annapurna add

Surendra Pandey2020 05 04 06 59 32

सत्तारुढ नेकपाको केन्द्रमा देखिएको विवादको प्रभाव स्थानीय तहसम्म देखिन थालेको छ। शनिबार चितवनको राप्ती नगरपालिकाको वीरेन्द्रनगरमा नेकपा नगर वडा कमिटीको कार्यक्रममा स्थायी कमिटी सदस्य तथा सोही निर्वाचन क्षेत्रका निर्वाचित प्रंतिनिधिसभा सदस्य सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा केही युवाहरुले विथोलेका छन्।

यसरी कार्यक्रम विथोलिनु नियोजित नै रहेको पाण्डेले बताएका छन्। चितवनमै रहेका पाण्डेले फोनमा भने, ‘वडा कमिटीको कार्यक्रम थियो, ठूलो भेला पनि होइन। म मेरो भनाई सक्काउनै लाग्दा नारावाजी भयो। घटनक्रमलाई हेर्दा यो नियोजित जस्तै देखियो।’

उनले अगाडि थपे, ‘मैले भनाईको अन्तिममा मदन भण्डारी फाउण्डेशन, पुष्पलाल स्मृति प्रतिष्ठान लगायतका संस्थाहरुले पार्टीमा गुटबन्दी बढाउने आधार सुरु गरेकाले कार्यदलबाट सर्वसम्मत रुपमा अहिलेलाई यस्ता प्रतिष्ठानले कार्यक्रम नगर्ने निर्णय भएको बताइरहँदा केही युवाहरु उभिएर, मदन भण्डारी फाउण्डेशन जिन्दावाद, जबज जिन्दावाद, राजनेता केपी ओली जिन्दावाद जस्ता नारा लगाए।’

स्मरण रहोस नेकपामा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अगुवाईमा रहेका नेताहरुबीच विवाद चुलिएको छ। नेता पाण्डे प्रचण्डको अगुवामा रहेको समूहमा वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिन्छन्। यसअघि गएको असारमा पनि पार्टीमा विवाद हुँदा ओली निकट युवा विद्यार्थीहरुले सडकमा प्रदर्शन गरेका थिए।

नेकपा वरिष्ठ नेता झलनाथ खनालले पूर्वमन्त्री सुरेन्द्र पाण्डेमाथि चितवनको राप्ती नगरमा भएको अभद्र व्यवहारलाई निन्दनीय भनेको छन् । चितवनको राप्ती नगरपालिकास्थित विरेन्द्रनगरमा अगुवा कार्यकर्ता भेला सम्बोधनका क्रममा वरिष्ठ नेता माधवकुमार नेपालनिकट स्थायी समिति सदस्य पाण्डेलाई प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली समर्थित कार्यकर्ताले पार्टी एकताबिरोधी भन्दै अभद्र व्यवहार गरेका थिए ।

यस विषयमा खनाल जारीद्वारा विज्ञप्तिका भनिएको छ, 'कार्यक्रममा आफ्ना भनाइहरु राखिरहेको अवस्थामा अनाधिकृत रूपमा प्रवेश गरेका केही अराजक व्यक्तिले गरेको अभद्र व्यवहार तथा नाराबाजी अत्यन्तै निन्दनीय छ । यस्तो गैह्र जिम्मेवारपुर्ण घटनाको घोर निन्दा तथा भर्त्सना गर्दछु । '

कम्युनिस्ट पार्टीको नैतिक मूल्य, आचरण तथा आदर्श विपरीत यस्तो आपत्तिजनक कार्यमा संलग्न व्यक्तिलाई तत्काल कडा भन्दा कडा कारबाही गर्न खनालले सम्बन्धित पार्टी कमिटीको ध्यानाकर्षण गराए । 'पार्टीमा आन्तरिक विवाद उत्कर्शमा पुगेको र त्यसको सही समाधान गर्न उपायहरु खोजी भइरहेको परिस्थितिमा घट्ने यस्ता घटनाहरुले स्थितिलाई झन उत्तेजित बनाउनेतर्फ सचेत रहन सम्पुर्ण नेता , कार्यकर्तालाई विनम्र अनुरोध छ,' विज्ञप्तिमा उल्लेख छ ।

पार्टीका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा भएको नाराबाजीप्रति नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले भर्त्सना गरेका छन् । नेता नेपालले शनिवार विज्ञप्ति जारी गर्दै पार्टी काममा लागिरहेका नेता पाण्डेमाथि सुनियोजित रुपमा अभद्र व्यवहार भएको भन्दै छानबिनको माग गरेका छन् ।

‘गृह जिल्लाका विकास आयोजनाहरूको अनुगमन तथा पार्टीका कार्यक्रमहरूमा सहभागी हुने क्रममा चितवनमा रहनुभएका हाम्रो पार्टीका स्थायी कमिटी सदस्य, पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य कमरेड सुरेन्द्र पाण्डे आज राप्ती नगर पार्टीको बैठकमा सहभागी भई मन्तव्य राखिरहेको बेला अनाधिकृत रूपमा प्रवेश गरेका केही ब्यक्तिहरूले सुनियोजित रूपमा गरेको अभद्र व्यवहार तथा नाराबाजीको निन्दा एवम् भर्त्सना गर्दछु’

नेता नेपालले विज्ञप्तिमा भनेका छन्, ‘सभ्य, सुसंस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्देश्य बोकेको कम्युनिष्ट आदर्श अवलम्बन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउने उक्त कार्य गर्ने र गराउने जोसुकै भए पनि छानबिन गरी कडाभन्दा कडा कारबाही गर्न स्थानीय पार्टी एवम् सम्बन्धित सबैको गंभीर ध्यानाकर्षण गराउँछु ।’

राप्ती नगरपालिकाको वीरेन्द्रनगरमा शनिबार आयोजना गरिएको अगुवा कार्यकर्ता भेलामा पुगेका पाण्डेविरुद्ध आफ्नै पार्टीका कार्यकर्ताले नाराबाजी गरेका थिए । नाराबाजीका कारण केहीबेर कार्यक्रम अवरुद्ध भएको थियो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली पक्षका कार्यकर्ताले नाराबाजी र होहल्ला गरेको आरोप छ । नेकपामा दुई समूहबीच विवाद बढेकैबेला त्यसको असर जिल्लामा पनि देखिन थालेको छ ।

प्रकासित मिति

 
 
Loading...
Loading...

 

Loading...

 

ताजा समाचार