कवाडी बन्दै कम्प्युटर

भौतिक पूर्वाधार र शिक्षक व्यवस्थापनबिना नै महोत्तरीका विद्यालयमा किनिएका÷दिइएका कम्प्युटर अब कवाडी (थोत्रा, काम नलाग्ने) बन्दैछन् । जिल्लाका सामुदायिक विद्यालयले समुचित कोठा, फर्निचर र शिक्षक व्यवस्थापन नै नगरी किनेका र राज्यका निकायबाट दिइएका कम्प्युटर प्रयोगमा नआएर लामो समयदेखि थन्किँदा खिया लाग्दै गएर अब कवाडी बन्दै गएका हुन् ।

जिल्लाको सम्सी गाउँपालिका–७ स्थित जनता माविमा दुई वर्षअघि किनिएका कम्प्युटर भण्डारण कोठा (स्टोररुम) मा थन्किएका छन् । धुलाम्य भण्डार कक्षमा राखिएका २४ कम्प्युटर प्रयोगमा आउन सकेको छैन । “नेपाल सरकारको आइसिटी कार्यक्रमअन्तर्गत विद्यालयलाई कम्प्युटर प्राप्त भएका हुन्”, विद्यालयका प्रधानाध्यापक महेश्वर राय भन्नुहुन्छ, “तर शिक्षक अभावमा प्रयोगात्मक सिकाइ हुन नसक्दा लाखौँ मूल्यका कम्प्युटर बिगँ्रदैछन् ।” विषय शिक्षकको प्रबन्धका लागि स्थानीय तह र जिल्लास्थित शिक्षा विकास समन्वय एकाइ कार्यालयमा समस्या राखिए पनि समाधान भने नभएको प्रअ रायको भनाइ छ । शिक्षक प्रबन्ध नै नगरी कम्प्युटर विद्यालयलाई दिने सरकारी नीति नै दोषपूर्ण भएको सम्सीका शिक्षाविद् बताउँछन् ।

पाठ्यक्रमअनुसार कक्षा ५ देखि नै कम्प्युटर विषय पठनपाठन गराइनु पर्छ । अहिले प्रयोगात्मक अभ्यास गराउने दक्ष शिक्षक नभएपछि कम्प्युटरसम्बन्धी पाठ्यपुस्तक फलाकेर झारा टार्ने काम मात्र भएको शिक्षक नै स्वीकार गर्छन् । सम्सी गाउँपालिकामा १३ सामुदायिक विद्यालय छन् ।

तर कुनै पनि विद्यालयमा कम्प्युटरको प्रयोगात्मक अभ्यास भने भएको छैन । विषयको महत्व नै अभ्यासमा रहेको हुँदा आपूmहरु कम्प्युटर सिकाइबाट बञ्चित रहेको यहाँका विद्यार्थीको गुनासो छ । “कम्प्युटर विद्यालयमा आउँदा ओहो अब संसारका अन्य विद्यार्थीजस्तै नयाँ प्रविधि सिक्न पाइने आसले रोमाञ्चित बन्यौँ”, कम्प्युटर आउँदाको आफ्ना सबैजसो साथीको खुशी व्यक्त गर्दै जनता मावि सम्सी–७ का कक्षा ८ की एक छात्राले भन्नुभयो, “तर यी त हामीलाई सिकाउन होइनन, फोहरैफोहरको थुप्रो देखिने भण्डारण कक्षमा थन्क्याउन पो ल्याइएका रहेछन् ।”

सम्सी गाउँपालिकाका कुनै विद्यालयमा व्यवस्थापन समिति बन्न सकेको छैन । गाउँपालिकाले शिक्षामा बजेट नछुट्याउँदा अवसरबाट बञ्चित रहँदै आएका यहाँका गरिबका छोराछोरी गुणस्तरीय शिक्षा पाउनबाट बञ्चित भएका सम्सी गाउँकै बासिन्दा स्थानीय सामाजिक, राजनीतिक कार्यकर्ता मोहम्मद इम्तियाज अहमदको भनाइ छ ।

सम्सीजस्तै जिल्लाकै भङ्गाहा नगरपालिका–५ स्थित माध्यमिक विद्यालय भङ्गाहा, सीतापुर, सिद्धपुरमा चार वर्षदेखि कम्प्युटर भण्डारण कक्षमा थन्किएका छन् । कम्प्युटर विषयको प्रयोगात्मक अभ्यास गराउने शिक्षक नहुँदा विद्यालयलाई प्राप्त लाखौँ मूल्यका यी सामग्री बिगँ्रदै गएका प्रधानाध्यापक श्रीराम यादव बताउनुहुन्छ ।

यसैगरी जिल्लाकै बर्दिवास नगरपालिका–९ पशुपतिनगरस्थित राष्ट्रिय माध्यमिक विद्यालय बनरझुल्लामा विसं २०७५ मै तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आफ्नै संसदीय विकास कोषबाट १५ थान कम्प्युटर उपलब्ध गराउनुभएको थियो । अन्य निकायबाट थप सहयोग प्राप्त भएका समेत विद्यालयमा अहिले २४ थान कम्प्युटर छन् । तर यहाँ पनि विषय शिक्षकको अभावमा कम्प्युटर थन्केर रहेको प्रधानाध्यापक हरिदेव महतो बताउनुहुन्छ । यीबाहेक जिल्लाका अन्य थुप्रै ठाउँमा कम्प्युटर विषय शिक्षकको अभावमा प्रयोगात्मक अभ्यास हुनसकेको छैन । आवश्यक भौतिक पूर्वाधार र शिक्षक व्यवस्थापनको चाँजो नै सुनिश्चित नगरी बाँडिएका कम्प्युटर अहिले त्यसै रहेका छन् ।

“कम्युटरको नाममा राज्यकोषको करोडौँ रकम प्रवाह भएको छ”, जिल्लाको भङ्गाहा–७ मेघरोलका बासिन्दा माध्यमिक विद्यालयका सेवानिवृत्त प्रधानाध्यापक चन्द्रनारायणसिंह थारू भन्नुहुन्छ, “त्यो त बालुवामा पानी खन्याएकै भयो नि !” पूर्वाधार र शिक्षक व्यवस्थापनबिना नै कम्प्युटर बाँड्दा करोडौँ रकमका यी सामग्री अहिले कवाडी बनेका थारूको थप टिप्पणी छ ।

अब कम्प्युटर वितरण गरिँदा भौतिक पूर्वाधारको सुनिश्चितता गर्ने र यसअघि प्रदान गरिएका कम्प्युटर प्रयोगमा ल्याउन आवश्यक प्रबन्ध गर्ने वा प्रबन्ध हुनसक्ने ठाउँमा व्यवस्थापन गर्न राज्यले नै पहलकदमी लिनपर्ने नेपाल सरकारको शिक्षा सेवामा उपसचिव पदबाट सेवानिवृत्त भएका जलेश्वर नगरपालिका–४ सुगाभवानीपट्टीका कृष्णचन्द्र झा बताउनुहुन्छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..