तनहुँका असहाय तीन परिवारलाई घर हस्तान्तरण

जिल्लाको बन्दीपुर गाउँपालिकाको सहकार्य तथा कर्मफ्लाइट्सको भूकम्परहित घरबास निर्माण परियोजनाको आर्थिक सहयोगमा बन्दीपुर–२ का तीन घरपरिवारलाई घर हस्तान्तरण गरिएको छ ।

गरिब तथा असहाय परिवारलाई घर निर्माण गरी परियोजनाको तर्फबाट प्रेमबहादुर कुँवर, कृष्ण पाण्डे र गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले संयुक्तरूपमा घरको चाबी हस्तान्तरण गर्नुभएको हो । स्थानीय मनमाया भुजेल, मङ्गल विक र गोरे विकका परिवारलाई घर हस्तान्तरण गरिएको वडाध्यक्ष कृष्णप्रसाद लामिछानेले जानकारी दिनुभयो ।

भुजेलको ऐलानी र विकद्वयको जग्गाधनी प्रमाणपत्र भएको जग्गा व्यवस्था गरी परियोजनाको सहयोगमा घर निर्माण गरिएको उहाँले बताउनुभयो । सोही वडास्थित बगैँचाभित्र बसोबास गर्दै आएका विकका दुई घरपरिवारलाई बगैँचाबाट बाहिर बस्नका लागि विसं २०७२ मा ब्लकमा परेको जग्गाको पुर्जा वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।

बगैँचाको संरक्षण गर्नुपर्छ भनेर बगैँचाभित्र रहेका घरलाई बाहिर बस्नका लागि पुर्जा दिलाएको स्थानमा घर निर्माण गरिएको हो । उहाँले भन्नुभयो, “उक्त पुर्जा भएको स्थानमा विकका दुई घर र भुजेलको ऐलानी जग्गामा घर निर्माण गरिएको हो ।” विगत लामो समयदेखि भुजेल परिवार सोही स्थानमा बस्दै आएकाले सोही स्थानलाई कायम गरी घर निर्माण गरिदिएको गाउँपालिकाले जनाएको छ ।

दशैँअघि घर निर्माण थालिए पनि काम गर्ने जनशक्ति अभावमा ढिलाइ हुन गएको गाउँपालिकाका अध्यक्ष थापाले जानकारी दिनुभयो । तीनवटै घरपरिवारलाई करिब चार आनाका दरले जग्गा उपलब्ध गराइएको उहाँले बताउनुभयो ।

पक्की घर पाएपछि असहाय गरिब परिवार मक्ख छन् । उहाँले भन्नुभयो, “हावाहुरी आउँदा र पानी पर्दाको समयमा सुरक्षित भएर बस्न पाउने भएपछि खुशी भएका छन् ।”

घरबास प्रवद्र्धनमा महिला पर्यटन व्यवसायी
आन्तरिक पर्यटकमार्फत ग्रामीण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित पोखराका महिला पर्यटन व्यवसायीले मोदी गाउँपालिका–१ झिल्ली बरेङमा पुगेर त्यहाँको प्राकृतिक र सांस्कृतिक पहिचानको विषयमा जानकारी लिएका छन् ।

कोभिड–१९ पछि घरबास व्यवसायमा अवसर र चुनौती विषयक अन्तक्र्रिया कार्यक्रममार्फत व्यवसायी महिलाले सो ठाउँका बारेमा जानकारी लिएका हुन् । उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पौडेलले कोभिड–१९ का कारण सुस्ताएको पर्यटनलाई गति दिन ग्रामीण पर्यटनमा जोड दिएर प्रचारप्रसार गर्नुपर्ने बताउनुभयो ।

कोभिड–१९ का कारण धेरै मानिसले शान्त र प्राकृतिकस्थलको खोजी गरेको बताउनुभयो । बरेङको घरबासमा महिला पर्यटन व्यवसायीको पहिलो आगमन भएको उहाँको भनाइ थियो । उहाँका अनुसार बरेङ अन्नपूर्ण हिमशृङ्खला, लालीगुराँस, भिरमौरीलगायत गुरुङ, मगर बस्तीको सांस्कृतिक पहिचान रहेको सुन्दर गाउँ हो । गाउँपालिकामा २० वटा घरबास भए पनि हाल १२ वटा सञ्चालनमा छन् । पोखराबाट १० किलोमिटरमा उक्त गाउँपालिको सिमाना जोडिएको छ ।

