बन्दीपुरलाई बाख्रापालन पकेट क्षेत्र बनाइँदै

बन्दीपुर गाउँपालिका–१ लाई बाख्रापालनका लागि पकेट क्षेत्र बनाउन लागिएको छ । मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकाले बाख्रापालन पकेट क्षेत्र बनाउन लागेको हो । प्रधामन्त्री कृषि परियोजनाअन्तर्गत बाख्रापालन पकेट क्षेत्रका लागि रु १५ लाख विनियोजन भएको वडाध्यक्ष भानुभक्त पोखरेलले बताउनुभयो । गाउँपालिकाले बाख्रापालनका लागि १ नं वडालाई छनोट गरेपछि कार्यक्रमको प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो । वडाका अगुवा किसानलाई जिल्लाको भिमादनगरपालिका–९ पाथार्दीस्थित नमूनारूपमा रहेको सिर्जनशील बाख्रा फार्मको अवलोकन गराउनुका साथै विभिन्न क्षेत्रमा रहेका बाख्राफार्मको अवलोकन गराइसकिएको उहाँले बताउनुभयो ।

बन्दीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदी, पशु शाखा प्रमुख मधुविलास न्यौपाने, बाख्रापालन किसानलगायतको टोलीले अन्य क्षेत्रमा पालिएको बाख्राफार्मको अवलोकन गरेको हो । बाख्रा पकेट क्षेत्रका लागि विनियोजन भएको उक्त रकम वडाभित्र रहेको हरियाली कृषक समूहलाई प्रदान गरिनेछ । उहाँले भन्नुभयो, “किसानले बाख्राको खोर व्यवस्थापन, खोर सुधार तथा औषधि व्यवस्थापन दाना, घाँसलगायतका सम्पूर्ण काम गर्नेछन् ।”

वडामा रहेको १० टोलका बाख्रापालन कृषक समुहमा आबद्ध हुनेछन् । गाउँपालिकाले उक्त वडामा रहेका बाख्रापालन किसानको घरघरमा पुगेर सर्वेक्षण गर्ने काम सम्पन्न गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिनुभयो । बाख्रापालन पकेट क्षेत्र बनाउनका लागि शुरुमा एक हजार बाख्रा राखिनेछ । उहाँले भन्नुभयो, “एक घरधुरीले कम्तीमा पाँचवटा माउ बाख्रा पालेको हुनुपर्छ ।”

प्रधामन्त्री कृषि परियोजनाका प्रमुख कुलप्रसाद अधिकारीले रु १५ लाख छुट्याइदिएपछि गाउँपालिकाले निर्णय गरेर उक्त कृषक समूहलाई रकम हस्तान्तरण गरेको हो । एक सय ५० जना बाख्रापालन कृषक छनोट भइसकेको र बढ्ने क्रम जारी रहेको बन्दीपुर गाउँपालिका कार्यालयले जनाएको छ । बन्दीपुर–१ मा बाख्रा पकेट क्षेत्र कार्यक्रम शुरु भएपछि त्यस क्षेत्रका बाख्रापालन किसान थप उत्साहित भएर लागेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताउनुभयो ।

शिक्षक दरबन्दी नहुँदा पठनपाठनमा समस्या
बुङ्गल नगरपालिका–११ को बाँजमा रहेको भूमिराज प्राविमा शिक्षकको दरबन्दी नहुँदा पठनपाठनमा समस्या भएको छ । लामो समयदेखि निजी शिक्षकलाई अभिभावकले चन्दा सङ्कलन गरेर तलब खुवाउँदै आए पनि पछिल्लो समय पारिश्रमिक दिन नसकेपछि पठनपाठन प्रभावित हुन थालेको हो ।

विसं २०४६ मा स्थापना भएको भूमिराज प्राविमा २०७५ देखि कक्षा ८ सम्म सञ्चालन गरिए पनि निजी शिक्षकलाई पारिश्रमिक दिन नसकेपछि हाल कक्षा ५ सम्म मात्रै पढाइ हुँदै आएको छ । उक्त विद्यालयमा अहिले दुई दरबन्दीका र एक जना राहत मात्रै शिक्षक रहेको विद्यालयका प्रधानाध्यापक वीरबहादुर पातलीले बताउनुभयो । विद्यालयमा एक जना बालकक्षा कोटा मात्र भएको भए पनि पठनपाठन गर्न सहज हुने बताउनुभयो ।

