annapurna add

लगातारको बाक्लो हुस्सु र तुसारोले तरकारी बालीको उत्पादन लिन नपाइने चिन्ताले महोत्तरीका तरकारी किसान हैरान भएका छन् ।

dzxxपुस अन्तिम सातादेखि लगातार बढेको बाक्लो हुस्सुसँगैको तुसारोले हरियो तरकारीको बेलो सुकाउनसँगै रोग बढाएपछि यहाँका किसानको हैरानी बढेको हो ।

पछिल्लोपटक गत पुस २७ गतेयता गत आइतबार मध्याह्नपछि र सोमबार मात्र घाम देखिएको थियो । त्यसपछि फेरि बाक्लो हुस्सुसँगै तुसारो बढेपछि तरकारीबालीको स्याहार केही गर्न नपाइएको यहाँका किसानले बताएका छन् ।

“खेतबारीमा बोट नै नदेखिने गरी तुसारो छ, लगातारको शीतलहरले बोट पहेँलिएका छन्, फल आफैँ कुहिएर झर्दैछ”, मौसमका कारण तरकारीको स्याहार र उपचार पनि गर्न नपाएको चिन्ताले बिरक्तिएका बर्दिवास नगरपालिका–९ पशुपतिनगरका तरकारी किसान रामविनोद महतोले भन्नुभयो, “आँखाभरि बिजोग हेरेर बस्नुपरेको छ, अब उत्पादन हात पर्ने आस मर्यो ।”

परवल, सिमी, करेला र बोडीसहितका बेला (लहरा) आफैँ पहेँलिएका र भण्टा, कोभी, टमाटरसहितका बोट क्रक्रिएर फल कालो हुँदै कुहिएर झर्ने गरेको किसान बताउँछन् । झारले तरकारीका बोट छोपिसक्दा पनि मौसमको प्रतिकूलताले गोडमेल गर्न नपाइएको र उपचारले काम नगरेको रामविनोदकै छिमेकी अर्का तरकारी किसान जवाहर महतो बताउनुहुन्छ । “हेर्नोस् न, उ टमाटर कुहिएर बग्रेल्ती झरेका”, टमाटर बारीतिर देखाउँदै जवाहरले भन्नुभयो, “मौसम उघ्रेर घाम नलागी न बारी पस्न सकिन्छ, न उपचार नै काम लाग्छ ।”

यसपालि मङ्सिर अन्तिम सातामै शुरु भएको शीतलहर पुस मध्यताका हटे पनि पुसकै अन्तिम सातामा फेरि बढेको हो । माघ लागेपछि बाक्लो हुस्सु र तुसारो पर्ने क्रम रोकिने आस पनि पहिलो साता बित्दासम्म पूरा हुने छाँट नदेखिएको किसान अड्कल गर्छन् । “आइतबार दिउँसो घाम देखिँदा अबचाहिँ उघ्य्रो भन्ने परेको थियो, सोमबार त बिहानै घाम देखियो पनि” भङ्गाहा नगरपालिका–४ का किसान चन्देश्वर राय दनुवार भन्नुहुन्छ, “हामीले सोचेकोजस्तो किन हुन्थ्यो, सोमबार साँझैदेखि फेरि बाक्लो हुस्सुले ढाकिहाल्यो ।”

बाक्लो हुस्सु, चिसो स्याँठ र तुसारोले गलाएको तरकारीको बोट जति उपचार गरे पनि ठिक नभएको किसानको गुनासो छ । “भरसक्दो त उपचार गरियो नि !” दनुवारकै छिमेकी किसान बहुरा महतोले भन्नुभयो, “तरकारी खेती त गयो..गयो, उपचार गर्दा गरिएको खर्चको ऋणमा समेत परियो ।” यस्तो चिन्ताबीच सरकारी निकायका कुनै कृषि प्राविधिक सल्लाह, सुझाव र सहानुभूतिकै लागि पनि नभेटिएका किसानको थप गुनासो छ । “खै कृषि हेर्ने सरकारी अड्डा त छन् भन्छन्, हाम्रो दुःख कसले बुझ्ने ? कोही हामीलाई हेर्न आउँदैनन्”, महतोले भन्नुभयो ।

