संसद जोगाएर माधव नेपाललाई फेरी नायक बन्ने अवसर

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा सांसदहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने स्पष्ट पारेका छन् । उनीहरूले यसबारेमा अहिले पार्टीले निर्णय गर्नुपर्ने आवश्यक नरहेको भन्दै आफूहरू पहिलेदेखि नै संसद पूर्णकाल चल्नुपर्ने पक्षमा उभिएकाले अहिले पनि जे गर्दा संसद पुरा अवधि चल्न सक्छ सोही गर्ने बताए ।

‘हामीले संसद् पूर्णकालीन चल्नुपर्छ भन्दै आएका हौ र त्यसका लागि प्रयास गर्दै पनि आएका हौ’, माधव नेपाल समूहका सांसद विरोध खतिवडाले भने, ‘यसमा निर्णय गरिरहनुपर्ने आवश्यकता छैन ।’ यदि देउवाले विश्वासको मत गुमाए पुन संसद् विघटन हुनेछ ।

त्यस्तै अर्का सांसद मेटमणि चौधरीले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने बताए । ‘हामी विश्वासको मत दिन्छौ, यसमा कुनै भ्रम छैन’, चौधरीले भने, ‘संसद् पुरा अवधि कायम रहनुपर्छ भन्ने हाम्रो भनाइ हो ।’ नेपाल पक्षकै एक सांसदले भने आज संसद जोगाएर माधव नेपाललाई फेरी नायक बन्ने अवसर आएको छ ।

देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने दाबीमा नेपाल समूहका २६ सांसदले हस्ताक्षर गरेर दिएका थिए । तीमध्ये योगेश भट्टराई, गोकर्ण विष्ट र गणेश पहाडीले भने सर्वोच्च अदालतमा रिट दायर गर्दा हस्ताक्षर गरेनन् । रिटमा हस्ताक्षर गर्ने २३ सांसदमा माधवकुमार नेपाल, झलनाथ खनाल, भीमबहादुर रावल, सुरेन्द्र पाण्डे (वारेसमार्फत), भवानी खापुङ, राजबहादुर बुढा, यज्ञराज सुनुवार, विरोध खतिवडा, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, नारायण खतिवडा, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, मेटमणि चौधरी, झपट रावल, दीपकप्रकाश भट्ट, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कल्याणी खड्का, निरादेवी जैरू, लक्ष्मीकुमारी चौधरी र मुकुन्द न्यौपाने थिए ।

सर्वोच्चको रिट दायरमा हस्ताक्षर गर्नेमध्ये कार्यदलमा रहेका बाहेकका अधिकांश सांसद देउवालाई विश्वासको मत दिने पक्षमा उभिएका छन् । ‘हामी देउवालाई विश्वासको मत दिने पक्षमा छौँ,’ नेपाल समूहमा रहेका सांसद मेटमणि चौधरीले भने, ‘विश्वासको मत दिने वेलासम्म एमालेबाट यो संख्या ४० हुँदै बढेर ५० सम्म पनि पुग्न सक्छ ।’

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..