जनमोर्चाका सांसदविरुद्ध भ्याकेट निवेदन : मध्यावधि निर्वाचन घोषणा गर्ने मुख्यमन्त्रीको दाउ !

गण्डकी प्रदेशका जनमोर्चाका सांसद कृष्ण थापालाई सर्वोच्चले पुनर्बहाली गरेपछि त्यसमा ‘भ्याकेट’ का लागि निवेदन परेको छ । बुधबार सर्वोच्च अदालतमा प्रदेशका सभामुख नेत्रनाथ अधिकारी​ निवेदन मुद्दा दर्ता गराएका हुन् । मुद्दामा अन्तरिम आदेश खारेज गर्न माग गरिएको छ भने सोको पेशी बिहीबारका लागि तोकिएको छ । बिहीबार नै मुख्यमन्त्रीले विश्वासको मत लिँदैछन् ।

सर्वोच्च अदालतले प्रदेशसभा सदस्यबाट कारवाही गरिएका थापालाई प्रदेशसभा सदस्यकै रुपमा काम गर्न दिन जेठ २३ मा अन्तरिम आदेश जारी गरेको थियो । न्यायाधीश डा कुमार चुडालको एकल इजलासले थापालाई प्रदेशसभा सदस्यको रुपमा काम गर्न दिन अन्तरिम आदेश दिएको हो ।

इजलासले विपक्षीहरूलाई १५ दिनभित्र थापामाथिको कारवाहीबारे लिखित जवाफ दिन पनि आदेश दिएको सन्दर्भमा भ्याकेट निवेदन परेको हो । गत वैशाख २९ गते हुने भनिएको सरकार गठनसम्बन्धी दावीमा प्रदेशसभा सदस्य थापाले हस्ताक्षर गर्न अस्वीकार गरेको भन्ने मुख्य कारण देखाई उनलाई राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ बमोजिम जनमोर्चाको सिफारिसमा हटाइएको थियो । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार नै मध्यावधि निर्वाचन घोषणा गर्ने सम्भावना रहेको उनीनिकट स्रोतले जानकारी दिएको छ।

बिहीबार विश्वासको मत प्राप्त गर्न नसके मुख्यमन्त्री गुरुङले मध्यावधि घोषणा गर्ने उनीनिकट एक सांसदले बताएका छन्। संविधानको १६८ (३) अनुसार ठूलो दलको आधारमा पुनः मुख्यमन्त्री बनेका गुरुङले संघभन्दा पनि एक कदम अघि बढेर मध्यावधि निर्वाचन घोषणा गर्ने तयारी गरेका हुन्। संविधानको १६८ (५) मा ‘उपधारा (३) बमोजिम नियुक्त मुख्यमन्त्रीले उपधारा (४) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेमा उपधारा (२) बमोजिमको कुनै सदस्यले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्नसक्ने अवस्था भएमा प्रदेश प्रमुखले त्यस्तो सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नेछ।’ भनी उल्लेख छ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..