विदेशबाट फर्केर सामूहिक तरकारी खेती

Farmerविश्व महामारीका रुपमा फैलिएको कोरोनाले धेरैको भविष्य अन्योल बनाए पनि गुल्मीका युवाले भने नयाँ सोचसहित सामूहिक तरकारी खेती गर्न थालेका छन् । विदेश तथा स्वदेशमा काम गर्ने धेरैका रोजगारसमेत गुमेको बेला यहाँको रेसुङ्गा नगरपालिकाका युवा विदेशबाट फर्केर सामूहिक तरकारी तथा कृषि खेतीमा लागेका छन् ।

रेसुङ्गा नगरपालिक–१० सिमिचौरका ४० वर्षीय राजन कुँवर विगत १० वर्षदेखि मलेसियामा विभिन्न रेष्टुरेन्ट तथा अन्य कम्पनीमा काम गर्नुहुन्थ्यो । व्यक्तिगत कामका लागि गत फगुन २४ गते स्वदेश फर्कनुभयो । त्यसपछि कोरोना महामारी शुरु भयो । विदेशको भिसा पनि कम्पनीले बन्द गरिदियो । परिवार चलाउनकै लागि अर्थोपार्जका विभिन्न उपाय सोच्दै गरेका कुँवरले सामूहिक कृषि खेतीको अवधारणा बनाउनुभयो । अहिले उहाँसहित सिमिचौरका पाँच र रेसुङ्गा नगरपालिका–४ अर्खलेका एक गरी ६ जना मिलेर गत जेठदेखि सिमिचौरमै सामूहिक तरकारी खेती गरिरहनुभएको छ । उहाँसहित टोपबहादुर कुँवर, फर्सुराम कुँवर, रवि कुँवर, सुवास कुँवर र टेकराज कुँवरले सामूहिक तरकारी खेती शुरु गर्नुभएको हो । उहाँहरु सबै वैदेशिक रोजगारीबाट बन्दाबन्दीको समयमा घर फर्कनुभएको हो ।

छ युवाले सिमिचौरकै १० जनाको कूल ७२ रोपनी जग्गा १० वर्षका लागि भाडामा लिएका छन् । उक्त जग्गा छ वर्षदेखि बाँझो थियो । जसले गर्दा खेतमा रूख उम्रिएर जङ्गलमा परिणत भएको थियो । युवाले आफूहरुको परिश्रमसहित कूल रु ६ लाख लगानीमा ५५ रोपनी जङ्गल (खेत) फँडानी गरी अहिले तरकारी लगाएका छन् ।

जग्गाधनीमध्ये केहीले एक वा दुई वर्षको भाडा छुट गरेका छन् । त्यसपछि भने वार्षिक रु ६० हजार जग्गा भाडा बुझाउनुपर्ने राजन कुँवरले बताउनुभयो । खेतमा अहिले पाँच क्विन्टल आलु लगाइको छ । त्यस्तै गोपी, प्याज, काँक्रा, घिरौँलालगायत तरकारीका नर्सरीहरु रहेका छन् । अन्य तरकारीका बेर्नाहरु पनि यामअनुसारका उत्पादन गर्छन् । अहिलेसम्म प्याज, गोपीलगायत बेर्ना बिक्रीबाट मात्रै एक लाखभन्दा बढी आम्दानी भइसकेको छ । अहिले बारीमा बन्दागोभी, लोकल गाजर, साग, मूला, टमाटर, केराउलगायत तरकारी छन् । उत्पादित कृषिजन्य सामग्री सबै रेसुङ्गा नगरपालिकाको हाटबजारमा बिक्री हुने गरेका छन् । कृषि उपज लिन नगरपालिकाको गाडी फार्म नजीकै आउने भएकाले बजारको समस्या नभएको अर्का कृषक फर्सुराम कुँवरले बताउनुभयो ।