विद्यालयमा भवन बालमैत्री नरहेको र अहिले ५६ छात्रा ४५ छात्र गरी १०१ विद्यार्थी अध्यन गर्दै आएका छन् । गाउँमा पढ्ने विद्यार्थीको सङ्ख्या धेरै भए पनि डेढ घण्टा पैदल हिँडेर केदार मावि र शिव माविमा जानुपर्ने बाध्यता रहेको र गाउँमै ६ र ७ कक्षा सञ्चालन गर्न सकेको खण्डमा आफूहरुलाई सहज हुने कक्षा ५ मा अध्यनरत छात्रा रेखा पातलीले बताउनुभयो ।

केही वर्षदेखि गाउँलेबाट चन्दा उठाएर शिक्षकलाई तलब दिँदै आएका भए पनि हाल चन्दा नउठेपछि विद्यालय सञ्चालन गर्न समस्या भएको र विद्यालयमा विद्यार्थीको पठनपाठनका लागि नगरपालिकाले पहल गर्नुपर्ने विद्यालय व्यवस्थापन समिति अध्यक्ष गगन पातलीले बताउनुभयो ।

यता नगरपालिका प्रमुख धनबहादुर विष्टले भूमिराज प्राविमा मात्र नभएर नगरपालिकाका वडा नं ८, ९, १० लगायतमा रहेका प्रायः सबै विद्यालयमा शिक्षक दरबन्दी नहुँदा समस्या भएकाले त्यसतर्फ शिक्षा मन्त्रालयले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँका अनुसार नगरपालिकाभित्र ९१ भन्दा बढी शिक्षकको दरबन्दी रिक्त छन् । त्यतिबेला दरबन्दी नभएर पनि विद्यालय सञ्चालन गर्नका लागि अनुमति लिएका कारण अहिले समस्या आएको र नगरपालिकाले विद्यालयलाई प्रोत्साहन भनेर केही रकम सहयोग गर्ने गरेको समेत प्रमुख विष्टले बताउनुभयो ।

बर्थिङ सेन्टरलाइ आवश्यक उपकरण सहयोग

जिल्लामा सञ्चालित एक गैरसरकारी संस्थाले जयपृथ्वी नगरपालिका–११ मा रहेको बर्थिङ सेन्टरलाई आवश्यक उपकरण र सामग्री सहयोग गरेको छ । प्रगतिशील युवा समाज तथा वर्ड भिजनको साझेदारीमा जयपृथ्वी–११ मा रहेको सिद मनाना बर्थिङ सेन्टरलाई डेलिभरी शय्या, एनेसी टेबल, पेरिलाइट, बच्चा तौलने मेसिन, ग्यास हिटरलगायतका उपकरण सहयोग गरेको समाजका कार्यकारी निर्देशक लवराज जोशीले बताउनुभयो ।

विगत केही वर्ष सुत्केरी हुनका लागि टाढा जानुपर्ने अवस्थालाई मध्यनजर गरी उक्त सामग्री सहयोग गरिएको उहाँले बताउनुभयो । सिद मनानामा रहेको बर्थिङ सेन्टरलाई उपलब्ध गरिएका स्वास्थ्य उपकरण एकदमै राम्रो भएको र यसले स्थानीयवासी महिलालाई सुरक्षित सुत्केरी सेवा दिनमा सहयोग पुग्ने चैनपुर स्वास्थ्यचौकी प्रमुख रमेश रोकायाले बताउनुभयो ।

बर्थिङ सेन्टरका लागि उपलब्ध सामग्रीले सुत्केरी गराउन सहयोग मात्र नभई बाल मातृ मृत्युदरमा कमीसमेत आउने र स्वास्थ्यका सूचक केही पूरा हुने भएकाले बालमैत्री वडा घोषणा गर्न यो सहयोगले मद्दत पुग्ने समाजका व्यवस्थापक अजय महरले बताउनुभयो ।