मोदी–१ का वडाध्यक्ष गौप्रसाद गुरुङले प्राकृतिक सुन्दरतासँगै समुदायको आतिथ्यताले झिल्ली बरेङ आउने पाहुनालाई लोभ्याउने बताउनुभयो । उहाँले कोभिड–१९ का कारण आन्तरिक पर्यटकको आगमन कम हुँदै गएको बताउनुभयो । वडा सदस्य भुलबहादुर पौडेले गण्डकी प्रदेश सरकारले घरबास कार्यक्रमलाई प्राथमिकता दिएको जनाउँदै यसले ग्रामीण पर्यटनलाई प्रवद्र्धन गर्दै लगेको धारणा राख्नुभयो । उहाँले लेकसाइडका महिला पर्यटन व्यवसायीको उपस्थितिले यस क्षेत्रलाई थप चिनाउने विश्वाससमेत व्यक्त गर्नुभयो ।

उक्त घरबासका अध्यक्ष गर्बी गुरुङले पहिलो चरणमा महिला व्यवसायीलाई स्वागत गर्न पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले प्रारम्भिक चरणमा रहेकाले आवश्यक सल्लाह, सुझाव दिनसमेत आग्रह गर्नुभयो । ओटेफका संस्थापक अध्यक्ष जमुना पराजुलीले कोभिड–१९ पछि आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको जनाउँदै यस्ता कार्यक्रमले ग्रामीण पर्यटनमा प्रवद्र्धन हुने विश्वास व्यक्त गर्नुभयो । संस्थाका अध्यक्ष पार्वती पाण्डेले कोभिड–१९ चुनौतीका बीच पनि अवसरको खोजी गर्दै पर्यटकीय गन्तव्यको प्रचारप्रसारमा सबै जुट्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा संस्थाका सल्लाहकार दुर्गा ढकाल, देवका पहारी, पम्फा पहारी तथा कार्यक्रम संयोजक रीता रेग्मीलगायतका सहभागी सदस्यले अवसरसँगै देखिएका चुनौतीका विषयमा आ–आफ्नो अनुभव राख्नुभएको थियो । कोभिड–१९ ले शान्त र प्राकृतिकस्थलको खोजी, साहसिक पदयात्राप्रति पर्यटकको रुचिले ग्रामीण पर्यटन प्रवद्र्धन हुँदै गएको उहाँहरुको भनाइ थियो ।

त्यसैगरी कोभिड बढ्दै गएको अवस्थामा स्वास्थ्य मापदण्ड पालना नहुँदा थप समस्या सिर्जना हुनसक्नेतर्फ पनि छलफल गरिएको थियो । नेपाल पर्यटन बोर्ड आन्तरिक पर्यटन पुनरुत्थान समिति गण्डकीको प्रवद्र्धनमा आयोजना गरिएको उक्त घरबास कार्यक्रममा संस्थाका कार्यसमितिलगायत २४ जनाको सहभागिता रहेको सचिव ममता न्यौपानेले जानकारी दिनुभयो ।

विद्युत्को प्रतीक्षामा कालीकोटवासी
कालीकोटवासी झण्डै एक वर्षदेखि विद्युत्को प्रतीक्षामा छन् । जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकामा रहेको सान्तीघाट साना जलविद्युत् आयोजना अवरोध भएको १० महिना बितिसक्दा समेत मर्मत नहुँदा कालीकोटवासी एक वर्षदेखि विद्युत्को प्रतीक्षामा रहेका हुन् ।