विदेशमा काम गर्नेको तुलनामा ६० प्रतिशत मात्रै मिहिनेत गरे राम्रो आम्दानी हुने राजनको भनाइ छ । भविष्यमा आफूहरुले उक्त ठाउँलाई टमाटरको पकेट क्षेत्र बनाउने योजना रहेको उहाँले सुनाउनुभयो । विदेशमा अरूको मातहतमा काम गर्न परे पनि स्वदेशमा ‘आफ्नै हात जगन्नाथ’ हुने उहाँको अनुभव छ । ७२ रोपनीमध्ये बाँकी रहेको केही जग्गा फँडानी गरी तरकारी खेती गर्न तयारी अवस्थामा राखिएको छ । बाँकी रहेको २०÷२२ रोपनी जग्गामध्ये केही भाग फँडानी गरी बाख्रा पाल्ने र केही भाग बाख्राका लागि चरन क्षेत्र बनाउने योजना छ । अब एक÷डेढ महिनाभित्रै खोर बनाउन शुरु गरिने, खोरमा चार सयसम्म बाख्रा पाल्ने र उक्त बाख्राका लागि घाँस पनि लगाउने अर्का कृषक टोपबहादुरले बताउनुभयो ।

सिमिचौरकै २६ वर्षीय सुवास कुँवर रोजगारीको सिलसिलामा अहिलेसम्म तीन देश घुम्नुभयो । शुरुमा मलेसिया जानुभयो । दलालका कारण काम राम्रो नभएपछि उहाँ दुई महिनामै घर फर्कनुभयो । त्यसपछि रोजगारीकै लागि भारत र कतार जानुभयो । तर, कोरोनाका कारण काम बन्द भएपछि उहाँ पुनः घर फर्कनुभयो । गाउँमै केही काम गर्ने सोच बनाएका सुवास सामूहिक खेतीमा भविष्य देखेर काममा होमिनुभयो । आफूको सानैदेखि कृषिमा रुचि भएकाले पनि अहिले तरकारी खेती गर्दा आनन्द लागेको उहाँले सुनाउनुभयो । विदेशमा भन्दा स्वदेशमा काम गर्दा छुट्टै प्रकारको आनन्द आउने उहाँको अनुभव छ । “विदेशमा अरूको मातहतमा बस्नुपर्छ, समयमा तलब आउने ग्यारेन्टीसमेत हुँदैन”, उहाँले भन्नुभयो, “यहाँ त आफ्नै प्रकारको स्वतन्त्रता छ ।”

सामूहिक कृषि खेतीमा लागेका अर्का सदस्य ३७ वर्षीय टेकराज विगत पाँच वर्षदेखि मलेसिया हुनुहुन्थ्यो । कोरोनापछि गाउँ बस्ने सोच बनाएर शुरु गरेको तरकारी खेतीबाट उहाँलाई सन्तुष्टि मिलेको छ । अहिले आफूहरुलाई काम गर्नका लागि विभिन्न कृषि सामग्री फार्मसम्म पु¥याउन तथा उत्पादित कृषिजन्य उपजहरु बजारसम्म लैजान मोटरबाटोको समस्या तथा सिँचाइका लागि पानी भए पनि पाइपको समस्या रहेको उहाँले गुनासो गर्नुभयो ।

त्यस्तै विभिन्न कृषिजन्य सामग्री जस्तै हाते ट्र्याक्टर, टनेल, बीउ तथा आवश्यक मललगायत सामग्री पाए उत्पादनमा वृद्धि हुने उहाँले बताउनुभयो । मलेसियामा वार्षिक चारदेखि पाँच लाख आम्दानी हुने गरेकामा यहाँ त्योभन्दा बढी हुने उहाँको अपेक्षा छ ।

रेसुङ्गा नगरपालिकाका कृषि शाखाप्रमुख हरिशरण पन्थीले नगरपालिकाभित्रका व्यावसायिक कृषि फार्मलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम बनाएको बताउनुभयो । नगरपालिकाले कृषकलाई तालीम, अनुदान, युवा लक्षित कार्यक्रम, हाते ट्र्याक्टर, स्प्रेयरजस्ता सामग्री प्रदान गरिएको पन्थीले बताउनुभयो । कृषकको उत्पादनलाई बजारको ग्यारेन्टी नगरपालिकाले गरेको र यसबाट धेरै कृषक लाभान्वित भएको उहाँले जानकारी दिनुभयो । नगरपालिकाले हाटबजार सञ्चालन गरीे तोकेको दरमा जुनसुकै प्रकारका कृषि उपजहरुको बजारको ग्यारेन्टी गरेको पन्थीको भनाइ छ ।

