मन्त्री बन्न दिनानाथको चर्को लबिङ्ग : खुमलटारमा दैनिक दौडधुप !

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा नेकपा (माओवादी केन्द्र)बाट २ जना मन्त्री नियुक्त भइसकेका छन्। जसमा अर्थमन्त्री जनार्दन शर्मा र उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल छन्। माओवादीले सबै समुदाय र भूगोलको समेत प्रतिनिधित्व हुनेगरी मन्त्री बनाउने तयारी गरेको छ। जसअनुसार स्थायी समितिमा रहेका नेताहरुमध्येबाट नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, देवप्रसाद गुरुङलगायतको नाम मन्त्रीका रुपमा चर्चामा छ। यीमध्ये श्रेष्ठले उपप्रधानमन्त्रीसहित सरकारमा जाने इच्छा देखाएको माओवादी स्रोत बताउँछ। सुदन किराती, सन्तकुमार थारु र महेश्वर गहतराजको नामसमेत मन्त्री हुने चर्चामा रहेको माओवादी केन्द्रका एक नेताले बताए।

मधेशबाट यसपटक मन्त्रीका लागि अमनलाल मोदी र शिवकुमार मण्डलको नाम चर्चामा छ। महिलाबाट पम्फा भुसाल मन्त्री भइसकेकाले अब बढीमा २ जना महिला नेताले मन्त्री हुने अवसर पाउने बताइन्छ। त्यसो भएमा जयपुरी घर्ती, अन्जना विशंखे र शशी श्रेष्ठमध्येबाट मन्त्री हुने बढी सम्भावना छ। नारायणकाजी श्रेष्ठ मन्त्री नभएमा उनको समूहबाट अन्जना बिशंखे र शशि श्रेष्ठमध्ये एक जना मन्त्री हुन सक्ने देखिएको छ। नारायणकाजी मन्त्री भएमा चाहिँ जयपुरी घर्तीको मन्त्री बन्ने सम्भावना बलियो छ।

केहि समय अगाडी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना पार्टीका ४९ जनाले नै मन्त्री बन्न खोजेपछि आफू तनावमा परेको बताएका थिए। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्मचार्यको ८ औं स्मृति दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले आफ्नो पार्टी नेकपा माओवादीका सबै सांसदले मन्त्री चाहेको बताए।

‘४/५ दिनदेखि मानसिक तनावमा छु म, सबै ४९ जनालाई नै मन्त्री बनाउन मिले त बनाइदिनु हुन्थ्यो’ उनले भने, ‘कुरा आदर्शको गर्ने तर चित्त चाँहि मन्त्री पाइन्छ कि पाइदैन भन्ने छ।’ प्रचण्डले नरबहादुर कर्मचार्यको आदर्शबाट पार्टी नेता कार्यकर्ताले सिक्नुपर्ने बताए। प्रचण्डलाई यसो भन्न बाध्य बनाउने पात्र भने अरु कोहि नभएर राष्ट्रियसभाका माओवादी संसदीय दलका नेता दिनानाथ शर्मा रहेको खुमल्टार निकट स्रोतले बतायो । केहि अनलाईनमा मन्त्री बन्न नपाए आत्महत्या गर्छु भन्दै बैठक मै प्रचण्डलाई हरिबोल गजुरेलले धम्क्याएको भनिएता पनि उक्त तहमा पुगेर प्रचण्डसंग लबिङ्ग गर्नेमा दिनानाथ शर्मा पनि हुन् ।

खुमलटार निकट स्रोतले जनाए अनुसार शर्माको आजकल बास नै प्रचण्ड निवास हुने गरेको छ । नेकपा हुँदा पनि संसदीय दलको नेता बनेर लाभको पद लिएका शर्मा झन्डै-झन्डै ओलीतिर लाग्नेमा पर्छन । माओवादीको प्रवक्ता समेत रहेका शर्माको मन्त्री बन्ने सम्भावना लगभग टुंगिएको छ किनभने उनकै जिल्लाका स्थायी समिति सदस्य देवेन्द्र पौडेलको सम्भावना छ । माओवादीको स्थायी समिति सदस्य मध्ये उनी मात्र मन्त्री बन्न बाँकी रहेका छन् ।

दीनानाथ शर्मा जनयुद्धको उत्कर्षतिर मोहनविक्रम सिंहलाई छाडेर माओवादीमा प्रवेश गरेका थिए। शर्मा अन्तरिम व्यवस्थापिकामा माओवादी दलको प्रमुख सचेतक भएका थिए। १८ वर्षसम्म शिक्षण पेशा गरेका शर्मा प्रधानमन्त्री डा बाबुराम भट्टराईको मन्त्रिमण्डलमा शिक्षामन्त्री समेत भए। पार्टीको प्रवक्ता, प्रमुख सचेतक, संसदीय दलको नेता, मन्त्रीसमेत बनेका नेता शर्माले बाग्लुङकै देवेन्द्र पौडेललाई मन्त्री बन्नबाट रोक्न खोजेका छन्।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..