जङ्गल जोगाउन ग्यास वितरण

दाउरा कम पाइने डोल्पाको काइके गाउँपालिकामा सबै घरपरिवारलाई खाना पकाउने ग्यास वितरण गरिएको छ ।

दाउरा अभावमा खाना पकाउन र बालबालिका तथा महिलालाई समस्या परेको भन्दै गाउँपालिकाले प्रतिघर दुईवटा ग्यास सिलिण्डर र एउटा चुलो वितरण गरिएको काइके गाउँपालिकाका प्रवक्ता रामचन्द्र रोकायले जानकारी दिनुभयो ।

सातवटा वडा रहेको गाउँपालिकाको कूल जनसङ्ख्या पाँच हजार हाराहारी छ ।

सरकारी कार्यालय, प्रहरी चौकी र विद्यालय गरी जम्मा एक हजार ५० घरधुरी रहेको काइकेमा ग्यास, चुलो वितरण गरिएको रोकायले बताउनुभयो ।

उहाँले रु एक करोड एक लाख २५ हजारमा उपभोक्ता समितिमार्फत ग्यास खरिद गरिएको जानकारी दिनुभयो । वनजङ्गल संरक्षण तथा धुवाँधुलोबाट बच्नका लागि यो अभियान सञ्चालन गरिएको गाउँपालिकाले बताएको छ ।

अत्यधिक चिसो हुने यस ठाउँमा दाउराबाट आगो बाल्न मुश्किल हुनुका साथै काममा निस्किँदासमेत छिट्टै आगोको जोहो गर्न समस्या भएपछि ग्यासको अवधारणा ल्याइएको बताएको छ । ग्यास सिलिण्डर नेपालगञ्जबाट खरिद गरी जाजरकोट हुँदै डोल्पासम्म गाडीमा ढुवानी गरिएको हो । दुनैबाट काइकेसम्म खच्चडमा बोकाएर ढुवानी गरिएको थियो । प्रत्येक वडामा समिति बनाएर ग्यास खरिद तथा वितरण गरिएको छ । दुई हजार सिलिण्डर र एक हजार ५० वटा चुलो वितरण गरिएको छ ।

दिक्तेलमा सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्क निर्माणको काम शुरु
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्क निर्माणको काम शुरु गरिएको छ । मासिक रु छ लाखभन्दा बढी राजश्व सङ्कलन गर्ने स्रोतका रूपमा विकास गर्ने गरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयसँगको साझेदारीमा दिक्तेलस्थित रत्नपार्कमा सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्क निर्माणको काम शुरु गरिएको हो ।

तल्लो तलामा २३ वटा सटर र माथिल्लो तलामा २३ वटा सटर हुने दुईतले सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्क रु तीन करोड ९६ लाखमा पूरा गर्ने गरी निर्माण कम्पनी उमा–लामा–अनशुवी जेभीले निर्माणको ठेक्का लिएको छ । विसं २०७९ फागुन मसान्तसम्ममा सम्पन्न हुने उक्त सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्कमा मन्त्रालयको रु दुई करोड ५७ लाख र नगरपालिकाको रु एक करोड ३९ लाख खर्च हुने सम्झौतामा उल्लेख छ ।

तल्लो तलाको सटरमा कोशेलीघर, नगरपालिकाको तरकारी, जिल्ला कृषकले उत्पादन गरेका कृषि उपज सङ्कलन केन्द्रलगायतका कक्ष राखेर अन्य कोठा व्यावसायिक प्रयोजनकै लागि भाडामा लगाइने नगरप्रमुख दीपनारायण रिजालले बताउनुभयो । “एउटै छानामुनि नुनदेखि सुनसम्म उपलब्ध गराउने हाम्रो लक्ष्य हो”, उहाँले भन्नुभयो, “ बीच भागमा भने केटाकेटी खेल्ने स्वीमिङ पुल, पिङलगायतका भौतिक संरचनासहितको आकर्षक पार्क निर्माण गरिने छ ।”

भाडावापत मासिक रु छ लाखभन्दा बढी राजश्व सङ्कलन गर्ने दिगो माध्यमका रूपमा सपिङ कम्प्लेक्स तथा चिल्ड्रेनपार्कलाई विकास गर्ने नगरपालिकाको लक्ष्य छ । निर्माणका लागि कोरोना कहरकैबीचमा पनि सचेतता अपनाएर हाल सञ्चालनमा रहेको प्रहरी बुथलगायतका भौतिक संरचना हटाउने काम तीव्रगतिमा भइरहेको ठेकेदार कम्पनीका प्रतिनिधि सुनिल राईले बताउनुभयो ।

