माधवका एक्ला सांसदसँग ओलीका ३ सांसद जोडिएपछि जोगियो गण्डकी प्रदेशसभा !

शनिबार दिउँसो गण्डकी प्रदेश सभा विघटन हुने धेरैको अनुमान थियो। विश्वासको मतमा जम्मा २७ मत ल्याएर पराजित मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि विपक्षीले बहुमत देखाइसकेको अवस्थामा बहुमत सांसद आफ्नो साथमा रहेको दाबी प्रदेश प्रमुखको कार्यालयमा प्रस्तुत गरे, उनले जसपाको प्रदेश कमिटीको निर्णय र जनमोर्चाका निलम्बित सांसद कृष्ण थापाको समर्थन रहेको पत्र बुझाएका थिए।

पौडेलले दुवैको दाबी खारेज गर्ने र प्रदेश सभा विघटन गर्दै चुनाव घोषणा गर्ने धेरैको अनुमान गलत साबित भयो। जेठ २७ गते मात्र विश्वासको मत पाउन नसकेर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदबाट हटेपछि प्रदेश प्रमुख पौडेलले संविधानको धारा १६८ को उपधारा ५ अनुसार जेठ २८ गते २४ घण्टा समय दिँदै नयाँ सरकार गठनका लागि आह्वान गरिन्।

गण्डकी प्रदेश सभाको कूल सदस्य संख्या ६० हो। त्यसको बहुमत ३१ जना हुन्छ। विपक्षी गठबन्धनबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले बहुमत ३१ सांसद प्रदेश प्रमुखको कार्यालयमै उपस्थिति गराई मुख्यमन्त्रीको पदको दाबी पेस गरे। उनले ३१ सांसदको सनाखत पनि गराएका थिए ।

विपक्षी गठबन्धनका पोखरेलले कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका १२, जनता समाजवादी पार्टीका २, राष्ट्रिय जनमोर्चाका २ र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेगरी आफ्ना पक्षमा ३१ सांसद जुटाएका थिए।

विपक्षीले बहुमत प्रस्तुत गरिसकेकाले एमालेभित्रैका सांसदले मुख्यमन्त्री गुरुङले सहजै सत्ता छाड्नुपर्छ भन्नेमा थिए। तर गुरुङले एकाएक शनिबार बहुमतको दाबी प्रदेश प्रमुखसमक्ष पेस गरेपछि उनकै पार्टीका सांसदहरू इन्द्रलाल सापकोटा, रोशनबहादुर गाहा थापा, मीनप्रसाद गुरुङ र महेन्द्र थकाली उक्त कदम रोक्नुपर्छ भन्ने निष्कर्षमा पुगे। इन्द्रलाल सापकोटा बाहेक अरु सांसद ओली पक्षका हुन् ।

यसपछि गुरुङले प्रदेश प्रमुख पौडेललाई फोन गर्दै भने, ‘संविधानअनुसार अगाडि बढ्नुहोला।’ अनि मात्र प्रदेश प्रमुख पौडेलले ढिलै भए पनि साँझ विपक्षी गठबन्धनकै उम्मेदवार पोखरेललाई मुख्यमन्त्री पदमा नियुक्ति गरेकी हुन्।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..