हिउँदे तरकारीका बोटले लामो समयसम्म घामको ताप नपाउँदा उपचार नलागेको कृषि विज्ञको भनाइ छ । “दुइ÷चार दिनको अघिपछि घाम देखिएको भए उपचार लाग्ने थियो, यहाँ त झण्डै बाक्लो तुसारो परिरहेको १५ दिन हुन लाग्यो”, लामो समय कृषि विज्ञको सरकारी सेवा (सहसचिव) मा रही हाल सेवानिवृत्त हुनुभएका भङ्गाहा–५ कै बासिन्दा रामबहादुर भुजेल किसानकै भनाइमा लय मिलाउँदै भन्नुहुन्छ, “लगातार बाक्लो हुस्सु, चिसो स्याँठ र तुसारो पर्ने क्रम रोकिएन, उपचारका लागि गरिएको प्रयत्न त्यति फलदायी भएन ।”

जिल्लाका बर्दिवास नगरपालिकाका पशुपतिनगर, बिजलपुरा, भङ्गाहा नगरपालिकाका रामनगर, राजपुर, हतिसर्वा, बलवा नगरपालिकाका धमौरा, बनौटा, गौशाला नगरपालिकाका बेलगाछी, लक्ष्मीनियाँ र भरतपुरलगायतका बस्ती तरकारी बालीका पकेट क्षेत्र मानिन्छन्् । यी बस्तीमा पाँच हजार हेक्टरभन्दा बढी जग्गामा तरकारी खेती लगाइने गरिन्छ तर प्राकृतिक प्रकोपको निदान र खेतबारीमा सिँचाइको प्रबन्ध नहुँदा कहिल्यै ठिक समयमा बाली लगाउन, रोगको निदान एवं उपचार गर्न नसक्दा अपेक्षित उत्पादन लिन नसकिएको तरकारी किसान दुखेसो छ ।

आपूmहरुको यो मर्का सरकार र सम्बद्ध दलहरुले बुझिदिनुपर्ने किसानको माग छ । कहिल्यै समयमा बीउबिजन र मल नपाउने, सिँचाइको प्रबन्ध नहुनु, रोगव्याधि र प्राकृतिक प्रकोप निदानको पूर्वतयारी र विज्ञको अवलोकन नहुँदा आपूmहरुको खेती ‘दैवकै भर’ हुने गरेको किसान बताउँछन् ।

चालु आवमा ६९ पूर्वाधार सम्पन्न
काडमाडौँ महानगरपालिकाले आर्थिक वर्षको पहिलो छ महिनामा ६९ पूर्वाधार निर्माणका योजना सम्पन्न गरेको जनाएको छ । यस अवधिमा कामपाको अघिकार क्षेत्रभित्र पर्ने २३ किलोमिटर सडक कालेपत्र र ३४ हजार १६५ वर्गमिटर सडक मर्मत गरिएको छ । चार वडा भवन, दुई अन्य भवन र दुई आकाशे पुल निर्माण सम्पन्न गरिएको कामपाले जनाएको छ ।

त्यसैगरी तीन किलोमिटर सडक ढलान गरिएको छ । नौ सय ७२ मिटर ढल राख्ने र ८६० मिटर ब्लक छाप्ने काम सकिएको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो । कामपाभित्र करिब एक हजार ४५० किलोमिटर पक्की सडक छ । कामपाले आठ मिटरभन्दा कम चौडाइका सडक मात्र मर्मतसम्भार गर्छ । कामपाभित्र आठ मिटरभन्दा कम चौडाइका सडक ९५० किलोमिटर छ । कामपाभित्र ६२ मिटर चौडाइका सडकसमेत छन् ।