सान्तीघाट जलविद्युत् आयोजना हालसम्म नबन्दा जिल्ला सदरमुकाममा हाल जेनेरेटरको माध्यमबाट दैनिक दुई घण्टा बत्ती दिने गरिएको छ । कालीकोटवासीलाई भने जलविद्युत् आयोजना कहिले बन्ला र विद्युत् कहिले आउला भन्ने पिरलो छ । यसको मर्मत हुने कुनै आधार नभएकाले विद्युत्का पोल र तारका लाइन हेरेर चित्त बुझाउने अवस्था आएको खाँडाचक्र नगरपालिका–१ का स्थानीयवासी प्रेमबहादुर शाहीले बताउनुभयो । उहाँले विद्युत् नियमित नहुँदा दैनिक कामकाजमा असर पार्ने गरेको बताउनुभयो ।

कालीकोटका सान्तीघाट जलविद्युत् आयोजना र राष्ट्रिय प्रसारण लाइनका विद्युत्का पोल र लाइन गाउँमा आए पनि बत्ती कहिले आउला भनेर बाटो हेरेर बसेको रास्कोट नगरपालिका–६ का विक्रमबहादुर शाहीले बताउनुभयो । विद्युत् तारको लाइन आइपुग्दा बत्ती पनि छिटो सञ्चालन गर्न माग गर्नुभयो । “नगरका सबै वडामा पोल गाडेर तार तान्ने काम भइसकेको छ तर बत्ती आउने कुनै टुङ्गो छैन”, उहाँले भन्नुभयो ।

कालीकोटको एक मात्र आयोजना सान्तीघाट जलविद्युत् आयोजनाको उत्पादन भइरहेको विद्युत् बिग्रेकाले बनाउने काम भइरहेको छ । सान्तीघाटभन्दा राष्ट्रिय प्रसारण लाइन ल्याउने गरी गाउँमा विद्युतीकरणको काम भइरहेको नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रले जनाएको छ ।

गाउँमा लाइन विस्तार गरेर ठिक्क पार्ने र राष्ट्रिय प्रसारण लाइन आउनेबित्तिकै गाउँमा बत्ती दिने कार्यालयको योजना रहेको वितरण केन्द्र्रका प्राविधिक शिवचन्द्र चौलागाईँले बताउनुभयो । “पहिला गाउँगाउँमा विद्युत्का पोल र तार तान्ने काम भइरहेको छ”, उहाँले भन्नुभयो, “त्यो काम चाँडै सम्पन्न हुन्छ, राष्ट्रिय प्रसारण लाइन जोड्ने काम हुनेछ ।”

आर्थिक सर्वेक्षण, २०७५ अनुसार कर्णालीका ७३ प्रतिशत जनता विद्युत् पहुँचभन्दा टाढा छन् । कर्णालीका ७९ वटा स्थानीय तहमध्ये हुम्ला, जुम्ला, कालीकोट, डोल्पा र मुगु जिल्लाका ४३ स्थानीय तहमा अझै विद्युत्को पहुँच पुग्न सकेका छैनन् । कर्णालीका १७ लाख ७० हजार नागरिकमध्ये अझै ७३ प्रतिशत जति बत्तीविहीन छन् । कर्णालीमा नौ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको थियो तर साविक कर्णाली अञ्चलका ८० प्रतिशत नागरिक अँध्यारोमै दिन गुजारा गर्छन् ।

मध्यरातमा फर्निचरमा आगलागी, अझै नियन्त्रणमा आएन
बागलुङ नगरपालिका–३ गुठीमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । विराट बोहराले सञ्चालन गरेको सिर्जना फर्निचरमा आगलागी हुँदा लाखौँको क्षति भएको प्रहरीले जनाएको छ ।

गए राति २ः०० बजेदेखि शुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन । फर्निचरमा रहेका सबै काठपात तथा तयारी सामग्री जलेका छन् । आगो नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र बागलुङ नगरपालिकाको दमकल प्रयोग भइरहेको छ । रातिदेखि शुरु भएको आगलागी आज बिहानसम्म नियन्त्रणमा नआएको हो ।

क्षतिको पूर्ण विवरण आइनसकेको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताउनुभयो । फर्निचरका सबै सामग्री जलेका छन् ।

Kantipath Media

यो छुट्टाउनु भो कि..