दाङमा माघीको रौनक
थारू जातिको महान् पर्व माघीको रौनक छाएको छ । माघे सङ्क्रान्ति नजिकिएसँगै दाङका आदिवासी थारू बस्तीमा चहलपहल बढेको छ । थारू समुदायले नयाँ वर्षका रुपमा यो पर्व मनाउने गर्छन् । यो पर्वका अवसरमा थारू समुदायमा गाउँका महतवा (अगुवा) को घरमा जम्मा भएर वर्षभर योजना बनाउने परम्परा छ ।

यसपालि थारू बस्तीमा खानपिनको मात्र कार्यक्रम हुने र कोभिड–१९ का कारण नाचगानलाई छरछिमेकीसँग मात्र सीमित गर्ने कार्यक्रम रहेको गढवा गाउँपालिका–३ का कमल चौधरीले जानकारी दिनुभयो । भीडभाड नगर्ने र रमाइलोका लागि एकै ठाउँमा नाचगान गर्ने कार्यक्रम रहेको उहाँको भनाइ छ ।

माघी पर्व आउनुभन्दा एक महिनाअघिदेखि विभिन्न तयारी गर्ने चलनअनुसार थारू समुदाय यसको तयारीमा जुटेका हुन् । गाउँगाउँमा रातभर आगो बाल्ने चलनअनुसार दाउरा सङ्कलन, धान कुटानपिसान र अन्य खानाका परिकारको चाँजोपाजो मिलाउन थारू समुदायका महिला व्यस्त रहन्छन् । ढिर्की पकाउने, अनदीको विशेष झोल, अनदीको रोटीलगायत विशेष मीठामीठा परिकारको जोहो माघमा गर्ने चलन छ ।

माघीको अघिल्लो दिन रातभर आगोको धुनी बालेर ताप्ने गर्दछन् । गाउँभरिका मानिस एकै ठाउँ जम्मा भएर आगो ताप्ने र भालेबासेसँगै नदी या खोलामा नुहाउने गर्दछन् । नुहाएर आएपछि आफूभन्दा ठूलालाई ढोग गरी घरमा आएपछि खिचडी दान गर्ने प्रचलन थारू समुदायमा छ । खिचडीमा मासको दाल, चामल र नुन राखिएको हुन्छ । यो खिचडी पुर्खा, देवीदेवता र चेलीबेटीका लागि छुट्याइएको हुन्छ । छुट्याइएको खिचडी घरका सदस्यले खान मिल्दैन र त्यो पाहुर (कोसेली)का रुपमा चेलीबेटीका घरमा पु¥याउने प्रचलन रहेको मतहवा सङ्घका जिल्ला अध्यक्ष चन्द्रप्रसाद चौधरीले बताउनुभयो ।

माघको अघिल्लो दिन बिहानै गाउँघरका किसान जम्मा भई बङ्गुर (थारू भाषामा जिता मार्ना) मारेर बराबर बाँड्ने चलन छ । माछासँगै गङ्गटा र घुँगीको विशेष परिकार बनाएर खाने गरिन्छ । माघीको अवसरमा ‘मघौटा नाच’ नाच्ने गरिन्छ । यो नाच शृङ्गार र करुण रसले भरिएको हुन्छ । यसमा बजाइने मादलको ताल, धुन र गाउने व्यक्तिको स्वर पनि विशेष र फरक प्रकारको हुने संस्कृतिविद् अशोक थारूले बताउनुभयो ।

थारू समुदायमा माघी पर्वलाई नयाँ वर्षका रुपमा पनि लिने गरिन्छ । पुस मसान्तमा आ–आफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघको १ गतेदेखि नयाँ हिसाबकिताब शुरु गर्ने चलन छ । “माघीमा नै घरपरिवारभित्र होस् या गाउँ समुदायमा आगामी वर्षका लागि खेतीपातीलगायत अन्य व्यवहारको नवीकरण गरिन्छ”, थारूले भन्नुभयो ।