नगरपालिका र पर्यटन मन्त्रालयबीच पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिकाबमोजिम गर्ने, पालिकाले खरिद प्रक्रिया सम्पन्न गरी ठेक्का सम्झौता भएपश्चात सम्झौता रकममा लागत साझेदारी गर्ने, विद्युतीय खरिद प्रक्रियामार्फत कार्यक्रम गर्ने, ठेक्का सम्झौता भएपछि सम्झौता रकमको मन्त्रालयले बेहोर्ने भारको २० प्रतिशत रकम प्रथम किस्तावापत सम्बन्धित पालिकामा पठाउने, थप रकम कार्यक्रम कार्यान्वयनको प्रगतिका आधारमा निकासा गर्नेगरी द्विपक्षीय सम्झौता भएको छ । मन्त्रालयको गत भदौ २ गतेको सूचनामार्फत माग भएको पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी कार्यक्रम सञ्चालनका लागि नेपाल सरकार मन्त्रीस्तरको माघ २९ गतेको निर्णयानुसार साझेदारी आयोजनाका रूपमा सपिङ कम्प्लेक्स तथा चिल्ड्रेन पार्क छनोट भएको हो ।

यसैबीच दिक्तेलबजारको सडक ढलानका लागि यस वर्ष थप रु पाँच करोड बजेट प्राप्त भएको छ । पहिलो चरणमा दिक्तेलबजारको किराँतचोकबाट सिँचाइ गेट, त्रिवेणीचोकबाट मालपोत कार्यालय र पुरानो बैंकचोकबाट झिसेपु मन्दिर जाने सडकखण्ड ढलान भइसकेको अवस्थामा बाँकी खण्डको आरसिसी ढलान गर्नका लागि शहरी विकास मन्त्रालयबाट उक्त थप बजेट प्राप्त भएको हो ।

दिक्तेलबजारको बाँकी खण्ड ढलानका लागि अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाले शहरी विकास मन्त्रालयलाई रु पाँच करोडसम्मको सीमाभित्र रहेर निर्माण अगाडि बढाउन सहमति दिने निर्णय गरेको छ । अर्थ मन्त्रालयले शहरी विकास मन्त्रालयको चालु आर्थिक वर्षको विनियोजित बजेटमध्ये खर्च हुन नसक्ने रकमबाट बजारका सडक ढलान गर्ने बजेट व्यवस्थापन गर्न भनेको छ ।

भक्तपुरमा सङ्क्रमण र मृत्युदर बढ्दै, ९५ प्रतिशत सङ्क्रमित होमआइसोलेसनमा
भक्तपुरमा कोभिड–१९ को सङ्क्रमण र मृत्युदर बढ्दै गएको छ । सङ्क्रमणमा परेकामध्ये ९५ प्रतिशत होमआइसोलेशनमा रहेका छन् । कोरोना भाइरस सङ्क्रमणकै कारण बिहीबार एकैदिन १४ जनाको ज्यान गएको छ । भक्तपुरमा शुक्रबारसम्म २७१ जनाको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमण फैलिएसँगै भक्तपुरमा सङ्क्रमण र मृत्युको सङ्ख्या बढ्दै गएको कार्यालयका प्रमुख कृष्ण मिजारले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लामा अहिलेसम्म १७ हजार ५७६ कूल सङ्क्रमित रहेकामा चार हजार ५५५ सक्रिय सङ्क्रमित छन् । अस्पताल तथा विभिन्न आइसोलेसनमा २३९ सङ्क्रमित छन् । होमआइसोलेशनमा चार हजार १३४ बिरामी छन् । अहिलेसम्म १२ हजार ९९० सङ्क्रमित निको भएका छन् ।

सङ्क्रमणका कारण भक्तपुरमा एकैदिन १४ जनासम्मको मृत्यु भएको छ । गएको दुई सातादेखि भक्तपुरमा लगातार सङ्क्रमितको मृत्यु भइरहेको छ । अस्पताल तथा स्वास्थ्य संस्थामा सङ्क्रमितले शय्या पाउन सकिरहेका छैनन् । शय्या नभएर कतिपय बिरामीलाई अस्पतालको गेटबाटै फर्काउने गरिएको प्रमुख मिजार बताउनुहुन्छ । अस्पतालमा रहेकाहरुको पनि अक्सिजन अभाव भएर समस्या आएको छ ।

सक्रिय सङ्क्रमित र मृत्युमध्ये सबभन्दा धेरै मध्यपुरथिमि, त्यसपछि सूर्यविनायक, त्यसपछि भक्तपुर नगरपालिकामा रहेको छ भने चाँगुनारायण नगरपालिकामा यी अनुपातमा ५० प्रतिशत सङ्क्रमण र मृत्युदर कमी रहेको छ । जिल्लामा चार हजार ५५५ सक्रिय सङ्क्रमित रहेकामध्ये विभिन्न आइसोलेसन केन्द्रमा र होमआइसोलेशनमा भने चार हजार २५६ रहेका छन् । सङ्क्रमितमध्ये ९५ प्रतिशत होमआइसोलेशनमा रहेको उहाँको भनाइ छ । उहाँका अनुसार सङ्क्रमितमध्ये अस्पतालबाट निको भएर फर्कनेको सङ्ख्या ७१ प्रतिशत रहेको छ ।

