कारखानामा आगलागी

मेचीनगर नगरपालिकाको वडा नं १५ नीलकोठीस्थित ब्रिकेट उत्पादन गर्ने बायोग्यास कारखानामा आज बिहान भीषण आगलागी भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार बिहान ३ बजेतिर शुरु भएको आगलागी साढे ८ बजेसम्म नियन्त्रणमा आएको छैन ।
आगो निभाउन सशस्त्र प्रहरी, नेपाल प्रहरी र सर्वसाधारणको ठूलो सङ्ख्याले सघाइरहेको छ ।

भद्रपुर, मेचीनगर, बिर्तामोड, दमक, पथरी र उर्लाबारीबाट आगो निभाउन दमकल आइपुगेका छन् । तैपनि कारखानाभित्र आगो दन्किरहेको देखिन्छ ।
कारखानामा काठदाउराको ठूलो थुप्रो रहेको हुँदा आगो निभ्न मुस्किल परिरहेको अग्नि नियन्त्रणमा खटिएकाहरुले जनाएका छन् ।

धुलाबारीबाट करीब सात किलोमिटर दक्षिण भद्रपुरसँग सीमा जोडिएको गाउँमा भद्रपुरका आदित्य पराजुलीलगायत उद्योगीले ब्रिकेट कोइला उत्पादनका लागि कारखाना सञ्चालन गरेका थिए ।

आगलागीको क्षतिको विवरण यकिन नभइसकेको प्रहरीको भनाइ छ ।

रुद्रीपूजाको प्रसाद खाने २५ बिरामी
सर्लाहीको लालबन्दी नगरपालिका–६ मा रुद्रीपूजाको प्रसाद खाँदा करिब २५ जना बिरामी परेका छन् ।

लालबन्दी नगरपालिका–६ का घमबहादुर कार्कीको घरमा शुक्रबार लगाइएको रुद्री पूजाको प्रसाद खाँदा सोही स्थानका पुरुष, महिला तथा बालबालिका गरी २५ जना बिरामी भएका हुन् ।

स्थानीय जमुना बस्नेत, दुर्गाकुमारी अधिकारी, रमेश अधिकारी, उमेश देवकोटा, लालप्रसाद शर्मा, मनोजकुमार बराल, दिपेन्द्र अधिकारी, सलिना तामाङ पूजा लगाउने घमबहादुर कार्की, उनकी श्रीमती, छोराछोरीसमेत बिरामी परेका हुन् । रुद्रीपूजा सकिएपछि सेलरोटी, पुरी, तरकारी, अचार र दही खाएका उनीहरूमा शुक्रबारदेखि नै पेट दुख्ने, सामान्य ज्वरो आउने समस्या देखिएको थियो ।

आइतबार रातिदेखि उनीहरू धमाधम अस्पताल भर्ना हुन थालेका हुन् । बिरामी भएका उनीहरूमा अत्यधिक झाडापखाला लाग्ने, वान्ता हुने, उच्च ज्वरो, पेट दुख्ने र टाउको दुख्ने समस्या देखिएको छ ।

त्यसमध्ये पनि प्रसादीमा रुख कटहरको तरकारी नखानेहरू बिरामी नपरेका पाइएको स्थानीयवासी मनोजकुमार बरालले बताउनुभयो । उहाँको घरमा तीन जना बिरामी परेका छन् ।

जमुना बस्नेतको घरमा दुई, सोही घरमा कोठा भाडामा लिएर बस्ने दुई, दीपेन्द्र अधिकारी उहाँकी छोरी र छोरा तथा घरभाडामा बस्ने सलिना तामाङसहित चार, पूजा लगाउने घरका चार र भाडामा बस्ने दुई, उमेश देवकोटा, लालप्रसाद शर्मा, त्यसैगरी अरु पाँच÷छ जना छिमेकी बिरामी परेका हुन् ।

बिरामी परेकाहरूको लालबन्दीको मोडेल, सूर्योदय, सिटी केयर र गढीमाई अस्पतालमा उपचार शुरु भएको छ ।

ganesh Bk
http://kantipath.com

यो छुट्टाउनु भो कि..