार थालिएको उनले बताए । रगतको टुक्राहरु फोक्सामा पुगको कारण बिरामीलाई बचाउन सकिएन् । यद्यपी,मोवाइल चोरी गरेको आरोपमा प्रहरीले जिप्रकामा ल्याएर निर्मम तरिकाले कुटपिट गरेको कारण बुढाको मृत्यु भएको आफन्तले दावी गरिरहेका छन् ।

गुठीचौर गाउँपालिका –३ गज्याङ्गकोटका स्थानीयले घटनाको सत्यतथ्य छानविन गरी दोषिलाई कारबाहीको माग गर्दै सदरमुकाम खलंगामामा आन्दोन गर्दा प्रहरी र आन्दोलनकारी बीच झडप भएको हो । झडपमा आधा दर्जन बढी मृत्यकका आफन्त घाइते भएका छन् भने घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । रातोपाटी

Kantipath Media

यो छुट्टाउनु भो कि..