६ बुंदे प्रस्ताव ओलीको मिडिया खपतको फण्डा : एमाले नेतृ झाँक्री

नेकपा (एमाले) माधव नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष केपी शर्मा ओलीले एकताको एकतर्फी घोषणा गरेर झुक्याउन खोजेको आराेप लगाएकी छिन्। आइतबार पार्टी एकताका लागि आह्वान गर्दै ओलीले माधव नेपाल पक्षको मागअनुसार पार्टीलाई २०७५ जेठ ३ गते पूर्व (जेठ २ गते) माओवादी केन्द्रसँग एकता हुनु अगाडिको अवस्थाबाट अगाडि बढाउन तयार भएको बताएका हुन्।

सामाजिक सञ्जालमामार्फत् यसकाे प्रतिकृया दिँदै झाँक्रीले एकताको कुरा साच्चै एकताको लागि गरिएको भए दुई पक्षबीचमा सहमति गरेर वरिष्ठ नेता नेपालसहितको संयुक्त वक्तव्यको रूपमा आउनुपर्ने बताएकी छिन्। ‘सुरूमा यो वक्तव्य देखेर म पनि खुसी भएँ। उत्साहित हुँदै पढेँ। पढ्दै जाँदा लाग्यो पार्टीको एकता खास उदेश्यका लागि थियो र एकता भंग पनि खास उदेश्य पुरा गर्न योजनागत ढंगले गरिएको कुरा दिनको घाम जस्तै छ। एकतर्फी घोषणा गरेर एकता गर्न खोजिएको होइन झुक्याउन, अलमलाउन र मिडिया कन्जम्सनको लागि हो भनेर बुझ्नुपर्छ,’ उनले लेखेकी छिन्।

एकताका लागि नेपाल पक्षका तत्कालीन सांसदहरुले संसद पुनस्स्थापना तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि आदेश जारी हुनुपर्ने मागदाबीसहित सर्वोच्च अदालतमा दायर गरिएको रिटबाट हस्ताक्षर फिर्ता लिनुपर्ने शर्त पनि ओलीले अगाडि सारेका छन्।

यस्तो छ झाँक्रीको प्रतिक्रिया :
भर्खरै मिडियामा अध्यक्ष क. खड्ग प्रशाद ओलीको नामबाट आएको वक्तव्य पढ्न पाइयो। सुरूमा यो वक्तव्य देखेर म पनि खुसी भएँ। उत्साहित हुदै पढेँ। पढ्दै जाँदा लाग्यो पार्टीको एकता खास उदेश्यका लागि थियो र एकता भंग पनि खास उदेश्य पुरा गर्न योजनागत ढंगले गरिएको कुरा दिनको घाम जस्तै छ। अब रह्यो नेकपा एमालेको एकताको कुरा: यो साच्चै एकताको लागि गरिएको भए एकता गर्नुपर्ने दुई पक्ष बिचमा सहमति गरि वरिष्ठ नेता कमरेड माधव नेपाल सहितको संयुक्त वक्तव्यको रूपमा आउथ्यो। एकतर्फी घोषणा गरेर एकता गर्न खोजिएको होईन… झुक्याउन, अलमलाउन र मिडिया कन्जम्सनको लागि हो भनेर बुझ्नुपर्छ।

अझ गम्भिर कुरा त के छ भने बुदा नं. ४ मा अदालतमा दिएको हस्ताक्षर फिर्ता गरिनेछ भनिएको छ। यो कसले फिर्ता लिने? फिर्ता लिने पक्षसंग यो वक्तव्य जारी गर्न सहमति वा संवाद आवश्यक पर्ने होईन र? लोकतन्त्रको रक्षाको लागि संविधानलाई क्रियाशिल गराउन, संसद पुनस्थापना गर्न, हामी अदालतको ढोका ढकढकाउन पुगेका थियौँ। हामीहरूले यसको सुनिश्चिता बिना हस्ताक्षर फिर्ता लिने भन्ने प्रश्न नै आउँदैन। त्यसैले यो एक प्रकारले पार्टी एकता हुन नदिने डिजाईनका साथ आएको वक्तव्य हो। यसप्रति भ्रममा नपर्न अनुरोध गर्दछु। बिकसित घटनाक्रम र समग्र पछिल्लो राजनीतिक परिस्थितिवारे हाम्रो पार्टीको स्थायीको बैठक बसी संस्थागत धारणा दिइनेछ।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..