जनपद प्रहरीको परीक्षामा सहभागी २ नक्कली परीक्षार्थी पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी जवान पदको परीक्षा दिने र दिन लगाउने दुवैलाई पक्राउ गरेको छ । गत फागुन ११ गते लोकसेवा आयोगको कार्यालय सुर्खेतले लिएको परीक्षामा रु एक लाख दिएर परीक्षा दिलाउने भगवतीमाई गाउँपालिका–२ बेस्तडा दैलेखका २२ वर्षीय रोशन शाही र पैसा लिएर परीक्षा दिने सोही गाउँका २३ वर्षीय लोबन शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।

यही साउन १४ गते प्रदेश प्रहरी तालिम केन्द्रमा सञ्चालन भएको अन्तरर्वार्ता परीक्षामा सहभागी हुन आएका दर्ता नं ४९१७१ का उम्मेदवार रोशन शाहीले अन्तरवार्ता दिने क्रममा शङ्कास्पद कुरा गरेको र लेख्न लगाउँदा लेख्नसमेत नजान्दा सोधपुछको गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी उपरीक्षक रामप्रसाद घर्ती मगरले जानकारी दिनुभयो ।

सो क्रममा उनीले रु एक लाख दिएर आफ्नै गाउँका लोबनलाई लेख्न लगाएर आफू पास भएको रहस्य खुलाएको उहाँले बताउनुभयो । नायब उपरीक्षक घर्तीका अनुसार पक्राउ परेको दुवैमाथि आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रहरीले ५१ क्युफिट अवैधको सिसौको काठसहित सुर्खेतबाट दुई व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भेरीगङ्गा नगरपालिका– २ सुर्खेतका २६ वर्षीय तीर्थबहादुर सिञ्जाली मगर र सहचालक भगवतीमाई गाउँपालिका दैलेखका १८ वर्षीय गणेश अधिकारी छन् । वीरेन्द्रनगर नगरपालिका– २ सुर्खेत भुरेली सडक खण्डस्थित भे१त ५११५ नम्बरको ट्रयाक्टरमा ५१ फिट सिसौको काठ ओसारपसार गर्दै गरेका अवस्थामा पक्राउ गरी काठसहितको ट्रयाक्टर जिल्ला वन कार्यालय वीरेन्द्रनगरमा पठाईएको प्रहरीले जनाएको छ ।

मालसामान बरामद

इलाका प्रहरी कार्यालय छिन्चुले रु एक लाख ६५ हजार ६५७ को अवैध मालसमान बरामद गरेको छ नेपालगञ्जबाट सुर्खेत छिन्चुतर्फ आइरहेको कर्णाली प्रदेश ०२००१ख ००१२ बसमा ओसारपसार गरिराखेको अवैध मालसमान शुक्रबार प्रहरीले बरामद गरेको हो । बससहित वीरेन्द्रनगर नगरपालिका–७ सुर्खेत निवासी ३७ वर्षीय बसचालक तुलाराम न्यौपानेलाई नियन्त्रणमा लिइ आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहोलपुर बाँकेमा पठाइएको प्रहरीले जनाएको छ ।

चितवनबाट सुर्खेततर्फ आउँदै गरेको प्रदेश नं ३–०१०२३ च ७१४२ नम्बरको जीपमा राजस्व छली गरी अवैधरुपमा ल्याइएको रु दुई लाख ८५७ बराबरको ३९५ थान पिभिसी प्यानलसहित हेटाँैडा आम भञ्ज्याङ– ६ मकवानपुर निवासी २४ वर्षीय सवारी चालक रोमप्रसाद घिमिरेलाई नियन्त्रणमा लिइ आवश्यक कारवाहीका लागि राजस्वअनुसार कार्यालय कोहलपुर बाँकेमा पठाइएको प्रनाउ घर्तीले बताउनुभयो ।

नेपालगञ्जदेखि सुर्खेततर्फ जाँदै गरेको क प्र ००२ ख ०१०९ बसमा राजस्व छली गरी अवैधरुपमा ल्याइएको रु तीन लाख २४ हजार १० को अवैध मालसमान प्रहरीले शुक्रबार नै बरामद गरेको छ । कानूनसम्वत्को मूल्य अभिवृद्धि कर उल्लेख गरिएको बिल नभएको अवैध मालसमान आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय कोहलपुर बाँकेमा पठाइएको प्रहरीले जनाएको छ ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..