१४ लाखका कुखुरा आधा घण्टामै सखाप

 hen pht

कैलाली – कैलाली र कञ्चनपुरमा बिहीबार राति आएको विनासकारी हावाहुरीबाट व्यावसायिक कृषकहरुले सबैभन्दा ठूलो मार खेप्नुपरेको छ। उक्त रात जिल्लाका किसानहरुका लागि कालो रात बनेको छ।

बझाङबाट कञ्चनपुरको दैजी आएर हाल कुखुरापालन सुरु गरेका दाजुभाइ फोल्टी फार्मका एक हजार कुखुरासहित १४ लाख लागतमा निर्माण गरिएको खोर आधा घण्टाको हुरीले सोत्तर बनायो। लामो समय विदेशमा काम गरेर, नेपालमै केही गर्छु भनेर फर्किएर कुखुरापालन व्यवसाय सुरु गरेका राम बोहराको व्यवसायी बन्ने सपना चकनाचुर भएको छ।

गाउँकै दुई दाजुभाइले १४ लाख ऋण निकालेर व्यवसाय सुरु गरेका उनीहरुको कुखुरा व्यवसायी बन्ने सपना आधा घण्टाको हुरीले उडाएर लग्यो। त्यस्तै कैलालीको धनगढीमा कुखुरापालन गर्दै आएका कमल ढाटको पनि ५ सय कुखुरा चल्लासहित कुखुरा खोर हावाहुरीले उडाएर लगेको छ। हुरीले खोरै उडाएर लगेपछि व्यवसायमा ठूलो घाटा लागेको छ। कमलको दैनिकी नै रोकिने अवस्थामा पुगेको छ।

गोदावरी नगरपालिकामा ९६ लाख बढीको लगानीमा एग्रीकल्चर फर्म सञ्चालन गरेका कञ्चनपुरका गजेन्द्र शाहीले पोल्ट्री व्यवसाय पनि सुरुवात गरेका छन्। तर बिहीबार साझको हावाहुरीले फार्महरुमा पूर्ण क्षति पुगेको छ।

हावाहुरीले कैलाली कञ्चनपुरका सयौं कुखुरा व्यवसायीहरुको खोरमा ठूलो क्षति पु(याएको छ। नेपालमै कुखुरापालन गरेर भारतीय बजारसँग प्रर्तिस्पर्धा गरिरहेका व्यवसायीले ठूलो समस्या सामना गर्नुपर्ने अवस्था सिर्जना भएको छ। त्यस्तै हावाहुरीले केरा खेतीमा ९५ प्रतिशत क्षति पु¥याएको अनुमान गरिएको छ भने पशुपालन क्षेत्रमा पनि ७५ प्रतिशतभन्दा बढी क्षति भएको छ।

पेल्ट्री व्यवसायीका ह्याचरी उद्योग, कुखुरा फार्ममा गरी झण्डै ६ करोड क्षति भएको कुखुरा तथा अण्डा उत्पादन किसान संघ कैलालीका अध्यक्ष भुमन पाण्डेयले बताए।कैलाली–कञ्चनपुरमा एक हजार ५ सय हेक्टर क्षेत्रफलमा केरा खेती हुँदै आएको अनुमान गरिएकोमा ९५ प्रतिशतमा क्षति भएको दाबी गरिएको छ। केरामा भएको क्षतिको मूल्याङकन नभए पनि व्यवसाय चौपट भएको केरा व्यवसायी संघका अध्यक्ष सुरेन्द्र चौधरीले जनाए।

कृषि क्षेत्रको क्षतिको विवरण संकलनमा यतिबेला स्थानीय तह र प्रहरी जुटेका छन्। हावाहुरीको क्षतिपछि विवरण संकलन गर्ने र त्यसपछि प्रदेश सरकारलाई बुझाएपछि किसानलाई राहत उपलब्ध गराउने विषयमा निर्णय हुने प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ।

 

Kantipath Media

यो छुट्टाउनु भो कि..