प्रदेश प्रमुखले दिएको समयसिमा सकियो : विपक्षी गठबन्धनको मात्र मुख्यमन्त्रीमा दाबी

गण्डकी प्रदेशका विपक्षी दलहरुले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष सरकारको दाबी प्रस्तुत गरेका छन्। प्रदेश सभाका ३१ सांसदले मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द नेपाली पोखरेललाई प्रस्ताव गरेका छन्। तर २४ घण्टाको समयसिमा सकिंदा समेत प्रदेश प्रमुख कार्यालयले मुख्यमन्त्री नियुक्तिको कुनै तयारी गरेको छैन ।

कांग्रेसका १५, माओवादी केन्द्रका ११, जसपा र जनमोर्चाका दुई/दुई र स्वन्तन्त्र एक गरी ३१ सांसदले पोखरेललाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरेका हुन्। प्रस्ताव बुझ्दै प्रदेश प्रमुख सीता पौडेलले आज ३ बजेसम्म जानकारी दिने बताएकी थिइन् ।

जनमोर्चाका सांसद कृष्ण थापा फेरि बर्खास्तमा परेकाले ३० जना भए बहुमत पुग्दछ। प्रदेश प्रमुख पौडेलले आज २४ घण्टाको अवधि दिएर संविधानको धारा १६८ (५) को सरकार बनाउन आह्वान गरेकी थिइन्। प्रदेश प्रमुखले आह्वान गरेको केही घण्टामै विपक्षी गठबन्धन नयाँ सरकारको दाबी गर्न प्रदेश प्रमुखको कार्यालय पुगेको थियो।

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा प्रस्ताव गरिएका कृष्णचन्द्र नेपाली पोखरेल २०७४ सालको निर्वाचनमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाको क्षेत्र नम्बर १ ‘क’बाट प्रत्यक्ष निर्वाचित भएका हुन् ।

तनहुँको कांग्रेस राजनीतिमा सक्रिय गोवर्द्धन शर्माका माहिलो छोरा पोखरेल झण्डै तीन दशक नवलपरासीको राजनीतिमा सक्रिय रहे । कांग्रेसको १२औं महाधिवेशनबाट केन्द्रीय समिति सदस्य बन्नुभएका पोखरेलले १९ वर्ष नवलपरासी कांग्रेसको नेतृत्व सम्हालेका थिए । तनहुँको तनहुँसुरबाट बसाइँसराइ गरी नवलपरासी आएका पोखरेल कांग्रेसको १२औं महाधिवेशनबाट केन्द्रीय समिति सदस्य समेत बने ।

वि.सं २०२९ देखि २०३६ सम्म अध्यापन पेशा अंगालेका उनले प्रजातान्त्रिक आन्दोलनका निम्ति ०३७ र ०४६ सालमा जेल जीवन समेत ब्यतित गरेका थिए । २०४८ को संसदीय निर्वाचन र २०७० सालको संविधानसभा निर्वाचनमा उम्मेवारसमेत बनेका उनी दुवै निर्वाचनमा पराजित भएका थिए ।

दीपक मनाङेले आन्तरिक मामिला तथा कानुन मन्त्रालय (गृहमन्त्री)मा दाबी गरेका छन् । कांग्रेस र माओवादी गठबन्धनका नेताहरुसँगको छलफलमा उनले आफूलाई गृह नभए अर्थ तथा योजना मन्त्री चाहिने बताएका हुन् । अरु मन्त्रालयमा बसेर काम गर्न नसकिने रहेछ भन्दै मनाङेले पुलिस चलाउन गृहमन्त्री हुन चाहेको बताएका छन् । प्रदेश प्रमुख सीता पौडेलले दिएको समय आज ३ बजे सकिएपछि कांग्रेसका कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्ने भएका छन् ।

नेपालीलाई मुख्यमन्त्री बन्नका लागि मनाङेको समर्थन निर्णायक बनेको छ । उनले पृथ्वीसुब्बा गुरुङको सरकारमा युव खेलकुद मन्त्रालय पाएका थिए । मन्त्री पदमा रहेकै बेला विपक्षी गठबन्धनमा लागेपछि उनलाई गुरुङले बर्खास्त गरे ।

 

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..