संसद विघटनको कानुनी र राजनीतिक प्रतिवाद हुने : १४९ सांसद सर्वोच्च जाने निर्णय

प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनका नेताहरुले राजनीतिक र कानुनी लडाइँ लड्ने भएका छन् । शनिबार नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको विपक्षी दलहरुको बैठकले राष्ट्रपति– प्रधानमन्त्रीको कदमविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरेको हो ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र बाबुराम भट्टराई, राष्ट्रिय जनमोर्चासहितका नेताहरुको बैठकले राजनीतक प्रतिवादका साथै कानुनी लडाइँका लागि सर्वोच्च अदालत जाने निर्णय गरेको छ ।

प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गरेर राष्ट्रपतिसमक्ष हस्ताक्षर बुझाएका पाँचै दलका सांसद र अन्य नेताहरु सर्वोच्च जाने पाँच दलको नयाँ बानेश्वरमा बसेको सर्वदलीय बैठकले निर्णय गरेको हो ।

बैठकपछि मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति र प्रधानमन्त्रीले असंवैधानिक तरिकाले षड्यन्त्रपूर्वक संसद विघटन गरेकाले यसको सबै किसिमबाट प्रतिवाद गरिने बताए । उनले आइतबार १४९ सांसद र यो विघटनको विपक्षमा रहेका नेताहरुसहित सर्वोच्च जाने बताए ।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले भोलि आइतबार १ बजे संसद् भवनमा सबै सांसदहरुलाई नागरिकतासहित बोलाइएको बताइन् । ‘रीटको ड्राफ्ट तयार हुँदैछ । भोलि सबै काम सकियो भने भोलि जान्छौं नभए ढिलोमा पर्सी सोमबार सर्वोच्च जाने निर्णय भएको छ,’ पौडेलले भनिन् ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..