भौतिक दुरी सहित संयुक्त विद्यार्थी संगठनले विरोध प्रदर्शन गर्दै

‘प्रधानमन्त्री र सरकारले जताततै हस्तक्षेप गर्ने, दबाब र धम्की दिने तथा संकीर्ण स्वार्थका लागि जस्तोसुकै काम पनि गर्ने बाटो अंगीकार गरेपछि राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको’ निष्कर्षमा पुगेको विपक्षी गठबन्धनले सडक–संघर्षको नीति लिएको छ । जनताको कष्टपूर्ण संघर्षबाट प्राप्त उपलब्धि नै गुम्ने खतरा भएको भन्दै गठबन्धनले सडक–संघर्षमा जाने निर्णय लिएको हो ।

बुधबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवानिवासमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले राष्ट्रपति र सरकारका असंवैधानिक कार्यविरुद्ध कानुनी र राजनीतिक संघर्षलाई सँगसँगै अगाडि बढाउने निर्णय गरेको नेताहरूले बताएका छन् । विपक्षी गठबन्धनले प्रतिनिधिसभा विघटन गर्ने निर्णय बदर गर्न र संविधानको धारा ७६ (५)बमोजिम देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन गरेका थिए । सो मुद्दामा बुधबारदेखि बहस सुरु भएको छ । बहस सुरु भएकै दिन गठबन्धनले सडक–संघर्षमा जाने निर्णय लिएको हो ।

विपक्षी गठबन्धनमा आवद्ध दलहरु निकट विद्यार्थी संगठनहरुले विहीबार सरकारविरुद्ध प्रदर्शन गर्दैछन् । नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले बिहीबार दिउँसो ३ बजे काठमाडौंको भृकुटीमण्डपमा भेला भएर संयुक्त विरोध प्रदर्शन गर्न लागेका हुन् ।

सरकारले कोरोना कहरको मारमा परेका जनतालाई राहत दिनुको सट्टा कुशासन, महँगी र भ्रष्टाचार थोपरिरहेकाले विरोध प्रदर्शनमा उत्रिन लागेको विद्यार्थी संगठनका नेताहरुको भनाइ छ । सरकारले अलोकतान्त्रिक, असंवैधानिक र जनविरोधी हर्कत जारी राखेकाले भौतिक दुरी कायम गरी विरोध प्रदर्शन गर्न लागिएको अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।

संयुक्त विद्यार्थी संगठनको तर्फबाट प्रेषित बिज्ञप्ति :

नेपाली जनताको अत्यन्तै ठुलो त्याग, वलिदान र समर्पणको जगमा प्राप्त लोकतन्त्रिक गणतन्त्र, विधिको शासन र संविधानको हुर्मत काढ्न प्रधानमन्त्री केपि शर्मा ओली निरन्तर उद्धत रहेको सर्वविदितै छ । प्रधानमन्त्रीको ओलीका हरेक असंवैधानिक, अलोकतान्त्रिक र स्वेच्छाचारी कदमलाई संविधान रक्षकको कर्तव्यवाट च्युत भएर संवैधानिक राष्ट्रपति समेतले निरन्तर साथ दिनु झनै विडम्बनापूर्ण वनेको छ। संविधानको चिरहरण गरेर दोस्रो पटक प्रतिनिधिसभा विघटन गर्दै असंवैधानिक जगमा उभिएको प्रतिगामी सरकारले कोरोना कहरले आक्रन्त भएका जनतालाई राहत र सहुलियत दिनुको सट्टा एकपछि अर्को गर्दै राष्ट्रघात, कुशासन, महङ्गी र भ्रष्टाचार थोपरिरहेको छ ।

यसै सन्दर्भमा ओली नेतृत्वको प्रतिगामी सरकारका तमाम् असंवैधानिक, अलोकतान्त्रिक र जनविरोधी हर्कतका विरुद्ध मिति २०७८/०३/१० गते दिउँसो ३ वजे उपत्यकाको प्रदर्शनी मार्गमा मुलुकका प्रमुख पांच विद्यार्थी संगठनको तर्फबाट सामाजिक दुरी र स्वास्थ्य मापदण्ड भित्र रही संयुक्त विरोध प्रदर्शनको कार्यक्रम तय गरिएको सम्वन्धित सवैमा जानकारी गराइन्छ । उपत्यका वाहिर समेत पांच विद्यार्थी संगठनका तर्फबाट देशभर संयुक्त विरोध प्रदर्शन गरिनेछ ।

राजिव ढुङ्गाना
अध्यक्ष, नेविसंघ

रञ्जित तामाङ
अध्यक्ष, अनेरास्ववियू (क्रान्तिकारी )

सुदेश पराजुली
अध्यक्ष, अनेरास्ववियू

रुपनारायण श्रेष्ठ
अध्यक्ष, समाजवादी विद्यार्थी युनियन

विमल पोखरेल
अध्यक्ष, अखिल (छैठौं )

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..