‘खुवालुङ’को संरक्षण गरी पर्यटकीय क्षेत्रका रूपमा विकास गरिने : मुख्यमन्त्री राई
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले ‘खुवालुङ’ किराँत समुदायको धार्मिक र सांस्कृतिक धरोहर रहेकाले यसलाई जोडेर पर्यटन क्षेत्रको विकास गर्ने बताउनुभएको छ । उदयपुर, धनकुटा र भोजपुरको सङ्गमस्थल शहीदभूमि गाउँपालिका–१ खुवालुङ क्षेत्रको मङ्गलबार भ्रमण गर्दै उहाँले विश्वमा रहेका नेपालीको आस्थाको केन्द्रका रूपमा रहेको खुवालुङलाई संरक्षण गरी आकर्षक केन्द्रका रूपमा विकास गरी पर्यटकको आगमन वृद्धि गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जलयात्राका सम्बन्धमा विज्ञहरुद्वारा विस्तृत अध्ययन गरी खुवालुङ दायाँबायाँ पानीजहाज सञ्चालन गर्ने सम्बन्धमा काम भइरहेको बताउँदै उहाँले यस क्षेत्रका बृहत् विकास योजनाका लागि सङ्घीय सरकारले सहयोग गर्ने बताउनुभयो । मुख्यमन्त्री राईले सङ्घीय र प्रदेश सरकारले खुवालङ (ढुङ्गा) फुटाउने सम्बन्धमा कुनै निर्णय नगरेको प्रष्ट पार्दै यस सम्बन्धमा भएका गलत प्रचार र भ्रममा नपर्न नागरिकसँग आग्रह गर्नुभयो ।

उहाँले समृद्धिको आधार कोशी नदी भएको चर्चा गर्दै धार्मिक, संस्कृतिक र यस क्षेत्रका सम्पदाको उत्थान गरी जलयात्रालाई किमाथाङ्का पुर्याउने सम्बन्धमा आवश्यक अध्ययनलाई प्राथमिकता दिइएको जानकारी दिनुभयो ।

किराँत यायोक्खाका केन्द्रीय समितिका अध्यक्ष दिवस राईले किराँतका पुर्खाले खुवालुङको पूजा गरेर नै सुनसरी, उदयपुर, भोजपुर र धनकुटामा बस्ती विस्तार गरी बसोबास गरेको जानकारी दिँदै यसको संरक्षण गरी धार्मिक पर्यटनको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

डोर वे इन्टरनेसलका नेपाल अध्यक्ष एवं जलयातायातविज्ञ विपुलराज पाण्डेले खुवालुङ दायाँबायाँ पाँच मिटर छाडेर जलयात्रा सञ्चालन गर्ने जानकारी दिँदै यसलाई फुटाउने सम्बन्धमा कहीँकतै कुरा नआएको बताउनुभयो । उहाँले २६४ किलोमिटर दोलालघाटसम्मको जलयातायात सञ्चालनका लागि थप अध्ययन गरिने बताउनुभयो ।

जलयातायात सञ्चालक राजेन्द्र कार्की खुवालुङबाट कुनै समस्या नआएको बताउनुभयो । सप्तकोशीमा जलयातायात सञ्चालन भइरहेको अवस्थामा अरुण, तमोर र दूधकोशीको सङ्गमस्थलमा खुवालुङ (किराँत भाषामा खुवा भनेको पानी र लुङ भनेको ढुङ्गा) अर्थात् पानीमाथिको ढुङ्गाको छेऊ भएर मोटरबोट सञ्चालन भइरहेको अवस्थामा केही दिन अगाडि सङघीय र प्रदेश सरकारले उक्त ढुङ्गा फुटाउँदै छ भन्ने गरी समुदायमा भ्रम सिर्जना गरिएको थियो ।

अनधिकृतरूपमा सञ्चालित पसल हटाउन विभागलाई पुनः ताकेता
काठमाडौँ महानगरपालिकाले वसन्तपुर क्षेत्र आसपासमा अनधिकृतरूपमा सञ्चालित पसल हटाउन पुरातत्व विभागलाई पुनः ताकेता गरेको छ । गत फागुन १४ गते नियमविपरीत सञ्चालनमा रहेका सबै पसल सात दिनभित्र हटाउनका लागि कामपाले विभागलाई पत्राचार गरेको थियो ।

