यसकारण सर्यो माधव पक्षको बैठक : आज पुन बस्दै

नेकपा (एमाले) माधव नेपाल पक्षीय केन्द्रीय कमिटी बैठक आजसम्मलाई स्थगित भएको छ। बैठक हिजो विहान ११ बजेका लागि आह्वान गरिएको थियो । केन्द्रीय सदस्य कल्याणीकुमारी खड्काले केही सदस्यहरु उपत्यका बाहिर रहेकाले हिजोको बैठक आजसम्मलाई स्थगित गरिएको जानकारी दिइन् ।

पार्टी भित्रको विवादबारे महत्वपूर्ण सुझाव लिन नेपालले आफू पक्षीय केन्द्रीय कमिटी सदस्यहरुको बैठक बोलाएका हुन् । स्थायी कमिटीमा पटक–पटक छलफल गरे पनि स्पष्ट सुझाव पाउन नसेकेपछि नेपालले केन्द्रीय कमिटी सदस्यहरुको समेत सुझाव लिएर अगाडि बढ्ने सोच बनाएका हुन्।

अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्य गरेर पार्टीमै फर्किने या नयाँ पार्टी गठन गर्ने भन्नेमा नेपाल समूहमै मतभेद छ । विशेष गरी कार्यदलमा रहेर १० बुँदे सहमति गरेका नेपाल पक्षका नेताहरु विभाजनमा जान नहुने र ओलीसँग सहमति गर्नुपर्ने पक्षमा छन् ।

शेरबहादुर देउवालाई विश्वासको मत दिँदा नेता नेपाललाई साथ दिएका नेता तथा सांसदहरु भने ओलीसँग झुक्न नहुने अडानमा छ । आफ्नै समूहबीच देखिएको यो विभाजनका कारण नेपालले अझै आफ्नो स्पष्ट गन्तव्य तय गर्न सकेका छैनन्।

ओलीले यही साउन २४ गते आफू पक्षीय केन्द्रीय कमिटी बोलाएकाले नेपालले त्यो भन्दा अगावै उनलाई आफ्नो शक्ति देखाउने र पार्टीको आन्तरिक राजनीति तथा आगामी रणनीतिबारे ‘ब्रिफिङ’ गर्ने उद्देश्यसहित आफू पक्षीय केन्द्रीय कमिटी बैठक बोलाउने निधो गरेका हुन् ।

यो बीचमा ओलीसँग एकताको प्रयास भएमा र त्यसमा उपलब्धिका संकेत देखिएमा पनि त्यसबारे आफू पक्षीय केन्द्रीय सदस्यहरुलाई ‘ब्रिफिङ’ गर्ने योजना नेपालको छ । नेपालले ओली अध्यक्षबाट हट्नु पर्ने या उनी समान हैसियत आफ्नो पनि हुनुपर्ने अडान लिएका छन् ।

यस्तै संसद विघटलगायत ओलीले गरेका राजनीतिक गल्ती उनले स्वीकार्नु पर्ने अडान पनि नेपालले लिएका छन्। पछिल्लो पटक ओली र नेपाल वार्ता गर्न तयार भएपनि तयारी नपुगेको भन्दै उनीहरुको वार्ताको समय र स्थान निश्चित गरिएको छैन।

Golu
http://kantipath.com

यो छुट्टाउनु भो कि..