‘राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई केन्द्रमा राखेर अघि बढौँ’

Kul bdr gurung

नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङले राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई केन्द्रमा राखेर पार्टीका सबै तह र तप्काका व्यक्ति एकजुट भई अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

Kul bdr gurungबिपी विचार राष्ट्रिय समाजको तेस्रो साधारणसभाको आज राजधानीमा उद्घाटन गर्दै उहाँले देशको राजनीतिक वातावरण बिग्रँदै गएकामा चिन्ता व्यक्त गर्नुभयो । “राजनीतिलाई पेशा बनाइएको छ, त्यसबाट प्राप्त शक्ति, सम्मान र मर्यादालाई व्यक्तिगत वा समूहगत स्वार्थमा प्रयोग गरिदैछ”, बिपी कोइरालाले देखाएको बाटोलाई बेवास्ता गरेकाहरुप्रति इङ्गीत गर्दै समाजका अध्यक्षसमेत रहनुभएका गुरुङले भन्नुभयो ।

बिपी कोइरालाका अनुयायीले देश र जनताका निम्ति निष्ठाका साथ काम गर्नुपर्ने जनाउँदै राष्ट्रियताको अडान नत्याग्ने बिपीको सिद्धान्तको पालना गर्न पार्टीका सबै तहका कार्यकर्तालाई आग्रह गर्नुभयो ।

पूर्वसभामुख तारानाथ रानाभाटले बिपी कोइरालाले प्रतिपादन गर्नुभएको राजनीतिक विचार र सिद्धान्तलाई सत्ता स्वार्थमा लागेर परित्याग गरेका कारण नेपाली कांग्रेस दिशाहीन हुँदै गएकामा खेद प्रकट गर्नुभयो ।

समाजका सहसभापति गोविन्दराज जोशीले राष्ट्रियताको संरक्षण, लोकतन्त्रको स्थायित्व, आर्थिक उन्नति र जनताको जीवनस्तर उठाउने गुरुत्तर दायित्व बोकेको नेपाली कांग्रेस विखण्डित भएको बताउनुभयो ।

संवैधानिक कानूनका जानकार भीमार्जुन आचार्यले लोकतान्त्रिक संस्था र तिनका संरचनालाई सुदृढ तुल्याउन नेपाली कांग्रेसमात्र नभई सम्पूर्ण नेपाली जनताले आवाज उठाउन जरुरी भएको विचार व्यक्त गर्नुभयो । दार्चुला, डडेल्धुरा, मनाङ, मुस्ताङ, भक्तपुर र तेह्रथुमबाहेक सातै प्रदेशका ७१ जिल्लामा विस्तार भएको समाजको दुईदिने अधिवेशन नयाँ नेतृत्व चयन गर्दै आइतबार समापन हुनेछ ।

उपचारमा कुनै कसर बाँकी नराख्न मन्त्री आलेको निर्देशन
वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले चितवनको गँैडा गणनामा धु्रवे नाम गरेको जङ्गली हात्तीको आक्रमणमा परी घाइते भएका कर्मचारी तथा गणकको उपचारमा कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिनुभएको छ ।

मन्त्री आलेले आज राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रमुख डा दीपककुमार खराललाई भेटगरी घाइते भएका कर्मचारीको उपचारमा कुनै पनि समस्या आउन नदिनका लागि पहल चाल्न निर्देशन दिनुभएको हो । गैँडा गणना कार्यमा निकै सजगता अपनाउनसमेत उहाँले सबैमा आग्रह गर्नुभएको छ ।

यसैगरी मन्त्री आलेले उक्त धु्रवे नाम गरेको जङ्गली हात्ती कुन ठाउँमा छ त्यसका बारेमा यकीन जानकारी लिएर तथा आफ्नो सुरक्षा व्यवस्था मजबुद बनाएर मात्रै गैँडा गणनाको कार्य अगाडि बढाउनसमेत निर्देशन दिनुभयो ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको मध्यबिन्दु नगरपालिका–२ नजिकै चितवन राष्ट्रिय निकुञ्जको पश्चिम सेक्टर क्षेत्रमा खटिएको टोलीलाई जङ्गली हात्तीले शुक्रबार लखेटेपछि हात्तीबाट खसेर पाँच जना घाइते भएका थिए ।