बागलुङमा कृषि ज्ञान केन्द्र स्थापना
बागलुङमा कृषि ज्ञान केन्द्र स्थापना भएको छ । सङ्घीयता कार्यान्वयनसँगै जिल्ला कृषि विकास कार्यालय खारेज भएपछि बागलुङमा कृषिसँग सम्बन्धित कार्यालय थिएन । कृषि ज्ञान केन्द्र पर्वतबाट प्रवाह हुने सेवाले किसानको पहुँच पुग्न नसकेको भन्दै बागलुङमै ज्ञान केन्द्र सञ्चालनमा ल्याइएको हो । गण्डकी प्रदेश सरकारले सबै जिल्लामा कृषि ज्ञान केन्द्र सञ्चालन गर्ने निर्णय भएसँगै बागलुङमा कार्यालय सञ्चालनमा आएको हो । बागलुङमा साबिक कृषि विकास कार्यालयको भवन बागलुङ नगरपालिकाले प्रयोग गरेकाले सोही भवनको एउटा कोठाबाट कार्यालय सञ्चालन भएको छ ।

प्रदेश सरकारले भवन खाली गरिदिन बागलुङ नगरपालिकालाई पत्राचार गरेको भए पनि भवन खाली नभएपछि एउटा कोठाबाट कार्यालयको शुरुआत भएको हो । कृषि ज्ञान केन्द्र पर्वतको सम्पर्क कार्यालयका रुपमा रहेको ठाउँमा कृषि ज्ञान केन्द्र बागलुङको स्थापना भएको कार्यालय प्रमुख भानु भट्टराईले जानकारी दिनुभयो । बागलुङ पर्वत हेर्ने गरी पर्वतमा कृषि ज्ञान केन्द्र राख्दा यहाँका किसानले झन् बढी सास्ती खेप्नु परेको भन्दै आलोचना भएपछि गण्डकी प्रदेश सरकार ११ जिल्लामै कृषि ज्ञान केन्द्र सञ्चालन गर्ने निर्णय गरेअनुसार नै बागलुङमा कृषि ज्ञान केन्द्रको कार्यालय स्थापना भएको उहाँको भनाइ छ ।

कृषि विकास निर्देशनालय गण्डकी प्रदेशमा वरिष्ठ कृषि अर्थ विज्ञका रुपमा काम गर्दै आउनुभएका भट्टराईले पुस २० गतेदेखि कृषि ज्ञान केन्द्र बागलुङको प्रमुखका रुपमा खटाइएको छ । एउटा कोठामा रहेको सम्पर्क कार्यालय अब १२ जना कर्मचारीको दरबन्दीसहित कृषि ज्ञान केन्द्र स्थापना भएको छ । अहिले कार्यालय प्रमुखसहित तीनजना मात्रै कर्मचारीले काम शुरु गरेका छन् । बागलुङ नगरपालिकाले भवन खाली नगरी दिएपछि एउटै कोठाबाट कृषि ज्ञान केन्द्रको सेवा शुरु गरेको उहाँले बताउनुभयो ।

ज्ञान केन्द्र स्थापना भएपछि किसानलाई सहयोग पुग्ने विश्वास लिइएको छ । प्रदेश सरकारले सञ्चालन गर्ने कार्यक्रमहरु र प्रविधि तथा प्राविधिक ज्ञान हस्तान्तणका लागि सहज हुने उहाँले बताउनुभयो । “ज्ञान केन्द्र नजीकमा हुँदा टाढा पुगेर सेवा लिनुपर्ने झन्झट कम हुन्छ”, जैमिनी नगरपालिकाका किसान मोती पौडेल भन्नुहुन्छ, “पहिले नै खारेज नहुनु पर्ने कार्यालय थियो, अहिले नाम परिवर्तन भएर आएको छ, हामी खुशी छौँ ।” कार्यालय नहुँदा सरोकारवालालाई जिल्लागत तथ्याङ्क तयार गर्नसमेत कठिन हुने गरेको थियो ।

विद्यालयलाई युरोगार्ड प्रदान
विभिन्न सामाजिक कार्यमा सक्रिय पोखरा–४ स्थित नेलम्बो नेपालले माछापुच्छ«े गाउँपालिका–७ धम्पुसस्थित उदय माध्यमिक विद्यालयमा युरोगार्ड सहयोग गरेको छ । नेलम्बो नेपालका जनसम्पर्क अधिकृत भीमप्रसाद भण्डारीले विद्यालयका प्रधानाध्यापक र वडाध्यक्षलाई युरोगार्ड प्रदान गर्नुभएको हो ।