पत्राचार गरेको एक महिना बितिसक्दासम्म उक्त पसलहरु सञ्चालनमै रहेकाले कामपाले माइकिङ गर्दै अनधिकृतरूपमा सञ्चालित व्यापारिक प्रयोजन हटाई सहयोग गर्न पुनः आग्रह गरेको छ । विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर क्षेत्र आसपासमा अनधिकृतरूपमा सञ्चालित व्यापारिक प्रयोजनका पसल हटाउन पुरातत्व विभागलाई पटक–पटक ताकेता गर्दा पनि आलटाल गरेको भन्दै कामपाले माइकिङ शुरु गरेको हो ।

“पटक–पटक मौखिक र लिखितरूपमा आग्रह गरे पनि विभागले ढिलासुस्ती गरेपछि हामीले बाध्य भएर सम्पदा मासेर अनधिकृत व्यापार गरिहेका व्यापारी–व्यवासायीलाई ती स्थान खाली गर्न आग्रहसहित माइकिङक गरेका हौँ”, कामपा प्रहरी प्रमुख धनपति सापकटाले भन्नुभयो, “वारुणयन्त्र कार्यालयको उत्तरतर्फको भवन र तलेजु मन्दिर निकटको भवनमा व्यापारिक प्रयोजनमा होटल, रेष्टुराँ र सटरसहितका पसल सञ्चालित छन् । उहाँहरुले आफैँ हटाउन मान्नु भएन भने हामी हाम्रो ढङ्गबाट अघि बढ्छौँ ।”

पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमले कामपाको प्रयासलाई सकारात्मकरूपमा लिएको भन्दै सो क्षेत्र पुरातत्वको क्षेत्राधिकारभित्र पर्ने हुँदा समस्या समाधानका लागि प्रयास जारी राखेको बताउनुहुन्छ ।

भिरबाट लडेर एक जनाको मृत्यु
मकवानपुरको राक्सिराङ गाउँपालिकामा भिरबाट लडेर एक वृद्ध पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृत्यु हुनेमा राक्सिराङ–६ बस्ने ७० वर्षीय भीमबहादुर प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रजाको गए राति जङ्गलको आगो निभाउन जाँदा स्थानीय सिलिङ्चेमा भिरबाट लडेर मृत्यु भएको हो । मृतक प्रजाको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइसकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृतक प्रजा स्थानीय वडाध्यक्ष सिंहबहादुर प्रजाको बाबु रहेको बुझिएको छ ।

देशभरका शैक्षिक संस्था बन्द हुँदा नाम्खामा नियमित पठनपाठन
बाक्लो तुँवालोका कारण देशभरका शिक्षण संस्था मङ्गलबारदेखि बन्द रहे पनि हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाभरिका विद्यालयमा भने नियमित पठनपाठन जारी छ । तुँवालो प्रदूषणको खासै प्रभाव नपरेको भन्दै गाउँपालिकाले नै विद्यालयले सञ्चालनमा राख्ने जनाएको हो । तुँवालोको प्रभाव खासै नदेखिएपछि पठनपाठन जारी राख्ने निर्णयमा गाउँपालिका पुगेको गाउँपालिकाका अध्यक्ष बिष्णुबहादुर लामाले बताउनुभयो ।

प्रदूषणको प्रभाव नभएपछि विद्यालय बन्द नगरी पढाइ सञ्चालनमा राख्न गाउँपालिकाले पालिकाभित्र रहेका सबै विद्यालयलाई निर्देशन दिएको थियो । नाम्खा गाउँपालिकामा एउटा माध्यमिक र १५ आधारभूत विद्यालय रहेका छन् । कोरोना कहरको लामो समयपछि गत फागुन १ गतेबाट गाउँपालिकाका विद्यालयमा पठनपाठन शुरु भएको थियो । यता सोही गाउँपालिका–६ को लिमीका दुईवटा विद्यालयमा भने कोरोना कहरको समयमा समेत नियमित पठनपाठन जारी थियो ।

Kantipath Media

यो छुट्टाउनु भो कि..