‘गौरा’ भित्र्याइँदै

सुदूरपश्चिम प्रदेशमा आज धार्मिक विधि तथा परम्पराअनुसार विभिन्न मठमन्दिर तथा घरमा ‘गौरा’ भित्र्याइँदै छ । व्रतालु महिलाले धान, साउँ, तिल, बेल र कुशसहितको पञ्च वनस्पति प्रयोग गरी गौरा भगवतीको प्रतिमा तयार पारी धार्मिक परम्पराअनुसार भित्र्याउँदै छन् ।

महिला मन्दिर तथा घर आसपासका खेतमा गई सामूहिक रुपमा ‘फाग’ गीत गाउँदै गौरा ‘भगवती’को प्रतिमा तयार पार्ने गरिन्छ । व्रतालु महिलाको सहभागितामा गौरा भित्र्याई सकेपछि महिलाले महेश्वर (शिव) र गौरी भगवतीको पूजाअर्चना गर्ने गर्दछन् ।

पूजा गर्दा अक्षताका रुपमा ‘बिरुडा’ (गहुँ, मास, गहत, गुराँस र कलौ) पाँच थरीका गेडागुडीको प्रयोग गरी पूजा गर्ने चलन छ । बिरुडालाई आफन्त, छरछिमेक तथा ईष्टमित्रका घरघरमा बाँडी गौरा र महेश्वरको प्रसादका रुपमा ग्रहण गर्ने परम्परा रहिआएको धनगढी उपमहानगरपालिका–२ का पुरोहित कृष्णराज जोशीले जानकारी दिए। पुरोहित जोशीले भने, “जुन प्रसाद खाँदा पेट सम्बन्धी विभिन्न रोग निको हुने जनविश्वास छ ।”

यसरी गौरा भित्र्याइ पूजाको सम्पन्न भएपछि महिला र पुरुष छुट्टाछुट्टै रुपमा गोलबन्द भई लोक भाषामा देउडा खेल खेलेर रमाइलो गर्ने गर्दछन् । त्यस्तै भक्तालु महिला आज यहाँ धनगढीको नैनादेवी मन्दिर, कालिका मन्दिर, शिवपुरी धाम, वनदेवी मन्दिर, शिव मन्दिरलगायतका मठ मन्दिरका साथै गौरा घरमा गौरा (भगवती) र महेश्वर (शिव) को पूजा गर्नमा व्यस्त देखिन्छन् । भाद्र पञ्चमी तिथिका दिन धार्मिक विधिअनुसार प्रत्येक घर तथा मन्दिरमा तामाको भाँडामा बिरुडा भिजाएर राखिन्छ । बिरुडा भिजाएको दिनदेखि नै गौरा पर्व सुरु भएको मानिन्छ।

अनुकूल तिथिको अवसर पारेर यो पर्व विसर्जन गर्ने परम्परा रहेको स्थानीय अगुवाको भनाइ छ । पौराणिककालमा हिमालयकी सुपुत्री पार्वतीले भगवान शिवलाई पतिको रुपमा पाउन गरिएको उपहासको फलस्वरुप पार्वतीको मनोकांक्षा पूरा भएकाले सोही बेलादेखि गौरा पर्व मनाउने गरिएको किंबदन्ती छ। कोभिड– १९ सङक्रमणको जोखिम कायमै रहेकाले अघिल्ला वर्षमा हुने गरेको गौरापर्वको रौनकता यसपाली खासै देखिदैन ।

स्वीकृति लिने पञ्चाङ्ग बढ्न थाले
नेपाल पञ्चाङ्ग निर्णायक समितिको स्वीकृति नलिइ निस्केका पञ्चाङ्ग (पात्रो) ले पछिल्लो समयमा स्वीकृति लिन थालेका छन् ।

स्वीकृति नलिइ प्रकाशन भएको खप्तड तारानाथ पात्रोले यस वर्ष समितिसित स्वीकृति लिएको छ । आगामी वर्षका लागि मानस खण्ड पात्रोले पनि स्वीकृतिका लागि समितिमा निवेदन दर्ता गरेको सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिनुभयो ।

यस वर्ष समितिबाट १४ पात्रोले स्वीकृति पाएका थिए । आगामी वर्षका लागि १५ वटा पात्रोले स्वीकृति पाउँ भनी गणित गणना गरी समितिमा बुझाएका छन् ।