अधिकृत भण्डारीले विद्यालयमा स्वच्छ खानेपानी पिउन सहज होस् भन्ने उद्देश्यले युरोगार्डसहित थप स्वास्थ्य सामग्रीसमेत हस्तान्तरण गरेको जानकारी दिनुभयो । धम्पुस स्वास्थ्यचौकीलाई पनि दैनिक प्रयोगमा आउने औषधि उपलब्ध गराएको उहाँको भनाइ थियो ।

वडाध्यक्ष समबहादुर गुरुङले नेलम्बो नेपालका कार्यक्रम अन्य गैह्रसरकारी संस्थाको भन्दा भिन्न प्रकृतिको र पारदर्शी हुने जनाउनुभयो । उहाँले भन्नुभयो, “तुलनात्मक रुपमा नेलम्बोले पारदर्शी रुपमा कार्य गर्ने गरेको छ । नेलम्बोसँग सहकार्य गर्दै वडामा थप कार्यक्रम गर्न हामी इच्छुक छौँ ।”

विद्यालयका प्रधानाध्यापक धनबहादुर क्षत्रीले नेलम्बोले विद्यालयका हरेक क्षेत्रमा सहयोग पु¥याउँदै आएको र कोभिड–१९ को महामारीमा विद्यालय सञ्चालनमा उपलब्ध स्वास्थ्य सुरक्षाका सामग्री महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर क्षत्रीले अहिलेको अवस्थामा विद्यार्थीको स्वास्थ्यलाई विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

लोपान्मुख सुरेल समुदायको पहिलो घरबास सञ्चालन गरिँदै
लोपोन्मुख जातिका रुपमा सूचीकृत सुरेल दोलखाको उत्तरी क्षेत्रमा बसोबास गर्दै आएका छन् । गौरीशङ्कर गाउँपालिका–५ सुरीमा मुख्य बासेबास रहेको सुरेल जाति दोलखामा मात्र छन् । छुट्टै पहिचान संस्कार रहेको सुरेल बस्तीमा अहिले घरबास सञ्चालनको तयारी भइरहेको छ । उत्तरी क्षेत्रको पर्यटन प्रर्वद्धनलाई लक्षित गरी घरबास सञ्चालनको तयारीमा सुरेल समुदाय जुटेको छ ।

घरबास सञ्चालनका लागि गौरिशङ्कर संरक्षण क्षत्रले आवश्यक सामग्री सहयोग गरेको र घरबास सञ्चालनको तयारी भएको गौरिशङ्कर संरक्षण क्षेत्र आयोजनाका प्रमुख सत्यनाराण शाहले बताउनुभयो । दोलखा रामेछाप र सिन्धुपाल्चोकको विभिन्न भागलाई समेटेर वनेको गौरिशङ्कर संरक्षण क्षेत्रमा पर्यटकको चाहानाअनुरुप पर्यटन प्रर्वद्धन गराउने र लोपान्मुख समुदायको जीविकोर्पाजनमा सुधार ल्याउने उद्देश्यले घरबास सञ्चालनको काम भइरहेको प्रमुख शाहले बताउनुभयो ।

घरबास सञ्चालनार्थ एक घरको एक कोठाका लागि दुई बेडको लागि पुग्ने दुई थान सिरक, डसना, तकिया, तन्ना, चप्पल, डोरम्याट, डस्टबिन, तौलिया, ह्याङ्गर, ऐना, रबर एस्ट्रे, कार्पेट र होमस्टे बोर्ड गरी प्रति घरधुरी रु २० हजार बराबरको सामग्री वितरण गरिएको हो ।

सुरेल जातीको मौलिक रहनसहन र संस्कृति होमस्टे सञ्चालनपश्चात उजागर हुने गौरिशङ्कर संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । सुरेल समुदायमा सञ्चालन गरेको यो ‘होम स्टे’ नेपालमा नै पहिले हुनेछ । गैरिशङ्कर संरक्षण क्षेत्र गौरिशङ्कर हिमालसँंग जोडिएको र जिल्लाको धेरै पर्यटकीय क्षेत्र त्यस क्षेत्रमा पर्ने भएकाले पर्यटक त्यस क्षेत्रमा भ्रमणमा जाने छन् ।

Kantipath Media

यो छुट्टाउनु भो कि..