राष्ट्रिय निकुञ्जका प्रमुख डा खरालका अनुसार धु्रवे हात्तीले लखेटेर घाइते हुनेमा राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी ३५ वर्षीय विनोद श्रेष्ठ, माहुते सर्लाही जिल्ला हरिपुर नगरपालिका–७ का ४२ वर्षीय दीपेन्द्र चौधरी र रौतहट चन्दनपुर नगरपालिका–७ का ५१ वर्षीय पे्रमलाल कहार चौधरी रहेका छन् । घाइतेमध्ये राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी श्रेष्ठको अवस्था गम्भीर रहेको र उहाँको काठमाडौँस्थित हेम्स अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

जङ्गली हात्तीको आक्रमणमा परी गैँडा गणनामा गएका कर्मचारी घाइते भएपछि आज एक दिनका लागि सो क्षेत्रको गैँडा गणना कार्य रोकिएको प्रमुख डा खरालले जानकारी दिनुभयो ।

बसाइँसराइ रोक्न गाउँपालिकाको नयाँ रणनीति
बसाइँसराइले गाउँ रित्तिदै जान थालेपछि बन्दीपुर गाउँपालिकाले नयाँ रणनीति अपनाएको छ । सुविधा खोज्दै गाउँबाट शहर बसाइँसराइ हुँदा रित्तिदै जान थालेपछि यसलाई रोक्न नयाँ योजना ल्याइएको हो ।

गाउँमा रहेको सम्भावनालाई बुझ्न नसकी शहर केन्द्रित हुने प्रवृत्तिलाई रोक्न गाउँपालिकाले भौतिक पूर्वाधार निर्माणमा प्राथामिकता, घरबास सञ्चालन र सीपमूलक तालीमको व्यवस्था गर्दै आएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाअन्तर्गत रहेका छ वडामा १० वटा घरबास सञ्चालन हुँदै आएका छन् । वडा नं २ चण्डिनी पिपलथोकस्थित बन्दीपुर सामुदायिक होमस्टे २२ जना महिला मिलेर सञ्चालन गर्दै आएको सचिव माया सुनारले बताउनुभयो ।

कोरोना रोगको न्यूनीकरणसँगै घरबासमा आन्तरिक पर्यटकको आर्कषण बढ्दै गएकाले थप हौसला मिलेको उहाँले बताउनुभयो । विशेष गरी उक्त घरबासमा क्याम्पसका विद्यार्थी, सहकारी संस्था, आमा समूह, कर्मचारी आउने गरेका छन् । आन्तरिक पर्यटकको चहलपहलमा वृद्धि हुँदै गए पनि बाह्य पर्यटक फाट्टफुट्ट देखिन थालेको सचिव सुनारले बताउनुभयो ।

डेढ सयदेखि दुई सयसम्म पर्यटक राख्न सकिने क्षमताका घरबास रहेको र अहिले दैनिक ४० देखि ६० जनासम्म आन्तरिक पर्यटक आउने गरेको उहाँले बताउनुभयो । बेलुका खाना खानुअघि खाजा, खाना, बास, बिहान खाजा र खाना गरी रु ७०० को प्याकेज रहेको छ । आगामी वैशाख १ गतेदेखि प्याकेज शुल्कमा केही वृद्धि गर्ने योजना रहेको घरबास सञ्चालकले जनाएका छन् ।

गाउँगाउँमा घरबास सञ्चालन गर्न थालेपछि महिला व्यस्त हुने र पुरुष बाख्रा, कुखुरा, तरकारीलगायतका व्यावसायिक काममा लाग्न थालेपछि स्थानीयवासी स्वरोजगार बन्दै गएको घरबासकी अध्यक्ष दिलकुमारी रानाले बताउनुभयो ।

क्यान्सरपीडितको उपचारका लागि सहयोग
व्यास साङ्गीतिक समूहले क्यान्सरपीडित तनहुँको व्यास नगरपालिका–४ निवासी विकास दरैको उपचारका लागि रु दुई लाखभन्दा बढी रकम सहयोग गरेको छ । समूहले दमौली, डुम्रे, आँबुखैरेनीमा साङ्गीतिक कार्यक्रम गरेर सङ्कलन गरेको रु दुई लाख २८ हजार १५५ पीडितको उपचारका लागि सहयोग गरेको हो ।

उक्त रकम समूहका अध्यक्ष मोहनराज आलेले पीडितका बुबा हस्तबहादुर दरैलाई हस्तान्तरण गर्नुभएको छ । क्यान्सरपीडित दरैको उपचारका लागि व्यास–३ घर भई हाल अमेरिका बस्नुहुने उत्तम भट्टराईले रु १० हजार, नारायण पौडेलले रु पाँच हजार, ब्ल्याक स्ट्रोक रेस्टुरेण्टले रु तीन हजार १००, गोरखकाली बोर्डिङ स्कूलले रु २५ हजार, बाराही आवासीय माध्यमिक विद्यालयले रु २१ हजार ९०० सहयोग गरेको युवा अभियानकर्मी सुमन श्रेष्ठले जानकारी दिनुभयो ।

