प्रहरीको ‘घुमुवा टोली’ नै गाँजा तस्करीमा

धनकुटाबाट विराटनगर हुँदै भारततिर कटाउने गरिएको लागुऔषध गाँजाको कारोबार र ओसारपसारको अवैध धन्दामा सुरक्षाकर्मीले नै साथ दिइरहेको पाइएको छ । विशेष गरेर यो धन्दामा सशस्त्र प्रहरीले सहयोग गरिरहेको पाइएको छ ।

धनकुटामा उत्पादन हुने गाँजा लुकाईछिपाई विराटनगर पु¥याई भण्डारण गर्ने र मौका पर्नासाथ सीमानाका हुँदै भारततिर कटाउने गरिएको फेला परेको हो । तस्करी गरेर भारत पु¥याउनकै लागि धनकुटाबाट झिकाएर गाँजा विराटनगरमा भण्डारण गर्ने गरिएको पत्ता लागेको छ ।

विराटनगरमा भण्डारण गरिने गाँजा सीमा नाकामा खटिने सुरक्षाकर्मीलाई छल्नसाथ भारत कटाउने गरिएको हो । गाँजाको अवैध ओसारपसार र कारोबारलाई सहज बनाइदिएवापत सुरक्षाकर्मीले कारोबारीसँग असुलीसमेत गर्ने गरेको पाइएको छ ।

भारततिर कटाउन तयारी अवस्थामा राखिएको १८ किलो गाँजा विराटनगर महानगरपालिका–६ ब्रह्मपुरास्थित एउटा घरबाट प्रहरीले शुक्रबार दिउँसो बरामद गरेको छ । साथै गाँजा कारोबारमा संलग्न एक भारतीय नागरिकसहित तीन जना पक्राउ परे पनि पक्राउ पर्नेको नाम पत्ता लागे पनि उनीहरुको विस्तृत विवरण प्रहरीले खुलाउन चाहेको छैन ।

गाँजा भण्डारण गरिएको घर नखुलाउनु, पक्राउ परेकाको विवरण सार्वजनिक नगरिकनु र यति ठूलो परिणाममा गाँजा बरामद हुनुले अवैध धन्दामा सशस्त्र र नेपाल प्रहरीको मिलेमतोको पनि आशंका गरिएको हो ।

सशस्त्रमा घुमुवाका रूपमा खटाइएकाहरुले गाँजा ओसारपसार र कारोबारको ‘सेटिङ’ मिलाएर यसको कारोबारमा संलग्नलाई सहयोग गरिरहेका हुन्छन् । विभिन्न स्थानमा चेकजाँचमा खटिएर पनि बीच बाटोबाटै पक्राउ नगर्नुले नेपाल प्रहरीले पनि साथ दिइरहेको पुष्टि हुन्छ ।

विराटनगर प्रवेशको मुख्य नाका सुनसरी भएकाले गाँजा कारोबारमा संलग्नले सुनसरीको सुरक्षा सर्तकतालाई विशेष महत्व दिने गरेको छ ।

विराटनगरबाट प्रहरीले गाँजा कारोबार गर्ने गिरोहमा संलग्न तीन जनालाई बिहीबार पक्राउ गरेको थियो । पक्राउ पर्नेमा भारतीय नागरिक सोनु यादव, सुनसरी देवानगञ्जका रन्जितकुमार यादव र धनकुटा घर भएका रुद्र राई रहेका छन् । गाँजाको सेवनकर्ता रहेको आशंकामा पक्राउ गरिएकाहरुमाथि अनुसन्धान अघि बढाउँदा उनीहरु यसको कारोबारमै संलग्न रहेको खुलेको हो ।

पक्राउ परेकाहरुमाथि अनुसन्धान गर्ने क्रममा उनीहरुले विराटनगरको ब्रह्मपुरामा लुकाएर राखेको अवस्थामा गाँजा बरामद भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।

भारत कटाउनका लागि धनकुटाबाट विराटनगरसम्म ल्याएर गाँजा राखेको पाइएको उनको भनाइ छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेकाहरु लामो समयदेखि लागुऔषध गाँजाको अवैध कारोबारमा संलग्न रहेको खुलेको छ ।

प्रहरी हिरासतमा रहेका रन्जितले गाँजा कारोबारका लागि मध्यस्थकर्ताको भूमिका खेलिरहेको खुलेको छ । प्रहरी स्रोतका अनुसार धनकुटाको छिन्ताङबाट झिकाएर भारतीय कारोबारीसँग सम्पर्क गर्दै र नेपालमा सुरक्षाकर्मीसँग ‘सेटिङ’ मिलाउँदै गाँजा भारत कटाउने गिरोहमा रन्जितको आवद्धता देखिएको हो ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..