कृत्रिम अभाव रोक्न बजार अनुगमन

कोभिड–१९ सङ्क्रमणका कारण सुर्खेतमा जारी निषेधाज्ञामा खुला गरिएका अत्यावश्यक खाद्यान्न, फलफूल, तरकारी तथा स्वास्थ्यसँग सम्बन्धित पसलहरुको स्थलगत अनुगमन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको संयोजकत्वमा शनिबार यहाँका औषधि पसल, खाद्यान्न पसल, तरकारी पसल, सब्जी मण्डीलगायत अन्य पसलहरुको अनुगमन गरिएको हो । निषेधाज्ञाका बेलामा बजारमा कालोबजारी हुने तथा कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई मर्कामा पार्ने काम हुने भएकाले स्थलगत अनुगमन गरिएको सहायक प्रजिअ महतले बताए । उनले भने, “औषधि पसलहरुमा मास्क र सेनिटाइजरको प्रयोग तथा बिक्री दरलगायतको बारेमा बुझिएको छ ।”

त्यस्तै वीरेन्द्रनगरका १३ वटा दैनिक उपभोग्य वस्तुका पसल तथा तरकारी मण्डीको अनुगमन गरिएको छ । अनुगमनका क्रममा विशेषगरी तेलको प्रतिपोका रु १३९ भएर आएको र पिठोको मूल्यसमेत वृद्धि भएको पाइएको सहायक प्रजिअ महतले बताए । तेलको मूल्यको विषयमा बुझेर त्यसको मूल्य नियन्त्रण गरिने उनले बताए ।

दैनिक उपभोग्य वस्तुहरु आयात गर्ने कुनै पनि गाडी नरोकिएकाले कुनै व्यापारीले अस्वाभाविक मूल्य वृद्धि गराएको पाइएमा कारवाही गरिने चेतावनी दिँदै उनले व्यापारीहरुलाई स्वास्थ्य मापदण्ड अपनाएर तोकिएको समयभित्र सामान बिक्रीवितरण गर्न सुझाव दिइएको बताए ।

सहायक प्रजिअ महतका अनुसार बाहिरबाट आउने सामग्रीको सुब्बाकुना सुर्खेत र वीरेन्द्रनगर बजारका तरकारी मण्डी तथा खाद्य पसल व्यापारीहरुलाई दैनिकरूपमा उपभोग्यवस्तु तथा तरकारीहरुको मूल्य सूचीको प्रतिलिपि जिल्ला प्रशासनमा बुझाउन पनि निर्देशन दिइएको छ ।

निषेधाज्ञाको समयमा गरिएको अनुगमनबाट उपभोक्ता तथा सर्वसाधारणलाई व्यापारीले ठगी गर्न नपाउने र यो निरन्तर रहने जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । अनुगमनमा प्रशासनसहित उद्योग वाणिज्य सङ्घ, नेपाल पत्रकार महासङ्घ सुर्खेत र सुरक्षा निकायको सहभागिता रहेको थियो ।

सुर्खेतमा यही वैशाख १४ गतेदेखि २१ गतेसम्म कोरोना रोकथाम, नियन्त्रण, उपचार तथा प्रतिकार्यका लागि निषेधाज्ञा जारी गरिएको छ ।

दश सङ्क्रमितको मृत्यु
सुदूरपश्चिम प्रदेशमा शनिबार १० कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार पछिल्लो २४ घण्टामा कञ्चनपुरका पाँच पुरुष र एक महिला, कैलालीका दुई महिला र एक पुरुष तथा बझाङका एक पुरुषको मृत्यु भएको छ ।

शनिबार प्रदेशमा पिसिआर पद्धति र एन्टिजेन पद्धतिबाट एक हजार ४१५ को नमूना परीक्षण गर्दा ४३३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । हालसम्म एन्टिजेन परीक्षणबाट सङ्क्रमण भएकामध्ये २० र पिसिआर परीक्षणबाट सङ्क्रमण भएकामध्ये ८० जनाको मृत्यु भएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।

सुदूरपश्चिमको रेफरल अस्पताल सेती प्रादेशिक अस्पताल मातहतको कोरोना अस्थायी अस्पतालमा ५९ सङ्क्रमित उपचाररत रहेकामध्ये तीन जना भेन्टिलेटरमा र १७ जनाको सघन उपचार कक्षमा राखेर उपचार व्यवस्थापन भइरहेको छ ।

अक्सिजनको सहयोग लिएर ३४ र ‘मोडरेड केस’ पाँच जनाको उपचार भइरहेको छ । कोरोना अस्थायी अस्पतालमा बिरामीको चाप बढ्दा सहजरूपमा उपचार व्यवस्थापन गर्न समस्या भइरहेको स्वास्थ्यकर्मीले बताएका छन् । कोरोना सङ्क्रमण र मृत्यु दर उच्च हुँदा सक्रिय बिरामी पनि बढेका छन् । प्रदेशमा एक हजार ८५२ सक्रिय बिरामी पुगेका छन् ।

दुई सय ७० सवारी साधन कारवाहीमा
जिल्ला प्रहरी कार्यालय सुनसरीले शनिबार अटेर गरी सडकमा गुडाइएका २७० सवारी साधन नियन्त्रणमा लिई कारवाही गरेको छ । निषेधाज्ञाको समयमा लगाइएको जोर बिजोर प्रणाली नमानी गुडाइएका सवारी नियन्त्रणमा लिई कारवाही गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताउनुभयो ।

पहिलो दिन धेरैजसोलाई सम्झाइबुझाई छाडिएको उहाँले जानकारी दिनुभयो । नियन्त्रणमा लिइएका सवारी साधनमा मोटरसाइकल २०७, तीन पाङग्रे ५८ र चार पाङग्रे पाँच वटा नियन्त्रणमा लिइएको छ ।

इनरुवाको महेन्द्रचोक क्षेत्र सिल

सुनसरी प्रशासनले शनिबार इनरुवा–३ स्थित महेन्द्रचोक क्षेत्र सिल गरेको छ । तीन दिनको अवधिमा कोरोना सङ्क्रमणबाट एकै परिवारका दुईको मृत्यु र सात जना सङ्क्रमित भएपछि तत्काललाई सो क्षेत्र सिल गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो ।

अर्को सूचना जारी नभएसम्मका लागि महेन्द्रचोक क्षेत्र सिल गरिएको उहाँले जानकारी दिनुभयो । सङ्क्रमण फैलन सक्ने अवस्थालाई मध्यनजर गर्दै सिल गरिएको प्रजिअ ढकालले बताउनुभयो । चोक क्षेत्र सिल गराउन नगर प्रमुख राजन मेहता स्वयं सो स्थान पुग्नुभएको थियो ।

जोखिम बढेकाले सिल गर्ने निर्णयमा पुग्नुपरेको भन्दै विषम परिस्थितिमा घरमै बसी कोरोना नियन्त्रणमा सघाउ पुर्याउन नगरवासीलाई उहाँले आग्रह गर्नुभयो ।

BK
http://kantipath.com

यो छुट्टाउनु भो कि..