समितिसँग स्वीकृति नलिइ ज्वाला, वैदिक र दृग् पञ्चाङ्ग अहिले पनि प्रकाशन भइरहेका छन् । यसमध्ये वैदिक पञ्चाङ्गको सिद्धान्त फरक छ । पूर्णरुपमा वैदिक भनी पुसतिर यो पात्रो प्रकाशन हुने गर्छ । फरकफरक पात्रो निस्कँदा आम मानिसमा भ्रम उत्पन्न भएको भन्दै सूर्यसिद्धान्तमा आधारित भई गणना गरेर स्वीकृतिका लागि पेश गर्न समितिले आह्वान गर्दै आएको छ ।

आगामी वर्षका लागि पञ्चाङ्ग (पात्रो) प्रकाशन गर्न चाहनेबाट समितिले साउन महिनाको एकमहिने म्याद राखी निवेदन माग गरेको थियो । समितिमा दर्ता भएका पात्रोको गणित गणनाका विषयमा छलफल गरी तीन महिनाभित्रमा चाडपर्व, तिथिमिति, साइतका विषयमा निर्णय गरिनेछ । निर्णयपछि पात्रोलाई प्रकाशनको अनुमति दिइने समितिले जनाएको छ ।

समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी गणित गणना गरी पेश गरेका पञ्चाङ्गकारलाई बैठकमा बोलाइ मिले÷नमिलेका विषय जाँच, चाडपर्वको निर्णय गरी पात्रो प्रकाशनका लागि स्वीकृति दिइने बताउनुहुन्छ । ढिलोमा फागुनसम्ममा पात्रो बजारमा आउने गरी निर्णय गरिने उहाँको प्रतिबद्धता छ ।

दिगो विकास लक्ष्यलाई उच्च प्राथमिकता दिन निर्देशन
राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिले दिगो विकास लक्ष्यसँग सम्बन्धित सूचकलाई उच्च प्राथमिकता दिई कार्य गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकपछि सभापति तारादेवी भट्टले विषयगत मन्त्रालयले दिगो विकास लक्ष्यबारे गरेको प्रगति, चुनौती तथा समाधानका उपायबारे छलफल र अनुगमन गर्नुपर्ने जरुरी रहेको जनाउँदै समितिले दिएका निर्देशनको अनुगमन गरिने जानकारी दिनुभयो ।

समितिको बैठकले दिगो विकास लक्ष्य हासिल गर्न प्रदेशसँग सहकार्य गर्नुपर्ने र दिगो विकास लक्ष्यलाई स्थानीयकरण गरी स्थानीय तहको भूमिकालाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउँदै तीन वटै तहसँग समन्वय गरी दिगो विकास लक्ष्यप्राप्तितर्फ पहल गर्ने निर्णय गरेको छ ।

समितिको बैठकले संसद् र प्रदेशसभाको भूमिका प्रभावकारी बनाउन समितिले पहल र समन्वय गर्दै प्रदेशका एसडिजी च्याम्पियनमा मानिसमार्फत दिगो विकास लक्ष्यलाई बढीभन्दा बढी स्थानीयकरण गर्न सहयोग गर्ने तथा बन्दाबन्दीले गर्दा असर परेको धुलिखेल घोषणापत्र (दिगो विकास लक्ष्यप्रति संसद्को प्रतिबद्धतापत्र) को पुनःकार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

समितिका सदस्य वामदेव गौतम, दीनानाथ शर्मा, मायाप्रसाद शर्मा र गङ्गाकुमारी बेल्वासेले विभिन्न समयमा समितिले दिएका निर्देशनको अनुगनमसँगै समितिलाई गतिशील बनाउनुपर्नेमा जोड दिनुभयो । संविधानसभा सदस्य जनकराज जोशीले ‘दिगो विकास लक्ष्य हासिल गर्ने सवालमा सांसदको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै कानूनी, संरचनागत, व्यवस्थापकीय, आर्थिक र सूचना तथा सञ्चारको चुनौती तथा सीमाका कारण दिगो विकास लक्ष्यले गति लिन नसकेको टिप्पणी गर्नुभयो ।

नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन
नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेतामा माधवकुमार नेपाल सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन गरेको हो ।

यही भदौ ९ गते निर्वाचन आयोगबाट नेकपा (एकीकृत समाजवादी) ले नयाँ दलको मान्यता पाएको थियो । बैठकले संसदीय दलको विधान बनाउन मस्यौदा कमिटी समेत गठन गरेको छ । कमिटीमा सांसदहरु भवानीप्रसाद खापुङ, निरादेवी जैरु, लक्ष्मी चौधरी, ठगेन्द्रप्रकाश पुरी र शेरबहादुर कुँवर गरी पाँच सदस्य रहनुभएको सांसद कल्याणीकुमारी खड्काले जानकारी दिनुभयो ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..