शिक्षाका साझा सूचीमा समीक्षा हुनुपर्छ : सभापति देउवा

dewa

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानमार्फत शिक्षाको साझा सूचीमा गएका विषयको समीक्षा गरिनुपर्ने बताउनुभएको छ ।

dewaनेपाल शिक्षक सङ्घको सङ्घीय प्रतिनिधिसभा उद्घाटन समारोहलाई शनिबार राजधानीमा सम्बोधन गर्नुहुँदै सभापति देउवाले शिक्षाका सन्दर्भमा गरिएका व्यवस्थाको समीक्षा गर्नुपर्ने हालसम्मको अभ्यासबाट देखिएकाले त्यसतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभएको हो । शिक्षाका विषयमा संविधानमा व्यवस्था कार्यान्वयन हुँदा पनि समस्या समाधान नभएकाले समीक्षा गर्नु जरुरी रहेको पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले बताउनुभयो ।

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विभिन्न क्षेत्रमा देखिएका बेथितिलाई थितिमा राख्न पार्टीको नेतृत्वमा सरकार निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । संविधान निर्माणपछि देश आर्थिक समृद्धितिर अघि बढ्नुपर्नेमा त्यस्तो हुन नसकेको उहाँको जिकिर थियो ।

कार्यक्रममा सङ्घका पूर्व अध्यक्ष केशव भट्टराई, मोहन ज्ञवाली, केशव निरौला, नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यलगायतले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरोकार भएका निकायको ध्यान जान नसकेको बताउनुभयो ।

स्थानीय तह, जिल्ला र प्रदेशमा शिक्षकको सभा सम्पन्न गरेपछि केन्द्रीयस्तरमा कार्यक्रम गरिएको अध्यक्ष राजेन्द्रराज पौडेलले बताउनुभयो । सोमबारसम्म चल्ने सभामा देशभरका करिब ७०० शिक्षकको सहभागिता छ । सभाले गरेका निर्णय मङ्गलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने पनि उहाँले सुनाउनुभयो ।

माछापालनप्रति किसानको आकर्षण बढ्दै
कुश्मा नगरपालिकाका युवा माछापालनमा आकर्षित भएका छन् । नगरपालिकाको वारी अम्बोट, दोविल्ला, पकुवा, चुवा, खुर्कोट र पाङमा व्यावसायिक माछापालन फस्टाउँदै गएको हो ।

सरकारी निकायको अनुदान र किसानको मेहनतका कारण पछिल्लो समयमा माछापालन व्यवसाय बढ्न थालेको छ । मोदीखोला र कालीगण्डकी किनारमा व्यावसायिक माछापालन गर्ने बढेका छन् ।

सो नगरपालिकाका पशुसेवा शाखाका प्रमुख मित्रलाल सापकोटाका अनुसार कुश्मामा व्यावसायिक माछापालन गर्ने किसानको सङ्ख्या ४० पुगेको छ । नगरपालिकाले कोरोना कारण र अन्य कारणले विदेशबाट फर्किएका युवालाई वस्तुगत सहायता दिँदै आएको छ ।

नगरको सहायताका कारण माछापालनमा युवाको आकर्षण बढेको पशुसेवा प्रमुख सापकोटाले जानकारी दिनुभयो । सापकोटाले किसानलाई माछा पोखरी निर्माण र माछाका भुरा नगरपालिकाले वितरण गरेको बताउनुभयो ।

“किसानलाई गत वर्ष पोखरी बनाउन सहयोग गरेका थियौँ”, सापकोटाले भन्नुभयो, “यस वर्ष भुरा वितरण गरेका छौँ ।” किसान उत्साही भएर माछापालनमा लागेको उहाँले बताउनुभयो । नगरपालिकाले शुक्रबार २२ किसानलाई भुरा वितरण गरेको छ ।

मागका आधारमा किसानलाई २५ हजार माछाका भुरा वितरण गरिएको हो । मागका आधारमा किसानले ५०० देखि पाँच हजार भुरा प्राप्त गरेका छन् । माछाका भुरा पाएपछि व्यवसायलाई थप प्रेरणा प्राप्त भएको किसान देवी क्षेत्रीले बताउनुभयो ।

क्षेत्रीले छ वर्षदेखि व्यावसायिक माछापालन गर्दै आउनुभएको छ । उहाँले आफूसँग छ हजार माछापालन गर्ने क्षमताका पोखरी रहेको जानकारी दिनुभयो । “लकडाउनको बेला मैले रु डेढ लाखका माछा बेँचे”, उहाँले भन्नुभयो, “बजारको माग धान्नै मुस्किल छ ।” मोदीखोला र कालीगण्डकी किनारमा माछापालन गर्ने किसान बढ्दै गएका छन् ।

नगरपालिकाले किसानको आकर्षण बढेपछि सहायता गर्न थालेको जनाएको छ । नगरप्रमुख रामचन्द्र जोशीले व्यावसायिक माछापालनलाई आगामी वर्ष थप बढाउने सोच रहेको बताउनुभयो । उहाँले उपयुक्त हावापानी र राम्रो बजार रहेको हुनाले नगरपालिका माछा ब्लक नै बनाएर किसानलाई सहयोग गर्ने योजनामा रहेको सुनाउनुभयो ।

Kantipath Media

यो छुट्टाउनु भो कि..