जसपा विवादमा टाउको गन्ती : यादवको पक्षमा ३४, ठाकुरको पक्षमा १६ जना मात्र

जनता समाजवादी पार्टीको विवादमा निर्वाचन आयोगले हेड काउन्ट गरेको छ। कसको पक्षमा बहुमत छ भनेर जाँच्न सोमबार आयोगले जसपाको कार्यकारिणी समितिका ५१ जनालाई हस्ताक्षर सनाखत गर्न बोलाएको थियो।

अहिलेसम्म ५० जनाले हस्ताक्षर सनाखत गरेका छन्। तीमध्ये अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोको पक्षमा १६ र उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षमा ३४ जनाले हस्ताक्षर सनाखत गरेका छन्। जेलमा रहेका कार्यकारिणी सदस्य रेशम चौधरी भने तठस्थ बसेका छन्। कार्यकारिणी सदस्यको हस्ताक्षर सनाखतपछि यादव र भट्टराई पक्षका नाममा पार्टी आउने निश्चितजस्तै भइसकेको छ।

यसअघि ठाकुर र महतोको पक्षमा रहेका राजकिशोर यादव र मनिष सुमन पनि यादवको पक्षमा लागेका छन्। उनीहरूमध्ये राजकिशोर केपी शर्मा ओली मन्त्रिपरिषदमा मन्त्री थिए। ओली सरकारमा मन्त्री बनेका उनी अहिले यादव-भट्टराई पक्षमा लागेका हुन्।

जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता विवादमा आफ्नो पक्षमा न्यून केन्द्रीय सदस्य मात्रै उभिएपछि जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले ५१ जना मात्रै दल नभएको बताएका छन्। निर्वाचन आयोग कार्यालय परिसरमा पत्रकारहरुसँग बोल्दै उनले जसपाको अहिलेको स्थितिलाई दुर्भाग्यपूर्ण भएको बताए।

निर्वाचन आयोगमा आज भएको ‘हेड काउन्ट’मा महन्थ ठाकुर र राजेन्द्र महतो पक्षमा १६ जना मात्रै उभिएका थिए। ‘दल कतै गएको छैन। ५१ जना मात्रै दल होइन। यो कुरा जनताले बुझेका छन्। निर्वाचन आयोगमा हामीले विभाजनसम्बन्धी प्राविधिक काम गर्‍याैं। यो दुर्भाग्यपूर्ण हो,’ उनले भने।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..