सङ्क्रमणका कारण कोभिडको उपचार गराइरहेका भक्तपुरका सबै अस्पतालका शय्या भरिएका छन् । अक्सिजन नहुँदा भर्ना भएका बिरामीको उपचारमा पनि निकै समस्या आएको छ । भक्तपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा समित्रा गौतमले सबै शय्या कोरोना सङ्क्रमित बिरामीले भरिएको बताउनुभयो । उहाँले अक्सिजन र स्वास्थ्य सामग्रीको व्यवस्था गर्न सके अस्पताल आएका सबै बिरामीको उपचार सहज हुने बताउनुभयो ।

बिरामी खोज्दै जनप्रतिनिधि र स्वास्थ्यकर्मी गाउँगाउँमा
यहाँका जनप्रतिनिधि र स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित बिरामी खोज्दै दैनिक गाउँगाउँमा जाने गरेका छन् । विश्वव्यापी महामारीका रूपमा तीव्रगतिमा फैलिरहेको नयाँ भेरियन्टसहित कोभिड–१९ को सङ्क्रमण उच्च भएका बेला वालिङका जनप्रतिनिधि स्वास्थ्यकर्मीसहित गाउँगाउँमा पुगेर उपचार गरिरहेका छन् । वालिङमा कोरोनाको सङ्क्रमण दर उच्च रहेको र गाउँगाउँका नागरिकमा अझ बढी समस्या देखिएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

“गाउँगाउँमा सङ्क्रमण दर झनै उच्च छ, कोरोनाका लक्षणसँग मिल्ने बिरामी धेरै हुनुहुन्छ”, उहाँले भन्नुभयो, “गाउँगाउँबाट लौ यस्तो समस्या देखियो, बिरामी धेरै हुनुहुन्छ भनेर फोन आउँछ अनि जनप्रतिनिधिसहितको स्वास्थ्यकर्मीको टोली गाउँगाउँमा पुग्छौँ ।” गाउँमा पुगेर आवश्यकता हेरी एन्टिजेन परीक्षण गर्ने, ज्वरो नाप्ने, अक्सिजनको मात्रा नाप्ने, आवश्यक पर्ने औषधि दिनुका साथै उहाँहरुलाई परामर्श दिने गरिएको उहाँले बताउनुभयो ।

नगरपालिकाले नगरका १४ वटै वडामा रहेका आफ्ना नागरिकलाई स्वास्थ्यसम्बन्धी समस्या हुँदा जुनसुकै बेला अस्पतालसम्म ल्याउनका लागि ‘हाइअलर्ट’मा एम्बुलेन्स र अन्य जीप तयारी अवस्थामा राखेको उहाँले बताउनुभयो । “गाउँगाउँमा रहेका नागरिकलाई स्वास्थ्यसम्बन्धी समस्या देखिनासाथै जतिबेला पनि फोन गर्नुहोला भनेर अत्यावश्यक नम्बर दिएर छाडेका छौँं”, उहाँले भन्नुभयो, “राति १÷२ बजे पनि फोन आउँछ, लौ यो ठाउँमा फलानालाई श्वासप्रश्वासमा समस्या देखियो गाडी एम्बुलेन्स पठाइदिनुप¥यो ।”

समस्या भएका बिरामीलाई रातदिन नभनी वालिङस्थित गह«ौँ प्राथमिक अस्पतालमा ल्याएर उपचार गर्ने गरिएको छ । नगरपालिकाले गाउँमा स्वास्थ्य परीक्षण तथा औषधि वितरणका लागि दुईवटा टोली गठन गरेर सेवा दिइरहेको स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले बताउनुभयो । नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाका अध्यक्ष तथा सदस्य जनप्रतिनिधि गाउँगाउँमै सँगै जाँदा स्वास्थ्यकर्मी तथा बिरामीको हौसला बढ्ने गरेको प्रमुख पाण्डेले अनुभव सुनाउनुभयो ।

“गाउँगाउँमा बिरामी हुनुहुन्छ कतिपयले डर, त्रासका कारण आफूमा भएको समस्या लुकाएर राख्ने गर्नाले अर्को समस्या थपिएको छ”, पाण्डेले भन्नुभयो, “रोग नलुकाई समयमै सम्पर्क गर्ने, औषधि खाने हो भने बिरामीको ज्यान बचाउन पनि सकिने र अरुलाई सर्ने क्रम पनि घट्ने थियो ।” स्याङ्जा जिल्लाका एघार पालिकामध्ये हालसम्म वालिङमा सबैभन्दा धेरै सङ्क्रमित रहेका छन् ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..