काठमाडौँ ३२ मा कोरोना खोप बेचेको आरोप : तत्काल विवरण सार्वजनिक गर्न माओवादी केन्द्रको आग्रह

कोरोना खोप अभियानको क्रममा काठमाडौँ महानगरपालिका वडा नं ३२ मा खोपको हिनामिना गरेको आरोप लागेको छ । ३२ नं वडा जडिबुटी आसपासको क्षेत्र हो ।

आज नेकपा माओवादी केन्द्रले एक विज्ञप्ति जारी गर्दै सरकारले दिएको खोप तोकिएको उमेर समूहका व्यक्तिहरुलाई लगाउने भन्दा पृथक व्यक्तिहरुसँग अनुचित लाभ लिंदै खोप वितरण गरेका सूचनाहरु आएको बताएको छ । नागरिक समाज, पत्रकार तथा खोप अभियानमा आएका ज्येष्ठ नागरिक माथि दुर्व्यवहार भएको पार्टीले जनाएको छ ।

पार्टीका वडा संयोजक पदम कुमार रेग्मीले विज्ञप्तिमा भनेका छन्, ‘सिङ्गो देश कोरोनाको महामारी विरुद्ध एकजुट भएर लडिरहेको सन्दर्भमा संक्रमणको हटस्पट मानिएको काठमाडौँ महानगरको वडा नं ३२ को कोरोना खोप अभियानको क्रम भएका केहि घटनाले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

हाल सिङ्गो संसार कोरोना महामारी (कोभिड-१९) ले भयवित छ । चरणबद्ध रुपमा नेपाल सरकारले जोखिम हेर्दै उमेर समूह र फ्रन्टलाईनरलाई कोरोनाको खोप प्रदान गर्दै आएको छ । नागरिक र सरकारको साझेदारीमा मात्र कोरोनाको रोकथाम तथा नियन्त्रण सम्भव छ ।

हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), अन्य राजनीतिक दल तथा सरकारको पहलमा विभिन्न देशबाट कोरोना खोप आउने क्रम जारी छ ।

तर खोप अभियानको क्रममा ‘गुण्डा’ हरु बोलाएर वृद्धवृद्धा तथा लाभग्राहीलाई गरिएको दुर्व्यवहारको माओवादी केन्द्रले गम्भीर निन्दा तथा भत्सर्ना गरेको छ । नागरिकको स्वास्थ्यसँग जोडिएको उक्त संबेदनशील विषयमा तत्काल छानबिनको प्रक्रिया अघि बढाउन माओवादी केन्द्रले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ ।

कोरोना खोप बेच्नेसम्मका अपराध भएका उजुरी पार्टीको वडा कमिटीमा आएको भन्दै कोरोना खोपको प्रमाणित विवरण तत्काल सार्वजनिक गर्न वडा कार्यालयलाई माओवादी केन्द्रले अनुरोध गरेको छ ।

नागरिकको स्वास्थ्य माथिको खेलवाड ग्राह्य नहुने तथा विवरण सार्वजनिक नगरे जनस्तरबाट प्रतिवाद हुने संयोजक रेग्मीले बताएका छन् ।

BK
http://ganeshbk.com.np

यो छुट्टाउनु भो कि..