गौतमबुद्ध विमानस्थलको काम अन्तिम चरणमा

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ । विमानस्थल निर्माण आयोजनाले भौतिक संरचना निर्माण लगभग सकिएको र अगामी तीनमहिनाभित्र सञ्चालनमा आउने जनाएको छ । विमानस्थल हालका अवधिमा करीब ९५ प्रतिशत भौतिक प्रगति रहेको छ ।

प्राविधिक उपकरण जडानको काम बाँकी छ । विदेशबाट प्राविधिक जनशक्ति ल्याइनुपर्ने भएकाले केही विलम्ब भएको यस आयोजनाको हाल प्राविधिक कार्य चलिरहेको छ । विमानस्थलमा नेपाली प्राविधिकबाट अधिकतम प्राविधिक काम भइरहेको छ । सँगसँगै विदेशी दक्ष प्राविधिक जनशक्ति धमाधम आइरहेकाले प्राविधिक काम छिट्टै सक्नेगरी व्यवस्थापन गरिएको छ ।

विमानस्थलका लागि विदेशबाट आउनुपर्ने उपकरण भने करीब १०० प्रतिशत आइसकेको आयोजना प्रमुख प्रवेश अधिकारीले जानकारी दिनुभयो । “९८ प्रतिशतभन्दा बढी उपकरण आइसकेको छ । विदेशबाट ल्याइने लक्ष्य जनशक्ति पनि छिट्टै आउँदैछन् । अहिले नेपाली प्राविधिकले पनि काम गरिरहेका छन् त्यसैले बाँकी प्राविधिक काम सक्न तीन महिना पनि लाग्दैन”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार दक्षिण कोरियाबाट विज्ञ प्राविधिक आइसकेका छन् एक÷दुई दिनभित्रै अमेरिकाबाट थप दुई जना विज्ञ प्राविधिक आउँदैछन् । त्यस्तै भारतबाट झण्डै १५ जना प्राविधिक जनशक्ति आउनेछन् । चीनबाट छ जना प्राविधिक नेपाल आउने प्रक्रियामा रहेका छन् । उहाँहरु सबै आइसकेपछि उपकरण जडानको काम एकदेखि डेढ महिनाभित्र सकिनेछ ।

कोभिड–१९ महामारी नभइदिएको भए सो विमानस्थल यतिखेर सञ्चालनमा हुने थियो । कोरोना महामारीकैबीच निर्माण भने चलि नै रह्यो । विदेशबाट जनशक्ति ल्याइनुपर्ने र स्वास्थ्य मापदण्डको प्रक्रियाले गर्दा प्राविधिक काम सम्पन्न गर्न केही ढिलाइ भएको हो । महामारीका कारण विमानस्थल अङ्ग्रेजी वर्ष सन् २०२१ को शुरुआतबाट सञ्चालनमा आउने नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को योजना थियो । प्राविधिक काम पूरा नभएका कारण विमानस्थल सञ्चालनमा केही ढिला हुन गएको क्यानले जनाएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको विमानस्थल रुग्ण अवस्थामा पुगेर चाँडो प्रगति हासिल गरेको आयोजना हो । सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्नेगरी सन् २०१५ मा शुरु भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरवाहीले अवरोध भएको थियो । पछि थपिएको दुई वर्षको अवधिमा आयोजनाको काम उल्लेख्यरुपमा प्रगति भएको थियो ।

आयोजना प्रमुख अधिकारीको भनाइमा अहिले विमानस्थलको सौन्दर्यकरणका लागि साजसजावट तथा रङ्रोगनको कार्य भइरहेको छ । प्राविधिक काम पनि भइरहेको छ । विमानस्थलको टर्मिनल भवनमा उपकरण जडानको काम बाँकी छ । व्यागेज ह्याण्डलिङ, यात्रु सुरक्षा परीक्षण मेसिन, एसीलगायत उपकरण जडानको प्रक्रियामा छ ।

विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले निर्माण गरिरहेको छ । एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भइरहेको यो आयोजनाका लागि दुवै चरणमा गरी रु सात अर्ब ३२ करोड हाराहारी खर्च हुने प्राधिकरणले जनाएको छ ।

अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनको विश्वव्यापी मापदण्डअनुरुप विमानस्थल सञ्चालन योग्य भएको छ महिना अगाडि नै अन्तरराष्ट्रिय वायुसेवा प्रदायकलाई जानकारी गराउनुपर्ने हुन्छ । निर्माणका हिसाबले तीन महिनामा सबै काम सकिए पनि विमानस्थल व्यावसायिक सञ्चालनमा आउन झण्डै छ महिनाको अवधि लाग्नेछ ।

पछिल्लो पटक सन् २०२० को मार्च महिनासम्मका लागि विमानस्थलको निर्माण अवधि थपिएको थियो । प्राविधिक कारण ढिलाइ हुने खतरामा रहेको उक्त आयोजनालाई कोरोनाको सन्त्रासले थप विलम्ब हुने भएको हो । कूल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक उडान सञ्चालन गर्ने र हालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण गर्न सहयोग पुग्ने प्राधिकरणको योजना छ ।

बुद्धिष्ट पर्यटनको केन्द्र बनाइने

छिट्टै सञ्चालनको तयारीमा रहेको गौतमबुद्ध विमानस्थल भएर विभिन्न मुलुकबाट धेरैभन्दा धेरै बुद्ध धर्माबलम्बि पर्यटक आकर्षणका लागि विभिन्न प्रवद्र्धनात्मक अभियान सञ्चालन भइरहेको छ ।

गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा विमानस्थल सञ्चालनमा आएसँगै विभिन्न मुलुकबाट पर्यटक आकर्षणका लागि सरोकारवाला संस्थाले प्रवद्र्धनात्मक कार्यक्रम अघि बढाएका हुन् । यसै सन्दर्भमा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र लुम्बिनी बौद्ध विश्वविद्यालयबीच नेपालको पर्यटन प्रवद्र्धन र बुद्धदर्शनको विस्तारमा पारस्परिक सहयोगका माध्यमले अगाडि बढ्नेसम्बन्धी हालै समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

निगमका महाप्रबन्धक डिमप्रसाद पौडेल र विश्वविद्यालयका उपकुलपति प्रा डा हृदयरत्न बज्राचार्यले उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको थियो । सम्झौताअनुसार पर्यटन क्षेत्रमा दिगो विकासमा सहयोग पुग्ने गरी उड्डयन तथा पर्यटन क्षेत्रमा उच्च गुणस्तरको जनशक्ति तयार गर्न दुवै संस्थाका बीच प्रयास गरिनेछ । लुम्बिनी क्षेत्रका साथै नेपालका अन्य बुद्धिष्ठ क्षेत्रमा पर्यटन विकासमा दुवै संस्थाले प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्नेछन् ।

निगमका महाप्रबन्धक लुम्बिनी विमानस्थललाई बुद्धिष्ट पर्यटनको हबका रुपमा विकास गर्ने उद्देश्यले निगमले बुद्धिष्ट बाहुल्य भएका मुलुकमा नियमित उडान सञ्चालन गर्ने योजना रहेको बताउनुभयो ।

नेपालको बहुआयामिक विकासका लागि उड्डयन क्षेत्रका साथै पर्यटन क्षेत्रको प्रवद्र्धनमा संयुक्त प्रयास गरिने कुरा सम्झौतामा समावेश गरिएको छ । उड्डयन र पर्यटनका क्षेत्रमा अनुसन्धानात्मक क्रियाकलाप अगाडि बढाउन र राष्ट्रिय एवं अन्तरराष्ट्रियस्तरमा संस्कृति परम्परालाई विस्तार गर्ने लक्ष्य लिइएको समझदारीपत्रमा उल्लेख छ ।

लुम्बिनी बौद्ध विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि पर्यटनसँग सम्बन्धित विषयमा प्रयोगात्मक अध्ययनको अवसर निगमले प्रदान गर्नेछ भने विश्वविद्यालयले आन्तरिक र अन्तरराष्ट्रिय उडानमा निगमको सेवालाई प्राथमिकता दिनेछ । लुम्बिनी विश्वविद्यालयमा उच्च शिक्षा लिने निगमका कर्मचारीका सन्तानलाई शुल्कमा विशेष छुट उपलब्ध गराइनेछ । यो सम्झौता हाललाई चार वर्षका लागि गरिएको छ र भविष्यमा नवीकरण गर्न सकिनेछ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..