दुई सय एक चालु अवस्थामा र १६५ गएको वर्षबाट दायित्व सरेर आएका गरी ३६६ मध्ये २२५ कार्यान्वयन चरणमा छन् भने ७२ वटा शुरु हुन बाँकी रहेको कामपाले जानकारी दिएको छ । यता सामाजिक विकासतर्फ रु एक अर्ब ६२ करोडको योजना छन् । सामाजिक सुरक्षासम्बन्धी कामपाले लिएका २३ नीतिका आधारमा विभागले आन्तरिक स्रोतबाट गर्ने गरी ७७, नेपाल सरकारबाट प्राप्त सःशर्त अनुदानबाट २४ र प्रधानमन्त्री रोगजार कार्यक्रमबाट आठ गरी १०९ कार्यक्रम तय गरेको छ । तीमध्ये ६६ कार्यक्रम शुरु गरिसकिएका र ३२ कार्यक्रम कार्यान्वयनको चरणमा छन् ।

त्यसैगरी आयतर्फ अहिलेसम्म रु तीन अर्ब १० करोड राजश्व सङ्कलन भएको छ । गएको वर्ष यस अवधिमा रु चार अर्ब २२ करोड सङ्कलन भएको थियो । लक्ष्यका आधारमा गएको वर्षको पहिलो छ महिनामा ३५ प्रतिशत राजश्व प्राप्त भएको थियो भने यस वर्ष २९ प्रतिशत प्राप्त भएको छ । सङ्कलित रकममध्ये रु एक अर्ब ७५ करोड अनलाइन प्रणालीबाट प्राप्त भएको हो । कामपाका मुख्य कर शीर्षकहरुमा सम्पत्ति कर, व्यवसाय कर, बहाल कर, मनोरञ्जन करलगायत छन् ।

कामपाले चालु आवमा रु १४ अर्ब २६ करोड ६५ लाख बजेट विनियोजन गरेको थियो । कामपा भौतिक पूर्वाधार विभागका लागि चालु आवको विनियोजित बजेट रु तीन अर्ब एक करोड ६१ लाख छ हजार छ ।

एक वडा : एक पोखरी, एक वडा : एक चौतारी अभियान
तनहुँको आँबुखैरेनी गाउँपालिकाले एक वडा : एक पोखरी र एक वडा : एक चौतारीको अभियान शुरु गरेको छ । पर्यावरण प्रवद्र्धन गर्ने उद्देश्यसहित गाउँपालिकाले प्रत्येक वडामा पोखरी र चौतारी निर्माण गर्न लागेको हो ।

चालु आर्थिक वर्षभित्रै छवटै वडामा पोखरी र चौतारी निर्माण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो । “वातावरण प्रवद्र्धन गर्ने उद्देश्यसहित यो अभियान शुरु गर्न लागेका हाँै, यसका लागि बजेट पनि विनियोजन भइसकेको छ”, पोखरेलले भन्नुभयो ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतको रु २१ लाख बजेट पोखरी र चौतारी निर्माणमा खर्च गरिनेछ । सोमबार सम्पन्न आठाँै गाउँसभाले यसको निर्णय गरिसकेको छ । “प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगार सूचीमा सूचीकृत भएकालाई पोखरी र चौतारा निर्माणमा रोजगारी प्रदान गर्छौँ”, पोखरेलले भन्नुभयो ।

करदाता बढे

आँबुखैरेनी गाउँपालिकामा करदाता बढेका छन् । आर्थिक वर्ष २०७६÷७७ मा तीन हजार २०७ करदाता रहेकामा चालु आव २०७७÷७८ मा चार हजार ८७९ करदाता पुगेका छन् । त्यसमध्ये व्यक्तिगततर्फ चार हजार ६९४ र संस्थागततर्फ १८५ करदाता रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पोखरेलले जानकारी दिनुभयो । चालु आवमा एक हजार ९४० करदाताले सम्पत्ति तथा भूमिकर तिरेका छन् भने दुई हजार ३९ जनाले कर तिर्न बाँकी छ । गाउँपालिकामा आव २०७५÷७६ मा तीन हजार ९१७ र आव २०७४÷७५ मा चार हजार २९२ करदाता थिए ।

पाँच वटा कानून निर्माण

गाउँपालिकाले चालु आवमा पाँच वटा कानून निर्माण गरेको छ । आइसोलेशन व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७, कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोष सञ्चालन कार्यविधि २०७७, कोरोना भाइरससम्बन्धी क्वारेन्टिन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७७, निजी जग्गाको गिट्टी, बालुवा माटो कार्यविधि २०७७ र स्थानीय विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७७ निर्माण गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...