रु दुई लाखको फोटो बिक्री

क्यान्सरबाट पीडित भई भारतमा उपचाररत दरैको उपचारमा सहयोग जुटाउन दमौलीमा फोटो प्रदर्शनी गरी बिक्री गरिएको छ । प्रदर्शनीमा स्वयं उहाँले नै खिचेका तस्वीर राखिएको थियो । प्रदर्शनीबाट १०७ तस्वीर बिक्री भएको उहाँका साथी सनम अधिकारीले जानकारी दिनुभयो । प्रदर्शनीमा देशका विभिन्न भागमा खिचिएका तस्वीर राखिएको थियो । एउटा तस्वीरको मूल्य रु दुई हजार राखिएको थियो । सोही तस्वीर आगामी वैशाख १ गते बन्दीपुरमा प्रदर्शन गरिने भएको छ ।

दरै क्यान्सरसँग जुध्दै जीवन र मरणको दोसाँधमा हुनुहुन्छ । आन्द्रामा क्यान्सर भएर विगत केही वर्षदेखि भारतमा उपचाररत दरै एक कुशल फोटोग्राफर हुनुहुन्छ । फोटोग्राफीमा निकै रुचि राख्ने उहाँ देशका विभिन्न ठाउँमा पुगेर तस्वीर खिच्ने गर्नुहुन्थ्यो ।

अपराह्नपछि मेघगर्जनसहित वर्षाको सम्भावना
देशका पहाडी भूभागमा आंशिक बदली रही अपराह्नपछि केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागले स्थानीय वायुको प्रभावले देशका अधिकांश स्थानमा आंशिकदेखि बदली रही पहाडी भू–भागका केही स्थानमा अपराह्नपछि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

बिहानपख घाम लागे पनि दिउँसोदेखि स्थानीय वायु सक्रिय भई पहाडी भू–भागमा वर्षाको सम्भावना देखिएको हो । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यातया सफा रहेको छ ।

दिउँसो देशका प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलव सात डिग्री र अधिकतम तापक्रम २७ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम माइनस एक दशमलव नौ डिग्री र सबैभन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३५ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।

रङ्गशालाको ८५ प्रतिशत काम सकियो
प्रदेश नं १ सरकारको प्राथमिकतामा रहेको भोजपुर रङ्गशाला निर्माणको काम ८५ प्रतिशत सम्पन्न भएको छ । सदरमुकाम नजिकै रहेको कोदारमा शहरी विकास तथा भवन निर्माण कार्यालय धनकुटाको रु १४ करोड पाँच लाख लागतमा गत मङ्सिरदेखि रङ्गशालाको निर्माण शुरु गरिएको हो ।

आगामी २०८० सालसम्म निर्माण अवधि भए पनि सरकारले समयमा बजेट दिएमा सम्झौताअघि नै काम सम्पन्न गर्ने निर्माण कम्पनी रायामाझी, मार्सेली जेभीले जिकिर गरेको छ । कम्पनीका प्रमुख श्याम श्रेष्ठले भन्नुभयो, “हालसम्म रङ्गशालाको ८५ प्रतिशत काम सम्पन्न भएको छ, सरकारले समयमा बजेट पठाउन सक्यो भने चालु आर्थिक वर्षमा निर्माण पुरा गछौँ ।”

हालसम्म कार्यालय भवन, फाउन्डेसन लगाउनेलगायत स्टक्चरको काम अन्तिम चरणमा पुगेको छ भने प्यारापिट बनाउने, रिटेनिङवाल लगाउने काम भइरहेको निर्माण कम्पनीले जनाएको छ । त्यस्तै खेलमैदानमा दुबो लगाउने काम पनि भइरहेको छ ।

करिब २५ रोपनी क्षेत्रमा निर्माण भइरहेको सात हजार वर्गमिटरको रङ्गशालामा पाँच हजार मानिस अट्न सक्ने गरी सात प्यारापिट निर्माण हुने शहरी विकास तथा भवन निर्माण कार्यालयले जनाएको छ । निर्माण भरहेको रङ्गशालाको शुक्रबार मुख्यमन्त्री शेरधन राईले समेत स्थलगत अनुगमन गर्नुभएको छ ।

Kantipath Media

यो छुट्टाउनु भो कि..